भूकम्प प्रभावित क्षेत्रमा अस्थायी संरचना निर्माणमा दलहरुको सक्रियता

हेमन्त केसी
सुर्खेत , ९ मंसिर ः जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडामा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट पीडित भएका सर्बसाधारणका लागि अस्थायी आवास निर्माण गर्न दलहरु जुटेका छन् । नेपाली कांग्रेस ,नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का कार्यक्रताहरु जुटेका छन् । जिल्लाको नलगाड नगरपालिका , बारेकोट गाउँपालिका , भेरी नगरपालिका र कुशे गाउँपालिकामा अस्थायी आवास निर्माणमा जुटेका हुन् । तिहार सकिएसँगै राजनीतिक दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउन थालेका छन् । भूकम्प प्रभावित क्षेत्रमा सफाइ अभियान, अस्थायी टहरा निर्माण लगायत समग्र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दलहरूले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई त्यहाँ खटाउन थालेका हुन् ।


नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिममा करिब एक हजार एक सय जनालाई खटाउने रणनीति बनाएर परिचालित भएको बताएको छ । शुक्रबार एमालेको भातृ संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब १०० जनाको सीपयुक्त जनशक्ति प्रभावित क्षेत्रमा खटिएको छ ।

उक्त टोलीले शुक्रवार भूकम्पले क्षतिग्रस्त भेरी नगरपालिका–३, थाप्लेका भग्नावशेष घरहरूमा सफाइ अभियान चलाएको छ । एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहका अनुसार थप एक हजार जनालाई प्रभावित क्षेत्रमा खटाइने तयारी छ । ‘शुक्रबार नै एक सय जना फिल्डमै खटिसक्नुभएको छ, बाँकी सबै गरेर ११ सय खटाउने लक्ष्य छ,’ उहाँले भन्न्ुभयो , ‘खटिएकाहरूले पनि जहाँ बढी प्रभावित भएको छ, त्यही पालिकामा पहिलो प्राथमिकतामा राखेर जनतासँग रहेर काम गर्नेछन् । अहिलेका लागि सफाइ गर्ने, अस्थायी टहरा बनाउने लगायतका कामहरू गर्नेछन् ।’ प्रदेश र केन्द्रबाट नेता, कार्यकर्ताहरू त्यहाँ खट्ने र त्यहाँको व्यवस्थापन जिल्लाको पार्टीले गर्ने शाह बताउँछन् ।

अर्को नेकपा (एकीकृत समाजवादी)ले मंसिर ८ गतेसम्म पार्टीका तर्फबाट टिम प्रभावित क्षेत्रमा खटाएको छ । समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका अनुसार १५० जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । ‘ती भनेका संरचना निर्माणमा दक्ष भएका व्यक्तिहरू हुन्,’ थापाले भन्नुभयो , ‘युवा संघको नेतृत्वमा नै त्यहाँ टोली परिचालन गरिने छ । साथै पार्टी अध्यक्ष पनि केही दिनमा प्रभावित क्षेत्रमा पुग्ने भन्ने छ ।’ टोलीले त्यहाँ खाना खर्च आफैँ व्यहोर्ने गरी जाने छ ।

नेपाली कांग्रेसका नेता प्रदिप पौडेलको नेतृत्वमा अर्को टिम अस्थायी संरचना निर्माणमा जुटेको छ । नेकपा (माओवादी केन्द्र) ले ३ हजार स्वायमसेवक परिचालन गरेर अस्थायी संरचना निर्माणमा जुटेको नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य कालीबहादुर मल्लले बताउनुभयो । जाजरकोटबाट मात्र ५०० स्वयंमसेवक खटिएको उहाँले जानकारी दिनुभयो । सबै भन्दा बढी प्रभावित रहेको ठाउँ छ , त्यहाँ खटिएर काम गरिएको नेकपा (माओवादी केन्द्र) का नेता राष्टियसभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माले आफू कुशे गाउँपालिकाको बिभिन्न ठाउँमा खटिएको समेत बताउनुभयो ।

भग्नावशेष पन्छाउनेदेखि टहरा निर्माणको काम गर्दै
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका दुई सय नेता, कार्यकर्ताहरू यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा सक्रिया भएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा विद्यार्थी नेता, कार्यकर्ताहरू प्रभावित क्षेत्रमा खटिएका हुन् । उनीहरुले भूकम्पबाट ध्वस्त भएका घरहरू पन्छाउने, पीडितहरूका लागि अस्थायी टहरा निर्माण गर्नेदेखि भत्किएका सार्वजनिक संरचनाहरू पनि पन्छाउने काम गरिरहेका छन् ।

