वीरेन्द्रनगरको फोहोरले बराहताल दुर्गन्धित

सुर्खेत ः वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट सङ्कलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौरलगायतको बस्ती दुर्गन्धित बन्दै गएको हो ।

गर्मीयाम सुरु भएसँगै उक्त बस्तीमा थप दुर्गन्ध फैलिन थालेको स्थानीयको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा बेवास्ता गरेको स्थानीय जानुका आचार्यले बताउनुभयो । जथाभाबी रूपमा फोहोर फाल्दा हिँडडुल गर्नसमेत समस्या भएको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनको माग गर्दै स्थानीयले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको बताइन्छ ।

जथाभाबी फोहोर जलाउँदा दैनिक कामकाजमा समेत बाधा पुगेको अर्का स्थानीय निर्मला थापाले बताउनुभयो । दुर्गन्ध फैलिएर घरमा बस्न तथा मेलापातदेखि बजारतिर जाँदासमेत धौ धौ हिँड्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । प्लास्टिक र बोतलबाट निस्कने धुवाँ मानिसको स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ तर त्यहाँ दैनिक रूपमा फोहोर जलाउने गरिएको छ । बस्तीनजिकै फोहोर जलाउँदा आफूहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीय दुर्गबहादुर लामिछानेले बताउनुभयो । जथाभाबी फोहोर फालिँदा दुर्गन्ध फैलिएको र त्यसमाथि प्लास्टिक र बोतल जलाउने गरिएको उहाँको भनाइ छ । फोहोरले दुर्गन्ध फैलिएपछि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ्य, गाईवस्तु, कृषिउपज र वातावरणमै नकारात्मक असर परेको जनाइएको छ । प्रभावित क्षेत्र बराहताल–१० का वडाध्यक्ष हरिलाल सलामीले गर्मीयाम सुरु भएसँगै दुर्गन्ध झनै फैलिएको बताउनुभयो । वीरेन्द्रनगरको फोहोर आफूहरूको क्षेत्रमा जथाभाबी फाल्ने गर्दा स्थानीयवासीको स्वास्थ्यमा असर परेको उहाँको भनाइ छ । यो समयमा नागरिकमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले यसको प्रमुख कारण फोहोर नै रहेको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनका सवालमा पटक पटक सचेत गराउँदा पनि वीरेन्द्रनगर नगरपालिकाले बेवास्ता गरेको उहाँले बताउनुभयो । उहाँले यस विषयमा जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको तथा जथाभाबी फोहोर फाल्दा हिँडडुल गर्नसमेत निकै सास्ती भइरहेको बताउनुभयो ।

ल्यान्डफिल्ड निर्माण सुस्त

वीरेन्द्रनगर–१ मा कृष्ण सामुदायिक वनमा ल्यान्डफिल्ड साइट निर्माण भइरहेको छ । ल्यान्डफिल्ड साइट निर्माण थालेको लामो समय भइसक्दा पनि संरचना निर्माणका काम अझै अधुरै छन् । न्यून बजेटका कारण निर्माणमा ढिलाइ भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट निर्माण थालिएको हो । २०६७ सालदेखि निर्माणको प्रक्रिया अघि बढाइएको थियो । अहिलेसम्म पनि काम अधुरै छ ।

नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बजेट अभावमा निर्माणका काम अघि बढाउन समस्या भएको बताउनुभयो । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले स्रोतको खोजी गरिरहेको उहाँको भनाइ छ । चालु आवमा प्रदेश सरकारको ५० लाख र नगरपालिकाको ५० लाख रुपियाबाट निर्माणका काम गरिने छ । नगरको फोहोर व्यवस्थापनका लागि करिब ३५ करोड बजेट लाग्ने अनुमान छ । न्यून बजेटका कारण काममा ढिलाइ भइरहेको पौडेलले जानकारी दिनुभयो ।

कमजोर फोहोर व्यवस्थापनका कारण वीरेन्द्रनगर दिनप्रतिदिन कुरूप र दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाले बजार क्षेत्रको फोहोरसमेत समयमै उठाउन सकिरहेको छैन । नगरले जारी गरेको फोहोरमैला व्यवस्थापन निर्देशिकासमेत पूर्ण रूपमा कार्यान्वयन भएको छैन । बढ्दो जनसङ्ख्याको चापले वीरेन्द्रनगरमा फोहोरमैला व्यवस्थापन चुनौती बन्दै गएको छ । अहिले फोहोर डम्पिङ साइटमा फाल्ने गरिएको नगरपालिकाले स्वीकार गरेको छ । स्रोत ः गोरखापत्र





error: Content is protected !!