कर्णालीमा लगानी सम्मेलन वैशाख १९ /२० गते हुने

सुर्खेत / कर्णालीमा वैशाख १९ र २० गते लगानी सम्मेलन हुने भएको छ । माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मिति तोकेको हो ।
०७६ देखिनै लगानीकर्तालाई आकर्षित गराउने भनेर लगानी सम्मेलनको तयारी भएको कर्णालीमा अहिलेसम्म हुन सकेको थिएन । यसअघि फागुन महिनाभित्रै लगानी सम्मेलन गर्ने भने पनि त्यो भाका ०८१ वैशाखका लागि सरेको हो ।
प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीका अनुसार मन्त्रिपरिषद्को बैठकले योजना आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा निर्देशन समिति पनि गठन भएको छ । उक्त समितिमा मन्त्री, सचिवदेखि योजना आयोगका पदाधिकारी रहेका छन् ।
अब अन्य समितिहरू पनि गठन हुनेछन् । केन्द्र सरकारले वैशाखमै लगानी सम्मेलन गर्ने भएकाले त्यसैलाई मध्यनजर गरेर कर्णालीमा पनि सम्मेलनको मिति तोकिएको हो ।
गत असोज ६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सम्मेलनका क्रममा पेस गरिने आयोजनाहरूको विवरणसहित प्रस्तावना पेस गरेको थियो । प्रारम्भिक रूपमा २० भन्दा बढी बुँदामा लगानीकर्ताहरू समक्ष पेस गरिने आयोजनासहितको प्रस्तावित मस्यौदा मुख्यमन्त्री राजकुमार शर्मा समक्ष पेस पनि गरिएको थियो ।
आयोगले सरकारलाई दिएको बुँदागत पेपरमाथि पनि अहिलेसम्म छलफल भएको छैन । मिति तोकिएसँगै अब बृहत् रूपमा छलफल हुने योजना आयोगका सदस्य जीतबहादुर शाहले बताए ।
आयोगले मुख्यमन्त्रीलाई पेस गरेको प्रस्तावमा विद्युत्, जडीबुटीको क्षेत्रलाई प्राथमिकता राखिएको छ । कर्णालीमा एउटा ठुलो जडीबुटी सम्बन्धी उद्योग स्थापना गर्नुपर्ने लगायतका विषयहरू छन् । त्यसबाहेक जाजरकोट, दैलेख क्षेत्रमा पाइने खनिज पत्थर को विषयलाई पनि समेटिएको छ । अन्य विभिन्न प्लानहरू पनि छन् । लघु उद्यमको विषयमा पनि अवधारणा राखिएको छ ।









