चाडपर्वलक्षित कर्णालीका सडक सुरक्षामा के गर्दै छ राज्य ?

सुर्खेत ः देशैभर दसैँको रौनक छाएको बेला १२ असोज २०७९ मा सल्यानको कपुरकोट गाउँपालिका ६ जलवाङ गाउँ शोकमा डुबेको थियो । सल्यानको कपुरकोटमा रा१ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाए । बाँकेको कोहलपुरबाट सल्यानको कपुरकोटका लागि छुटेको उक्त जीपमा सवार ९ जनामध्ये ८ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

उनीहरू बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्कंदै थिए । मृत्यु हुने सबै एकै गाउँका हुन् । सोही दिन जुम्लाबाट स्याउ लिएर सुर्खेततर्फ आइरहेको ट्रक दुर्घटनामा पर्‍यो । जुम्लाको हिमा गाउँपालिका– १, आचार्य लिहीमा बागमती प्रदेश ०३ ००१ ख २१६४ नम्बरको ट्रक दुर्घटनामा मकवानपुर घर भएका ट्रकचालक अविनाश लामाको मृत्यु भयो भने उनका सहयोगी हरि न्यौपाने घाइते भए ।

यस्तै, असोज १५ गते सल्यानकै कुमाख गाउँपालिका– ७, डुमकोटमा रा१ज ७९८ नम्बरको जीप दुर्घटनामा पर्‍यो । दुर्घटनामा कुमाख गाउँपालिका– ७, डुमकोटका दुई जनाको मृत्यु भयो भने, १७ जना घाइते भए । ओभरलोडका कारण उकालोमा चढ्न नसकेर उक्त जीप दुर्घटनामा परेको थियो ।

असोज १५ मै जुम्लाको तिला गाउँपालिका– १, कालजेनीमा खंलगाबाट नराकोटतर्फ जाँदै गरेको भे१च १८७३ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भयो । सो दुर्घटनामा इलाका प्रशासन कार्यालय नाराकोटका प्रमुख मधुशंकर उपाध्यायसहित ४ जना घाइते भए । उनीहरू दसैँ मान्न घर फर्किंदै थिए ।

उल्लेखित घटना चाडपर्वका बेला बर्सेनि कर्णालीका सडकमा ज्यान गुमाउनेहरूका दुस्खान्त उदाहरण हुन् । यस वर्षको चाडपर्व सुरु भएसँगै कर्णाली भित्रिने र बाहिरिने नागरिकको संख्या दिनानुदिन बढ्दै जान थालिसकेको छ । रोजगारी, अध्ययन तथा व्यापार व्यवसायका लागि प्रदेशबाहिर रहेका कर्णालीका नागरिक चाडबाड नजिकिएसँगै घर फर्कन थालेका छन् ।

खासगरी रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएका कर्णालीका श्रमिक तथा विद्यार्थीहरूको ठूलो संख्या दसैँतिहार बिदामा घर फर्कने गर्छन् । कर्णाली भित्रिने मुख्य मार्ग भनेको स्थलमार्ग नै हो ।

कर्णाली भित्रिने मुख्य चार नाकाबाट हाल दैनिक हजारौँको संख्यामा नागरिक कर्णाली प्रवेश गरिरहेका छन् । यात्राका लागि सडकमार्ग निर्विकल्प रहेको कर्णालीका लागि यात्रुहरूले बर्सेनि बाटोमा सास्ती व्यहोर्नुपर्ने बाध्यता मात्र होइन, ज्यानसमेत गुमाउनुपर्ने अवस्था छ । कर्णालीमा अन्य समयभन्दा चाडपर्वका बेला बढी मात्रामा सडक दुर्घटना हुने गरेका छन् ।

साँघुरा र कच्ची सडक तथा सवारीसाधनको क्षमताभन्दा धेरै यात्रु बोक्नेलगायत कारणले कर्णालीका सडकमा भगवान् भरोसामा यात्रा गर्नुपर्ने वर्षौंदेखिको बाध्यता अझै कायम छ ।
सरकारले कर्णालीमा चाडपर्वलक्षित सुरक्षा योजना बनाए पनि त्यसको फितलो कार्यान्वयनका कारण सडक दुर्घटना घट्नुको साटो बढ्दै गएको छ । विशेष गरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता कारणले हरेक वर्ष दसैँतिहारको समयमा कर्णालीमा सडक दुर्घटना बढ्दै गएको प्रहरीको तथ्यांक छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । आर्थिक वर्ष २०७६र०७७ को असोज महिनामा कर्णाली प्रदेशमा ३३ वटा सडक दुर्घटना भएका थिए ।

