‘कु’ गाउँले पहिलो पटक देख्यो गाउँपालिका ‘हाकिम’

डोल्पा ः डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ७ ‘कु’ गाउँमा पहिलो पटक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गएको भदौ ४ गते शे–फोक्सुण्डो गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकाल पहिलो पटक ‘कु’ गाउँ पुगेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको नेपालको संविधान जारी भएपछि वि।सं।२०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । त्यसयता उक्त पालिकामा ४ जना प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकाल पूरा गरेर फर्किए । हालसम्म उक्त वडामा कुनै पनि प्रमुख प्रशासकीय अधिकृत पुगेका थिएनन् ।

आव।२०८०/०८१ मा कार्यान्वयन हुने विभिन्न योजनाहरूको प्रारम्भिक स्थलगत फिल्ड निरीक्षण, उपभोक्ता समितिलाई अभिमुखीकरण, सामुदायिक तथा भौगोलिक अध्ययन अवलोकन लगायतको सिलसिलामा त्यहाँ पुगेका ढकाल ‘कु’ गाउँ पुग्ने पहिलो प्रमुख प्रशासकीय अधिकृत बनेका छन् । नेपालको विकट जिल्ला डोल्पाको विकट गाउँपालिका शे–फोक्सुण्डो जिल्लाको पनि अत्यन्तै विकट वडा मानिएको उक्त गाउँ पुग्न पालिका केन्द्रबाट घोडारपैदल १२–१३ घण्टा लाग्छ ।

‘विसं २०७४ सालको स्थानीय निर्वाचनताका निकै चर्चा पाएको ‘कु’ गाउँ नेपालको कान्छो गाउँको रुपमा परिचित छ । त्यसताका ‘कु’ गाउँमा पहिलोपटक मतदान भएको, त्यसअघि ‘कु’ गाउँको नक्सा सरकारी नक्सामा समावेश नभएको, त्यहाँका जनताले त्यसअघि कहिलै मताधिकार प्रयोग नगरेको, सरकारी दस्तावेजमा उक्त गाउँले पहिलोपटक स्थान पाएको, नेपालमा नयाँ गाउँ फेला परेको जस्ता विभिन्न समाचारहरू प्रकाशन भएपछि सबैको चासो र चर्चाको विषय बनेको थियो ।

यद्यपी त्यसो नभई विसं २०७४ साल भन्दा अघिपनि उक्त गाउँलाई एक मतदान केन्द्र कायम गरी विभिन्न निर्वाचनमा मतदान भएको तथ्य फेला परेको ढकाल बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत ढकाल भन्छन्, ‘पहिलो पटक आफू ‘कु’ गाउँ पुग्दा त्यहाँका जनताको मुहारमा खुसीको उभार थियो, कुनै उत्सव मनाएझैं देखिन्थ्यो । ’कु’ गाउँबासी बाट प्राप्त गरेको सम्मान र सद्भाव अविस्मरणीय नै बन्यो ।’

आफू पुगेको साँझ त्यहाँका जनताले स्थानीय भाषा र भेषभुषाका विभिन्न गीत तथा नाचहरू देखाएको उनी बताउँछन् । गाउँपालिकामा हाजिर भएलगत्तै स्थलगत अवलोकन भ्रमणमा निस्किएका ढकाल आफूसँग समय भएसम्म सबै वडाका सबै समुदायहरूमा पुग्ने र त्यहाँको भूगोल, भाषा संस्कृती, भेषभूषा, जीवनशैली, संस्कार र रितिथिती अनुभूत गर्ने इच्छा भएको बताउँछन् ।





error: Content is protected !!