टेलिकमको नमुना सेवा रिम्नाबाट सुरु

जाजरकोट / नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रवन्ध निर्देशक संगीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेतमा अनुगमण लगत्तै जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा मोवाइल टावर सञ्चालनको तयारी थालिएको छ । टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निशुल्क सिम समेत वितरण हुन लागेको नेपाल टेलिकमले जनाएको छ ।

सदरमुकामकै एक भाग भएपनि फोन नबुझिने समस्यले गर्दा रिम्नाबासीहरु हैरानी खेपिरहेका थिए । त्यस्तै नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा समेत नयाँ टावर निर्माणका लागि पहल थालिएको छ । निर्देशक पहाडी सबै ठाउँमा स्थलगत रुपमा प्राविद्यिक सहितको टिम लिएर फोन लाग्ने र नलाग्ने ठाउँको पहिचान गर्नुभएको थियो । भूकम्पबाट थिलो ,थिलो भएको जाजरकोट र रुकुम पश्चिम लगाएतका जिल्लामा टेलिकमले नमुना सेवा दिने लक्ष्य सहित टेलिकमको उच्च स्तरिय टिम जाजरकोट , रुकुम पश्चिम पुगेर नयाँ टावर निर्माण गर्न ठाउँको पहिचान र यहाँ अहिले सञ्चालनमा रहेका टावरको क्षमता समेत जाँच भएको पहाडीले जानकारी दिनुभयो ।
जाजरकोट –डोल्पा सडक निर्माण कार्यदलका प्रमुख तथा नेपाली सेनाका प्रमुख सेनानी विश्ववन्धु पहाडीले यो क्षेत्रमा सञ्चारको समस्य र समाधानका विषयमा जानकारी गराउनुभएको थियो । सडक निर्माण गर्दा रुकुम पश्चिम र जाजरकोट हुँदै डोल्पा पुग्दा सञ्चारको अभावमा काम गर्दा परेको समस्यका बारेमा जानकारी गराउदै उहाँले अब नयाँ नमुना सेवाले सबैको मन जित्ने भरोसा समेत व्यक्त गर्नुभयो । सञ्चार तथा सूचना प्राविद्यिमन्त्री रेखा शर्माको निर्देशन र उर्जा , जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको आग्रहमा टेलिकमको उच्च स्तरिय टिम गाउँ ,गाउँमा पुगेको थियो ।
टेलिकमको उच्च स्तरिय टिम जाजरकोट पुगेको पहिलो पटक हो । थप टावर निर्माण गर्नका लागि पालिकासँग सम्पर्क गरेर प्राविद्यिक खटाउने व्यवस्था मिलाएको र अहिले निर्माण भइरहेका टावरहरु तत्काल निर्माण गरि भरपर्दो सेवा दिन लागिएको पहाडीले बताउनुभयो ।










