कर्णालीका मुख्यमन्त्री शर्माका सल्लाहकार शर्मा मात्रै !

रुकुम पश्चिम ः नेकपा माओवादी केन्द्रले तीन महिने अभियान थालेर पार्टी तथा नेताको रुपान्तरण अभियान थालिरहेको बेला नेकपा माओवादी केन्द्रकै पोलिट ब्युरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अभियानकै धज्जी उडाएका छन । बेला बेला ब्यक्तिगत स्वार्थ र कार्यशैलीका कारण पार्टी कार्यकर्ता माझ आलोचनाको केन्द्र बनिरहने शर्मा यसपटक आफ्नो सचिवालय गठनको बिषयलाई लिएर चर्को आलोचनाको शिकार भएका छन ।

माओवादी नेता तथा पार्टी हाल जनयुद्धको मुद्धाभन्दा बाहिर गएर ब्यक्तिवादी, सत्ता स्वार्थी र परिवारबाद हावी भएको निष्कर्ष निकाल्दै पार्टीले विशेष रुपान्तरण अभियान थालेर पार्टी कार्यकर्ताको घरघरमा जाने र आत्मआलोचित हुदै सुधार गरेर आउने अभियान सिलसिलामै शर्माले आफ्नो सचिवायमा आफु अनुकुल र आफ्नै परिवार सदस्यहरुलाई नियुक्ती दिएका छन । दुईजनालाई आफ्नो कार्यकालको शुरुमै नियुक्ती दिएका हुन भने दुई जनालाई केहि दिन अघि मात्र सल्लाहकार नियुक्तीको निर्णय गरेका छन । उनले आफ्नो प्रमुख सल्लाहकारमा भरतकुमार शर्मालाई नियुक्त गरेका छन । उनी नाताले मुख्यमन्त्री शर्माको भिनाजु समेत हुन । शर्मा यसअघि स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी देखि कर्णाली प्रदेश सरकारको निमित्तको सचिबको जिम्मेवारी समेत समालेर रिटार्यर भएका उनलाई पुनः राजनीतिक नियुक्ती दिईएको हो भने उनी माओवादीको राजनीतिमा सक्रिय ब्यक्ति पनि होईनन् । त्यस्तै शर्माको आफ्नो प्रमुख सचिबमा पनि आफ्नै गृह नगर चौरजहारीका शैलेश शर्मालाई नियुक्त गरेका छन ।

मुख्यमन्त्री सचिवालयमा आफ्ना आफन्तमात्र नियुक्त गरेको भन्दै रुकुम पश्चिम तथा कर्णाली प्रदेश पार्टीको आन्तरिक बैठकमा मुख्यमन्त्री शर्माको अर्को आलोचना भएपनि पुनः दुई जना आफ्नै अनकुलका ब्यक्तिलाई नियुक्त गरेका छन । मंगलबारको कर्णाली सरकार मन्त्रीपरिषदको बैठकले जनसम्पर्क सल्लाहकारमा हरिमाया शर्मा र प्रेस सल्लाहकारमा प्रतिक शर्मालाई नियुक्त गरेका हुन । यी सबै उपसचिब देखि बिशिष्ट श्रेणी सम्मको विभिन्न तहमा नियुक्ती गरिएको छ भने अन्य तल्ला पदहरुमा पनि मुख्यमन्त्री शर्माले आफ्नै आफन्त र आफु अनुकुलका ब्यक्ति नियुक्ती गरेका छन । मुख्यमन्त्री शर्मा सचिवालयमा सहिद परिवार तथा पार्टीमा लामो योगदान गरेका योग्य ब्यक्तिहरुलाई नियुक्त गर्न रुकुम पश्चिम जिल्ला पार्टी तथा कर्णाली प्रदेश समितिबाट सिफारिस गरेपनि उक्त सिफारिसहरु मुख्यमन्त्री शर्माले फोहोरको टोकरीमा फालेर आफु अनुकुलमा ब्यक्तिहरुलाई मात्रै नियुक्ती दिएका छन । जिल्ला पार्टीले गरेको निर्देशन र सिफारिसहरु कार्यन्वयन नगरेको भन्दै केहि समय अघि सदरमुकाम खलंगामा बसेको जिल्ला पार्टीको बैठकमा राजकुमार शर्माको चर्को आलोचना भएको थियो । आलोचनाको डरले मुख्यमन्त्री भएदेखि राजकुमार शर्मा रुकुम पश्चिममा केहि उद्घाटन तथा कार्यालय प्रमुखहरुलाई निर्देशन दिन बेला बेला आउने गरेको भएपनि पार्टी बैठक तथा छलफलमा सहभागी समेत भएका छैनन् ।

जिल्लाको सञ्चार क्षेत्रको विकास र विस्तारमा चासो नदिएको भन्दै माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका पत्रकारहरु समेत शर्मा देखि रुष्ट छन । शर्मा केहि कार्यक्रमको सिलसिलामा बेला बेला रुकुम पश्चिम आउने जाने गरेको भएपनि प्रेस सेन्टरले अनौपचारिक रुपमा उनको पत्रकार सम्मेलन समेत बहिष्कार गरेको छ । उनी मुख्यमन्त्री भएको एक बर्ष बढी भएपनि जिल्लामा उनी पुग्दा प्रेस सेन्टरले एकपटक पनि पत्रकार सम्मेलन आयोजना गरिदिएको छैन ।

शर्मा यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख समेत भएका थिए । उनी प्रमुख हुँदा जिल्लामा मदिरा निषेध अभियान लागेर जिल्लामा इजाजत लिएर मदिरा व्यवसाय गरेका ब्यवसायीहरुको उठिवास समेत बनाएका थिए । जिल्लामा जिल्ला समन्वय समिति र स्थानीय सरकारहरु मिलेर मदिरा निषेध अभियान थालेर ब्यवसायीहरुको सटर बन्द गरे पनि आठविसकोटमा भने माओवादी निकटहरुले सञ्चालन गरेको करोडौं लगानीको मदिरा उद्योगलाई खुला गरेका थिए । यसरी आफ्नो स्वार्थमा फरक फरक नीति लिएको भन्दै उनको त्यसबेला रुकुममा चर्को आलोचना भएको थियो भने पछि व्यवसायी अदालतमा गएर उनको निर्णय उल्ट्याई दिएका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!