सरकारले हेलिकोप्टरमा तमासा देखाएको एमाले अध्यक्ष ओलीको आरोप

मोहन जंग शाही
जाजरकोट रिम्ना , १९ मंसिर ः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा हेलिकोप्टर चढ्न मात्रै आएको आरोप लगाउनु भएको छ ।
भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पार्टीका स्वयम् सेवकले गरेका कामको बारेमा बुझ्न जाजरकोट र रुकुमपश्चिमको सिमानान रिम्ना पुग्नु भएका अध्यक्ष ओलीले एमालेका स्वयंसेवकले बिना पैसा ८ सय १३ अस्थायी घर बनाएर दिँदा पनि सरकार के हेरेर बसिरहेको प्रश्न गर्दै भन्नुभयो, ‘तपाईहरुलाई परेको विपतमा साथ दिन एमालेका एक हजार एक सय स्वयम् सेवक तपाईहरुकै वस्तीमा आउनु भयो तर सत्ता टिकाउन कमिशन खान, भ्रष्टाचार गर्न, तस्करी गर्न मै केन्द्रीत यो सरकार के हेरिरहेको छ ? विपत्तिले यहाँ थुप्रैको ज्यान गएको, थुप्रै घरबार बिहिन भएको बेला सरकारका प्रधानमन्त्री, गृहमन्त्री देखि राष्ट‘पतिसम्म हेलिकोप्टर उडाउनमै व्यस्त रहे ।’
एमाले जनताको बिपत्तिमा साथ दिने पार्टी भएको दावी गर्नु भएका पुर्वप्रधानमन्त्री ओलीले विपतको वेला घाइतेको उपचारमा जानु पर्ने स्वास्थ्यकर्मीलाई मन्त्रीहरुको ब्रिफीङमा अल्मल्याउने, पीडितको खोज उद्धार र राहतमा लाग्नुपर्ने सुरक्षाकर्मीलाई आप्mनो सुरक्षा व्यवस्थामा केन्द्रीत गराउने सरकारले पिडितको हातमा केही दिन नसकेको उल्लेख गर्नुभयो ।
‘जाजरकोट भुकम्प पीडितका लागि विभिन्न देशबाट सहयोग आएको छ । हामी साँसदहरुले पनि सहयोग दिएका छौं । त्यो रकम बैंक खातामा मात्रै जम्मा गर्न दिएको हो र ? विभिन्न निकायबाट आएको राहत सामाग्री स्टोरमा थन्क्याउन दिइएको हो ?’ सरकारप्रति प्रश्न गर्दै ओलीले थप्नुभयो, ‘आफूले केहि नगर्ने भए हाम्रा (एमालेका) स्वयम् सेवकहरुलाई त्यो सामाग्री र रकम दिनु पर्ने हो । बुद्धि र काम गर्ने इच्छा शक्ति नभएको निकम्मा सरकारले अनावश्यक स्टण्टबाजी बाहेक केहि गर्न सकेन ।’
जाजरकोट र रुकुमका भुकम्प पिडित नागरिकको पिंडालाई अनुभूति गर्न आफू प्रभावित क्षेत्रमा आएको बताउनु भएका ओलीले पार्टी केन्द्रको निर्णयबाट तपाईहरुको पिंडालाई कम गर्न देशभरबाट स्वयम् सेवक खटाएको जानकारी दिनुभयो ।
‘सही चिन्तन नभएसम्म केही काम गर्न सकिदैन् । एमालेमा जुन कार्यक्षमता छ, त्यो अरूसँग छैन, अरूले त्यो कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन्, नेकपा एमालेसँग जुन जनभावना छ, त्यो जनभावना अरूसँग छैन’, उहाँले भन्नुभयो ।
मानवीय सेवाको भावले सेवा गरेको भन्दै एमालेका स्वयंसेवकलाई ओलीले धन्यवाद दिनुभयो । यस्तो सेवा भाव अहिले दुर्लभ भएको उहाँले बताउनुभयो ।
देशमा कार्ही समस्या प¥यो भने नेकपा (एमाले) पुग्ने बताउनुभएका ओलीले एमाले सान सौगात र औपचारिकता देखाउन पुग्ने नभई अर्थपूर्ण ढङ्गले पुग्ने र जनताको सेवा गर्न प्रभावित क्षेत्रमा पुग्ने भन्दै प्रष्ट पार्नुभयो ।
