हुम्लाको बाटो भएर कैलास मानसरोवरको दर्शन गर्ने व्यवस्था मिलाइन्छ – प्रधानमन्त्री दाहाल

चीन ः चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलास पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्।

प्रधानमन्त्री दाहाल आज कैलास पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकनका लागि पुगेका थिए। सो भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले हिन्दू तीर्थ यात्रीहरूको यस पवित्रस्थलको दर्शन एवं अवलोकनका लागि नेपालको बाटो भएर आउन सकिने गरी व्यवस्था मिलाइने बताए।

उनले नेपाली, भारतीय र अन्य देशका पर्यटक एवं तीर्थयात्रीले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिए।

हिन्दू धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार कैलास पर्वतलाई महादेव रहने स्थान एवं अन्य देवी–देवताले पनि स्पर्श गरेको पवित्र भूमि मानिन्छ। त्यसैले कैलास पर्वत र यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलास मानसरोवर क्षेत्र करिब दुई सय ५० किलोमिटर टाढा रहेको छ।

उता नेपालतर्फबाट भने नेपालको हुम्ला सदरमुकाम सिमकोटबाट १६० किलोमिटरमात्रै टाढा रहेको छ। नेपालतर्फबाट सिमकोटको बाटो भएर कैलास मानसरोवरको यात्रा गर्दा ट्रयाकमात्रै खोलिएको सडक रहेकाले यात्रा असहज हुने गरेको छ।





error: Content is protected !!