प्रि–फिजिविलिटी अध्ययनमै अलमल

सुर्खेत ः जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको योजना अघि बढ्न सकेको छैन । आयोजनाको ‘प्रि–फिजिविलिटी’ अध्ययनमै अलमल देखिएको छ ।

२०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रूकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइलसमेत खडा गरेको थियो । त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । देखिनेगरी आयोजनाका काम अघि बढेन । पुनः २०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्रि–फिजिविलिटी अध्ययनको काम थालियो ।

प्राविधिक टोलीले फिल्डमै गएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गर्ने भनिए पनि फिल्डमा पुगेर अध्ययन भएको छैन । काममा प्रगति हुन सकेको छैन । सडक डिभिजन चौरजहारी रूकुमपश्चिमका सूचना अधिकारी सुरेशकुमार बस्यालले सुरुङमार्गको अध्ययनमै अलमल भइरहेको बताए । पाँच महिनामा अध्ययनको काम सम्पन्न गरेर अन्य काम अघि बढाउनुपर्ने भएपनि काम हुन नसकेको उनको भनाइ छ । बस्यालले भने, ‘सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त छ–छैन भनेर प्रि–फिजिविलिटी अध्ययनको काम थालिएको हो । फिल्डमा काम हुन सकेको छैन ।’ यसअघि पनि सामान्य पूर्व अध्ययनका काम भएको उनले जानकारी दिए ।

सडक विभागले गत जेठमा इटीको–टि।एम।एस–रेज जेभीसँग सुरुङमार्ग प्रि–फिजिविलिटी अध्ययन सम्झौता गरेको थियो । सोहीअनुसार अध्ययन हुनुपर्नेमा अलमल भइरहेको छ । सडकको अवरोधका कारण आवश्यक प्राविधिकको टोलिद्वारा फिल्डमा काम गर्न नसकिएको टएमएस रेज जेभीका प्रमुख राजीव झाले जानकारी दिए । उनका अनुसार पाँच महिनामा काम सम्पन्न गर्नुपर्नेमा ढिलाइ भइरहेको छ । कच्ची सडक र विभिन्न अवरोधका कारण स्थलगत काम गर्न नसकिएको उनको भनाइ छ । झाले भने, ‘हालसम्म फिल्डको काम भइसक्नुपर्ने थियो । अध्ययनका लागि उपकरण लिने बाटो नहुँदा काम गर्न सकिएको छैन ।’

अध्ययनका लागि तयार पारिने कागजी काम भने तयार भएका छन् । ‘आधा काम प्राविधिकको टोलिले फिल्डमा र आधा काम कार्यालयमै गर्नुपर्ने हुन्छ’ झाले भने, ‘अहिलेसम्म कार्यालयमा बसेर कागजी काम मात्र भएका छन् । तत्काल फिल्डमा पुगेर काम गर्न सकिने अवस्था छैन ।’ अध्ययनका लागि पटक–पटक जान खोजिएपनि आधा बाटोबाटै फर्कन परिरहेको उनले बताए । साँघुरो बाटो, ठाउँ–ठाउँमा पहिरो जाँदा स्थलगत रूपमा अध्ययनको काम गर्न नसकिएको उनले जानकारी दिएका छन् । सडकको अवरोधका कारण आवश्यक उपकरणसहित सम्बन्धित ठाउँमा अध्ययनका लागि जान नसकिएको जनाइएको छ । दसैँपछि बाटोको अवरोध खुल्ने बित्तिकै फिल्डमा पुगेर अध्ययनको काम अघि बढाउने योजना रहेको झाले बताए । एक चरण फिल्डमा पुगेर रिपोर्ट तयार गरिएको र उपकरणसहित पुनः जानुपर्ने भएकाले बाटोका कारण काम रोकिएको उनको भनाइ छ ।

प्राविधिकको टोलिले सुरुङ मार्गका लागि टनेल निर्माण, माटोको परीक्षण, लागत अनुमानलगायतको अध्ययन गर्नेछ । सम्झौता अनुसार यहि असोजमा अध्ययनको काम सक्नुपर्ने हो । तर अहिले सम्म फिल्ड अध्ययनको काम हुन सकेको छैन । सुरुङमार्ग निर्माणको अध्ययनमा आलटाल भइरहेको पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीले बताए । उनका अनुसार सम्झौता भएको पाँच महिनामा प्रि–फिजिविलिटी अध्ययनको काम सकेर अन्य कामको थालनि हुने भनिएको थियो । तोकिएको समयमा काम हुन सकेको छैन । भण्डारीले भने, ‘२०७८ मा बनेको योजना हो । हालसम्म अध्ययनकै काम सकिएको छैन । यो आयोजनालाई अगाडि बढाउनुपर्छ भनेर हामी लागि परेका छौँ ।’ विविध कारण देखाउँदै सुरुङमार्गको अध्ययनमै अलमल भइरहेको छ ।

प्रस्तावित मार्गले जाजरकोटको कुसे गाउँपालिका वडा नं. ८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ इमिल्चाघारी जोड्ने छ । सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ । गौरवको आयोजनाका रूपमा सुरुङ मार्ग निर्माण योजना अघि सारिएको छ । दुरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको छ ।





error: Content is protected !!