कोशीमा एमालेको दाउ, गठबन्धनको च्याँखे

काठमाडौं ः कोशीमा मुख्यमन्त्री चयनमा गठबन्धन टुटाउन एमालेले लिएको रणनीति विफल पार्न सत्ता साझेदार दल रणनीतिमा लागेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेको रणनीति असफल पार्न
ससर्त केदार कार्कीलाई समर्थन गर्ने गृहकार्य सुरु गरेका छन् ।

मुख्यमन्त्रीमा एमालेको समर्थन त्यागे कांग्रेसका कार्कीलाई अघि बढाउन सकिने गठबन्धनले जनाएको छ । एमालेको समर्थन कायम रहेको अवस्थामा कार्कीलाई समर्थन गर्नुको औचित्य नभएको भन्दै प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले नेता शेखर कोइरालालाई गठबन्धनका तर्फबाट कार्कीलाई अघि सार्न आग्रह गरेका थिए । तर, कोइरालाले एमालेसँग भएको सहमति तोड्न अप्ठ्यारो हुने भन्दै अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहालले एमाले समर्थन त्यागेर गठबन्धनमा आए मुख्यमन्त्रीका लागि माओवादी उम्मेदवार इन्द्रबहादुर आङ्बोलाई फिर्ता बोलाउने बताएका छन् । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्कीलाई गठबन्धनको उम्मेदवार बनाउने प्रयास सफल नभएको बताए । ‘एमालेको समर्थन फिर्ता गरी केदारजीलाई गठबन्धनको उम्मेदवार बनाउन प्रधानमन्त्री र पार्टी सभापति देउवाजी तयार हुनुभएको हो,’ उनले भने, ‘शेखर कोइरालाले एमालेसँग भएको सहमति तोड्न कठिन हुने अडान राख्नुभयो ।’

यसबारे छलफल गर्न शुक्रबार अपराह्न बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कोइराला सहभागी भएनन् । दिउँसो १ बजे प्रधानमन्त्री निवासमा भएको बैठकमा भने कोइराला गएका थिए । त्यहाँ प्रधानमन्त्री दाहालले गठबन्धन जोगाउन माओवादीका आङ्बोलाई फिर्ता गराएर कांग्रेसकै साझा उम्मेदवार बनाउन प्रस्ताव राखेका थिए । ‘समस्या गठबन्धनभित्र छैन, कांग्रेसभित्र छ, त्यसैले तपाईंहरू मिल्नुहोस्, गठबन्धन जोगाउन माओवादी जस्तोसुकै निर्णय लिन तयार छ,’ प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने, ‘पदाधिकारी र कार्यसम्पादन समितिका सदस्य कोशी विद्रोहप्रति असहमत हुनुभयो, यसलाई स्वीकार्न नसकिने निष्कर्ष रह्यो ।’

महामन्त्री गगन थापा काठमाडौं बाहिर भएकाले बैठकमा उपस्थित भएनन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले धुम्बाराही र बालुवाटार बैठकमा एमालेको समर्थनमा कार्कीको उम्मेदवारीलाई स्वीकार्न नसकिने धारणा राखेका थिए । उनले २०५१ सालपछि कांग्रेसमा यसखालको विद्रोह भएको बताएका थिए । ‘पार्टी निर्णयबाट कसैले पनि बाहिर जान मिल्दैन,’ उनले भनेका थिए । देउवाले शनिबार कार्यसम्पादन समिति बैठक बोलाएका छन् ।

मुख्यमन्त्रीको दाबीमाथि शनिबार मात्र सनाखत गरिने भएकाले कोइरालालाई मनाउने प्रयास जारी रहेको कांग्रेसका एक पदाधिकारीले बताए । ‘शनिबार २ बजेसम्म शेखरजीलाई सम्झाएर उहाँले भनेकै व्यक्ति मुख्यमन्त्रीका लागि अघि बढाउने प्रयास जारी रहनेछ,’ ती पदाधिकारीले भने, ‘कार्की गठबन्धनकै उम्मेदवार बन्न सक्ने सम्भावना बलियो छ ।’

माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि गठबन्धनभित्रबाटै मुख्यमन्त्री बनाउने प्रयास हुने बताए । गठबन्धनभित्रबाट दुई उम्मेदवारी दर्ता भएको छ । कार्कीले आवश्यक संख्या पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेस गरिसकेको र शनिबार सनाखत गराउने तयारी भइरहेको बताए । ‘गठबन्धनले सघाउनेरनसघाउनेसँग कुनै सरोकार छैन । त्यो उहाँहरूको विषय हो । मैले ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको छु,’ उनले भने, ‘उपसभामुख पनि एमालेकै रहेकाले विश्वासको मत प्राप्त गर्नका लागि मुख्यमन्त्रीमा दाबी पुग्छ ।’

