डेंगुबाट आजसम्म २० जनाको मृत्यु, संक्रमित झण्डै ३३ हजार
काठमाडौं ः डेंगु संक्रमणबाट यस वर्ष ज्यान गुमाउनेको संख्या २० पुगेको छ। गत जेठदेखि आजसम्म डेंगु संक्रमणका कारण २० जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
देशभर अहिलेसम्म ३२ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ। डेंगु ७६ जिल्लामा फैलिएको छ। सुनसरी, झापा, धादिङ, मोरङ, तनहुँ, काठमाडौं र कास्की गरी ७ जिल्लामा ५ सयभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।
पछिल्लो विवरण अनुसार सबैभन्दा बढी सुनसरीमा १६ हजार ३६ जना (जम्मा संक्रमितमध्ये ४८.७ प्रतिशत), झापामा ३ हजार ५३८ (१०.८ प्रतिशत), धादिङमा ३ हजार ५०, मोरङमा २२ सय ६६ जनामा संक्रमण भेटिएको छ।
यस्तै तनहुँमा १८ सय ९८, काठमाडौंमा ६४५, कास्कीमा ५८५, संखुवासभामा ४४७, धनकुटामा ४३२ र कैलालीमा ४११ जना डेंगुबाट विरामी भएका छन्।
प्रदेशगत आधारमा कोशी प्रदेशमा ७१ दशमलव १ प्रतिशत डेंगुका विरामी छन् भने बागमतीमा १३ दशमलव ८ र गण्डकीमा ८ दशमलव ७ प्रतिशत डेंगु संक्रमण पाइएको छ । यस वर्ष हुम्लामा भने हालसम्म डेंगुको संक्रमित भेटिएको छैन ।