कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने

काठमाडौँ ः आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतीकरण गरिने बताइएको छ। आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवमा कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने जानकारी गराएका हुन्। उनले राष्ट्रिय विद्युत् प्रणालीमा नजोडिएका र विद्युत् पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत् सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतीकरण गरिने बताए।
विद्युत् वितरण सबस्टेशनहरूलाई स्वचालित बनाइने र स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिने पनि सरकारको नीति तथा कार्यक्रम रहेको उनले उल्लेख गरे। बूढीगण्डकी जलविद्युत् आयोजना र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण अघि बढाइने पनि भनिएको छ।
त्यसैगरी दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणपूर्वका कार्य सम्पन्न गरिने पनि उल्लेख छ।
नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीको कुल विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुर्याइनेछ। सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याइनेछ। आगामी आवमा कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिनेछ। विद्युत् वितरण सबस्टेशनहरूलाई स्वचालित बनाइनेछ। स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिनेछ।’
हेटौँडा, ढल्केबर, इनरुवा प्रशारण लाइनको निर्माण सम्पन्न गरिने पनि जनाइएको छ।