अर्का उम्मेदवार आङ्बोले केन्द्रबाट के गर्ने भन्ने कुनै निर्देशन नआएको बताए । ‘केन्द्रमा सहमति भयो भने शनिबार केही निर्देशन आउला । शुक्रबारसम्म मेरो दाबी पेस कायम छ,’ उनले भने । मुख्यमन्त्रीका लागि ४७र४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गर्न लागेका हुन् । दुवै दाबीकर्ताको समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यलाई परिचयपत्रसाथ प्रदेश प्रमुख कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ ।

कार्कीलाई कोइराला निकटका ८ र एमालेका ३९ तथा आङ्बोलाई कांग्रेस संस्थापन पक्षका २९, माओवादीका १३, एसका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन् ।

कार्कीसहित कांग्रेसका ८ जनाले अरू कसैले आफूहरूको हस्ताक्षरसहित दाबी पेस गरेको भए फर्जी हुने भन्दै सामूहिक रूपमा प्रदेश प्रमुख खापुङलाई निवेदन बुझाएका थिए । कार्कीलाई समर्थन गर्नेमा कांग्रेसका रामकुमार खत्री, लीलाकुमारी राई, शमशेर राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरुङ छन् । एमालेका ४० सांसदमध्ये सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारबाहेक ३९ जनाले कार्कीलाई समर्थन गरेका छन् ।

प्रदेश प्रमुख खापुङले असोज २० मा संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको आह्वान गरेका थिए । सर्वोच्चले २०७८ असार २८ मा संविधानको धारा ७६ (५) मा सांसदहरूले स्वतन्त्र रूपमा समर्थन गर्न सक्ने व्याख्या गरेको थियो । धारा ७६ मा संघीय कार्यपालिका र धारा १६८ मा प्रदेश कार्यपालिकाका समान प्रावधान रहेकाले एमालेसँग गठबन्धन गरेका ८ सांसदलाई ह्वीप लाग्दैन ।

समर्थक सांसदको सनाखत आज

कोशी प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेसका केदार कार्की र माओवादीका इन्द्रबहादुर आङ्बोको समर्थनमा हस्ताक्षर गरेका सांसदको शनिबार सनाखत गराउने निर्णय गरेका छन् । सरकार बनाउने अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५) बमोजिम मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि आह्वान गरेको सातदिने समयसीमा शुक्रबार साँझ ५ बजे सकिएपछि खापुङले सनाखत गराउने निर्णय गरेका हुन् । कार्की र आङ्बोले ४७र४७ सांसदको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी गरेका थिए ।

गठबन्धन दलको निर्णयविपरीत मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले आफूलाई समर्थन गरेका कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदसहित शुक्रबार प्रदेश प्रमुख कार्यालयमा पुगेका थिए । मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएको र दुवैले ४७र४७ सांसदको हस्ताक्षर पेस गरेको भन्दै प्रमुख खापुङले शनिबार सनाखत गराउने विषयमा छलफल गरेका थिए । कार्कीले शुक्रबारै सनाखत गराउनुपर्ने अडान लिएका थिए । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखलाई दबाब दिएर नियुक्ति प्रक्रिया लम्ब्याउने सूचना पाएपछि कार्की आफ्ना सांसदसहित प्रमुखको कार्यालय पुगेका थिए ।

कोशी कांग्रेस कार्यसम्पादन समितिको शुक्रबारको बैठकले गठबन्धन दलको निर्णयविपरीत मुख्यमन्त्रीमा दाबी गरेका कार्की र उनलाई समर्थन गरेका प्रदेश सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ । ३१ सदस्यीय कार्यसम्पादन समितिमध्ये १४ सदस्यको उपस्थितिमा बसेको बैठकले कोशी संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको हो । बैठकको कोरम पुग्न नदिने रणनीतिअनुसार कांग्रेस नेता शेखर कोइराला समूहका केही सदस्य हस्ताक्षर नगरी फर्केका थिए । आङ्बोले यसअघि अर्कै प्रयोजनका लागि हस्ताक्षर गरेका कांग्रेस सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको आरोप शेखर पक्षले लगाएको छ । आठ सांसदबाहेक कांग्रेसकै हिमाल कार्कीले पनि शुक्रबार नै मुख्यमन्त्रीमा आफूहरूको समर्थन कार्कीलाई रहेको भन्दै प्रदेश प्रमुखलाई संयुक्त निवेदन बुझाएका थिए ।

राप्रपाले भने सरकार गठनको विषयमा तटस्थ बस्ने निर्णय गरेको छ । संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफूहरू तटस्थ बस्ने र विश्वासको मत लिने बेला कार्कीलाई समर्थन गर्ने बताएका छन् । कान्तिपुर





error: Content is protected !!