यसैगरी २०७७र०७८ को असोज महिनामा १८ वटा र २०७८/०७९ मा २३ वटा सडक दुर्घटना भएको प्रहरीको तथ्यांक छ । सडक दुर्घटनाको यो ग्राफलाई हेर्ने हो भने गत तीन आर्थिक वर्षको असोज महिना अर्थात् चाडपर्वको समयमा मात्र कुल ७४ वटा सडक दुर्घटना भएको देखिन्छ ।

यस्तै, २०७६र०७७ को कात्तिक महिनामा २०, २०७७/०७८ को कात्तिकमा २९ र २०७८/०७९ को कात्तिकमा ४१ वटा गरी कुल ९० वटा सडक दुर्घटना भएको प्रहरीको तथ्यांक छ । चाडपर्वका बेला गाउँघर फर्किनेहरूको संख्या बढ्ने भएकाले सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्री बोक्ने र तीव्र गतिमा हाँक्ने गर्नाले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको विश्लेषण छ ।

यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउँछौँ ः अध्यक्ष सापकोटा

यातायात व्यवसायी संघ कर्णाली प्रदेशका संयोजक रमेशकुमार सापकोटाले चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित गन्तव्यमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन् । उनले राज्यको नीति नियममा रहेर यातायात व्यवसायीहरूले यात्रुलाई सहज र सुरक्षित सेवा दिने जिम्मेवारीमा कुनै पनि कमी हुन नदिने उल्लेख गर्दै राज्यका कारण कर्णालीमा यात्रुलाई कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए ।

‘कर्णालीका अधिकांश सडक समयमा बन्दैनन्, बजेट छुट्याएर सडकको स्तरोन्नति पनि गरिँदैन । जबसम्म सडक राम्रो हुँदैन, तबसम्म यात्रुहरूको यात्रा जहिले पनि कष्टकर नै हुन्छ,’ सापकोटाले भने । राज्यले विशेष गरी चार्डपर्वका समयमा यातायात व्यवसायीलाई सहज र सुरक्षित यातायात सञ्चालनमा रचनात्मक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार विशेष गरी प्रदेश राजधानी सुर्खेत भित्रिने र बाहिरिने जिल्लाहरूमा सवारीसाधन थपेर सेवा सुरु गरिएको छ ।

चाडपर्वको समयमा प्रशासनबाट सवारीचालक र कर्मचारीलाई विभिन्न खाले हैरानी दिने गरिएको उल्लेख गर्दै यस्ता हैरानी बन्द हुनुपर्ने सापकोटाले बताए ।

के छ सुरक्षा निकायको तयारी ?

सडक सुरक्षाको जिम्मेवारी पाएको ट्राफिक प्रहरीले चाडपर्वका समयमा चेकजाँच तथा जनचेतनालाई जोड दिइएको जनाएको छ । अघिल्ला वर्षहरूमा झैँ कर्णाली प्रदेश प्रहरीले चाडपर्वको समयमा हुने सडक दुर्घटना जोखिम न्यूनीकरणका लागि नागरिक सहायता कक्ष, नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही, ट्राफिकसहितको संयुक्त जाँचलगायतका कार्यक्रमहरू अघि सारेको छ ।

चाडपर्व सुरक्षा कार्य योजना २०८० मा सवारी दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रहरीले कर्णालीका ५३ स्थानमा ट्राफिक प्रहरीसहित संयुक्त जाँच सञ्चालन गरिने नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक भूपेन्द्रबहादुर शाहीले जानकारी दिए ।

यसका साथै ३१ स्थानमा नियमित जाँच, आवश्यकताअनुसार आकस्मिक जाँच, १८ स्थानमा लामो दूरीका सवारी जाँच (दुई जना चालकको व्यवस्थ) गर्ने प्रहरीको योजना छ । यसैगरी, प्रदेशका २६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रवक्ता शाहीले जानकारी दिए ।

शाहीका अनुसार लामो दूरीमा सञ्चालन हुने सवारीसाधनका लागि तीन ठाउँमा यात्रु विश्राम कक्ष निर्माण गरिएको छ । कर्णाली राजमार्गमा चल्ने सवारीसाधनका लागि सुर्खेतको बड्डीचौर, प्रदेश बाहिरिने सवारीका लागि सुर्खेतकै छिन्चु र डोल्पा सडक खण्डमा सल्यानको कपुरकोटमा यात्रु विश्राम कक्ष स्थापना गरिएको शाहीले बताए ।

चाडपर्वका समयमा सवारीसाधनमा यात्रुसँग बढी असुल गर्ने, दुर्व्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने प्रहरीको कार्ययोजना रहेको शाहीको भनाइ छ ।





error: Content is protected !!