पार्टीबाट खटिएका स्वयम् सेवकलाई प्रमाण पत्र प्रदान गर्दै अध्यक्ष ओलीले बाँकी संरचना निर्माणको जिम्मा स्थानीय पार्टीले लिने र अनुगमन केन्द्रबाट हुने उल्लेख गर्नुभयो ।
देशको अर्थतन्त्र रेमिट्यान्समा मात्रै निर्भर भएको बताउनु भएका ओलीले अहिलेको सरकार मान्छे निर्यात गर्ने धाउन्यमा केन्द्रीत रहेको आरोप लगाउनु भयो । ‘रेमिट्यान्समा केन्द्रीत अर्थतन्त्र स्थायी होइन् तर सरकार त्यसमै प्राथमिकता दिनमा केन्द्रीत देखिन्छ । देशको अर्थतन्त्र निकै धरासायी बन्दापनि यो गठबन्दनको सरकारसँग कुनै योजना छैन्’ उहाँले थप्नुभयो ‘यो कुनै कामको सरकार होइन् । देशभर विकास निर्माण ठप्प छ । हामीले सरकार छोड्दा पनि यस्तो अवस्था थिएन । त्यसैले देशको विकास र समृद्धीका लागि एमालेको सरकारको विकल्प छैन् ।’
पार्टीले शुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौं दिन सुर्खेतबाट भेरी कोरिडोर हुँदै जाजरकोट पुग्नु भएका अध्यक्ष ओलीसहित पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव पद्मा अर्याल लगायतका स्थायी कमिटि, केन्द्रीय कमिटिका नेताहरु सहभागि हुनुहुन्छ । रिम्नामा आयोजित कार्यक्रम सकेर अभियान टोली रुकुमपश्चिम हुँदै रुकुमकोट पुगेको छ ।
रिम्नमा भुकम्प पुनःनिर्माण फोटो प्रदर्शनी
नेकपा (एमाले) को केन्द्रीय विपत व्यवस्थापन तथा स्वयम्सेवक विभागले जाजरकोटको रिम्नामा फोटो प्रर्दशनी गरेको छ ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पले गरेको भौतिक संरचना क्षतीको खोज उद्धार र पुनःनिर्माणका लागि प्रभावित क्षेत्रमा विभागले एक दिने फोटो प्रदर्शनी गरेको हो ।
यहि मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली भुकम्प प्रभावित क्षेत्रमा पुगेको अवरसमा विभागले कामका क्रममा खिचिएका ३ सय बढि फोटाहरुको प्रदर्शनी गरेको विभागका संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।
‘पार्टी केन्द्रको निर्णय अनुसार विभाग मातहत रहने गरेर एक हजार स्वयम्सेवक परिचालन हुनु भएका एक हजार स्वयम्सेवकले गरेका काममा गतिविधिहरुका फोटाहरु प्रदर्शनी गरिएको हो’, संयोजक पौडेलले भन्नुभयो, ‘जाजरकोट र रुकुमपश्चिम जिल्लाका भुकम्प प्रभावित वस्तीमा २५ जनाका दरले ४० समुह परिचालन भएका थिए ।’
झुलाघाटबाट शुरु भएको अभियानको नेतृत्व गर्दै जाजरको र रुकुमपश्चिम जिल्लाको सिमा क्षेत्र भेरी नदीको किनारमा पुग्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय नेताहरु सम्मिलित अभियान टोलीले उक्त फोटो प्रर्दशनीको अवलोकन गरेको थियो । केन्द्रीय विपत व्यवस्थापन तथा स्वयम्सेवक विभाग मार्फत १५ वटा समुह रुकुमपश्चिम, २५ समुह जाजरकोटमा जिल्लामा परिचालन गरेको थियो ।
भुकम्पमा गरेर जाजरकोटमा १०१ र रुकुमपश्चिममा ५३ गरी १५४ जना जनाले ज्यान गुमाएका थिए भने ९४ जना सिकिस्त घाइते भएका थिए । भुकम्पले जाजारकोट जिल्लामा मात्रै ९ हजार ७ सय ९४ घर पुर्णक्षती गरेको भुकम्पमले २४ हजार ७ सय ७ घर आंशिक क्षती हुँदा जिल्लाका ९ हजार ६ सय ८१ परिवार बिस्थापित भएका छन् ।