अध्यक्ष सिंहले यति बेला कर्णालीबाट विद्यार्थी टोली खटिसकेको र भोलिसम्म लुम्बिनीबाट पनि विद्यार्थी टोली प्रभावित क्षेत्रमा खटिने बताइन् । अबको एक महिना ‘जनताको संकटनको सारथि’ भएर अखिल क्रान्तिकारी पुनः निर्माणका सक्रिय हुने उहाँको भनाइ छ । सङ्गठनका केन्द्रीय पदाधिकारीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन् ।

‘हामीले अहिले जनताको घर घरमा पुग्ने, सबैभन्दा बढी सहयोग के आवश्यक हो, उहाँहरूकै चाहनाअनुसार काम गरिरहेका छौँ,’ अध्यक्ष सिंहले भन्नुभयो , ‘उहाँहरूको माग भनेको अहिले भत्किएका प्रयोग गर्न नमिल्ने घरहरू पन्छाएर क्लियर गरिदिनुपर्ने छ । हामीले त्यो काम गरिरहेका छौँ । सबै जनता पालमुनि छन्, बिरामी, बालबालिकाहरूलाई निकै समस्या छ । पालले चिसो छेक्ने अवस्था नै छैन ।’

जनताहरू कष्टकर दैनिकी बिताइरहेको सिंहको भनाइ छ । अखिलले बालबालिका, वृद्ध वृद्धाहरु बढी भएको ठाउँमा टहराहरू निर्माण गरिदिने काम गरिरहेको छ । ‘बाँस प्रयोग गर्ने टहरा बनाउने र खरले छाएर बस्न मिल्ने बनाइरहेका छौँ,’ उहाँले भन्नुभयो ‘पालबाट टहरामा ल्याउने काम हामीले गरिरहेका छौँ भने भत्किएका विद्यालयहरू पनि क्लियर गर्ने काम गरिरहेका छौँ ।’
अखिलले तीनवटा कामलाई क्याटोग्राईज गरेर काम गरिरहेको उहाँले बताउनुभयो । जाजरकोट पुगेको टोलीले सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्ने भेरी नगरपालिका–१ को रिम्ना क्षेत्रमा काम गरिरहेको छ । अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरू आफ्ना लागि टेन्टदेखि खाद्यहरू आफैँ बोकेर त्यहाँ खटिएका छन् । पानी बाहेक सबै आफैँले गर्ने गरी व्यवस्थापन गरेर प्रभावित क्षेत्रमा खटिइएको सिंहको भनाइ छ ।

केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्ने भनेर ५० हजार रकम दिने भनिए पनि अहिलेसम्म नागरिक समक्ष उक्त रकम पुग्न सकिरहेको छैन । अध्यक्ष सिंहका अनुसार केन्द्रको कार्यविधिले स्थानीय सरकारहरू निकै अलमलमा परिरहेका छन् । सकेसम्म प्रक्रियालाई छोट्याई जनताको हातमा सहज तरिकाले रकम पुग्ने वातावरण सरकारले बनाउनुपर्ने उहाँको भनाइ छ । ‘५० हजार आउँछ भन्ने कुरा जनतालाई थाह छ तर, हातमा परिरहेको छैन,’ उहाँ भन्नुभयो, ‘कुनै आयस्रोत नभएका नागरिकहरूलाई निकै गाह्रो स्थिति छ ।’

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवास निर्माण गरेको बताएको छ ।

पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको थियो । टोलीले शुक्रबारसम्म श्रमदान गरेर १०० वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिनुभयो । भूकम्पपछि क्षतिग्रस्त भएका केही घरहरुको भग्नावशेष पन्छाउन समेत संलग्न उक्त टोली शनिबार काठमाडौँ आइपुगेको छ। टोलीमा पौडेलसहित माननिय गन्डकि प्रदेश सदस्य दिल्लीराम सुवेदी, इन्जिनियर दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत , महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका थिए ।

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो । कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्णयअनुसार अन्य टोली पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको छ ।

नेता पौडेलका अनुसार टोलीले १०० वटा अस्थायी घर निर्माणमा श्रमदान गरेपनि आवासका लागि चाहिने जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाउने कार्य भएको बताएका छन् । आवास निर्माणको सरकारी मापदण्ड बनेपनि सो अनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।

 





error: Content is protected !!