गाजाबाट सुरक्षित स्थलतर्फ जाँदै गरेका ७० जना मारिए

दक्षिणी गाजापट्टी छोडेर सुरक्षित स्थलतर्फ जाँदै गरेका ७० जनाको इजरायली हवाई आक्रमणमा मृत्यु भएको छ। शुक्रबार बिहान इजरायलले उक्त क्षेत्रका ११ लाख मानिसलाई २४ घण्टाभित्र सहर छोड्न चेतावनी दिएको थियो।

चेतावनीपछि घर छोडेर सामूहिक रुपमा निस्किएका व्यक्तिहरुको भीडमा इजरायलले हवाई आक्रमण गरेको हो। उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन्। हताहत हुनेमा धेरैजसो महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ।

योसँगै गाजापट्टीमा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। ६ हजारभन्दा बढी मानिस घाइते भएका छन्। यस्तै हमासको आक्रमणमा इजरायलतर्फ १३ सय जनाको मृत्यु भएको छ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले इजरायलको २४ घण्टे चेतावनीअनुसार घाइतेहरुलाई सार्न कठिन भएको बताएको छ।

दुई अस्पतालमा सयौँ गम्भीर घाइते उपचाररत रहेको डब्ल्युएचओको भनाइ छ। उसले घाइतेहरुको ज्यान जोखिममा नराखी अस्पताल स्थानान्तरण असम्भव भएको जनाएको अलजजिराले उल्लेख गरेको छ।





error: Content is protected !!