चीन र पाकिस्तानमा गणतन्त्र दिवस मनाइयो

काठमाडौँ, १५ जेठ ः चीन र पाकिस्तानकमा पनि सत्रौँ गणतन्त्र दिवस मनाइएको छ । बेइजिङस्थित नेपाली राजदूतावासमा त्यहाँ रहेका कूटनीतिक कर्मचारीसहितको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।नेपाली राष्ट्रिय गान बजाएर शुभारम्भ भएको उक्त कार्यक्रममा प्रजातन्त्र तथा गणतन्त्र स्थापनामा योगदान गरेका ज्ञातअज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको उक्त दूतावासले जनाएको छ ।
चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले नेपाली समाजलाई समृद्ध तथा समावेशी बनाउन नेपाली जनताका साथै राजनीतिक दलले गरेको सङ्घर्ष र बलिदानको प्रशंसा गर्नुभयो । गणतन्त्रलाई संस्थागत गर्न सरकारबाट भएका विविध प्रयासबारे प्रकाश पार्दै उहाँले मुलुकको विकासका लागि सम्पूर्ण जनता एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
यसै अवसरमा राजदूतावास परिसरमा सोमबार दिपावली गरिएको थियो भने आज र भोलि पनि दिपावली गरिने छ ।
यसैबीच, इस्लामाबादस्थित नेपाली राजदूतावास परिसरमा पनि आजै एक कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त दूतावासका अनुसार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले गणतन्त्र दिवसको महत्वका बारेमा चर्चा गर्दै लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको गणतन्त्र दिवसको शुभकामना सन्देश वाचन गरिएको थियो । कार्यक्रममा इस्लामावादस्थित विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपाली, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी एवं नेपाल सरकारका कर्मचारी तथा सैनिक र राजदूतावासका कर्मचारीको उपस्थिति थियो ।








