क्रान्ति गर्नु मात्र ठुलो कुरा होइन, क्रान्तिलाई उत्पादनसँग जोड्न आवश्यक छ -विप्लव महासचिव चन्द


सुर्खेत
फाल्गुन २५ ,
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जुम्लामा कृषि क्रान्तिको सुरुवात गरेका छन् । किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाइ आत्मनिर्भर देश बनाउने उदेश्य सहित जुम्लामा स्याउ खेतीको सुरुवात गरिएको विप्लव चन्दले बताए।
उनका अनुसार पार्टीको केन्द्रीय उत्पादन निति रहेको सगै पार्टीलाई तीन वर्षभित्र चन्दा मुक्त बनाउने लक्ष्य रहेकाे बताए। जुम्लाको हिमा गाउँपालिका-७, हाडुल्लेस्थित पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीको बाँझो जग्गामा शुक्रवारदेखि टोलीले बृहत् स्याउ खेती सुरुवात गरेको हो । ‘विप्लव’काे नेतृत्वमा पार्टीका दर्जन नेता, कार्यकर्ताको टोली जुम्लाको हिमा गाउँपालिकाकाे धाचुगाँउ पुगेकाे थियो।नेकपा पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीका अनुसार हाडुल्लेको २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरु गरिएको हो ।
जुम्लामा पहिलो चरणमा एक हजार पाँच सय स्याउका बिरुवा रोपिने उनले बताए। कृषि विकास कार्यालयका कृषि प्राविधिक पदमबहादुर राेकायाकाे पनि उपस्थित थियेा ।
उनका अनुसार कृषि विकास कार्यालय र स्याउ सुपरजाेन कार्यालयले विरुवा सहयोग गरेको र स्थानीय जातकाे विरुवा लगाइएको प्राविधिक राेकायाले बताए। उत्पादन वृद्धि नभइ मुलुक र जनताको समृद्धि सम्भव नहुने कुरामा विश्वास राख्दै विप्लवले कृषि क्रान्तिको यात्रालाई कर्णालीको जुम्लामा पुर्याएको बताए।यो भन्दा पहिलोपटक मुगु जिल्लाको साेबामा पाँच सय विरुवा लगाइएको छ भने,आइतबार अर्थात भाेलि कालिकोटको फाेईमहादेवमा पाँच सय स्याउका वीरुवा रेाप्ने पनि बताएका छन।
महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का अनुसार ,‘उर्बर बाँझो जग्गालाई उपभोग गरिने छ,’ ‘यसले किसानहरुमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने छ र उत्पादन वृद्धिबाट मात्रै समाज र राष्ट्रको उन्नति सम्भव भएकाे बताए । त्यसैलाई मध्यनजर गरी उर्वर जुम्लाको बाँझो भूमिलाई उपभोग गर्न र स्याउ मार्फत समृद्धि हासिल गर्न खेती गर्न लागिएको हो।
महासचिव विप्लवले भने ‘क्रान्ति गर्नु मात्र ठुलो कुरा होइन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न सकेनौ, र आज क्रान्तिप्रति वितृष्ण छ, विचलन देखिएको छ, यसलाई चिर्न नेकपाले नवौँ महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको छ ।’’तीनै तहका सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्न को ठम्याइ छ ।
‘अब सबै पार्टीले गाउँगाउँमा उत्पादन वृद्धिका लागि जाँगर चलाउने अभियान ल्याउन जरुरी छ,’ चन्दले भने, ‘हाम्रो पार्टी अब उत्पादन वृद्धिका क्षेत्रमा बढी केन्द्रित हुन्छ ।’नेताहरुमा काम गर्ने, श्रम गर्ने पद्धतिको विकास हुन सकेमात्र जनता उत्साहित हुनाका साथै आत्मनिर्भर खेतीतर्फ उन्मुख हुने अर्का केन्द्रीय सदस्य भरत बमको बुझाइ छ । उनका अनुसार कर्णाली अन्य जिल्लामा पनि स्याउ खेती गरिने छ ।
नेकपाले तराईमा धान, तोरी, तरकारी, पहाडमा फलफूल र हिमालमा फलफूल तथा जडीबुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकारात्मक भएको भन्दै यो नेकपा मात्र नभएर हामी सबैको योजना हुनुपर्ने बताए ।










