हिमालमा फैलिँदै डेंगी

मुगु ः छायानाथरारा नगरपालिका–५ का ४७ वर्षीय खडकराज कामी झन्डै ४ दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि सोमबार जिल्ला अस्पताल पुगे । जाँच गर्दा डेंगी संक्रमण देखिएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहेका छन् ।

हिमालमा पनि अहिले जताततै लामखुट्टेको बिगबिगी छ,’ उनले भने, ‘सामान्य ज्वरो मात्र होला भनेको त डेंगीले ४ दिन सुताएरै छोड्यो ।’ उनका छिमेकी भद्रा विक पनि डेंगी लागेपछि ४ दिन ओछ्यानमै थला परिन् । दुवै जना अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । लामखुट्टेको संख्या बढ्दै गएपछि मुगुसहित जुम्ला, कालीकोट, हुम्ला र डोल्पामा डेंगीका बिरामी थपिन थालेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हिमाली जिल्लामा ९१ जनामा संक्रमण देखिएको छ । एक महिनामा सबैभन्दा बढी जुम्लामा २४ जना र सबैभन्दा कम डोल्पामा १ जनामा संक्रमण देखिएको छ । मुगुमा पनि ९ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

उपचारका लागि आएका बिरामीलाई जाँच गर्दा एक सातामा ९ जनामा डेंगी देखिएको जिल्ला अस्पतालका डा कमल ढुंगानाले बताए । ‘यहाँ नआएका अरूलाई पनि डेंगी भएको हुन सक्छ,’ उनले भने, ‘सबै गाउँमा ज्वरोका बिरामी बढिरहेका छन्, अहिले शंकास्पद बिरामीको मात्र रगत जाँच गरिरहेका छौं ।’

पछिल्लो समय नेपालगन्ज, सुर्खेतलगायत ठाउँबाट गाडीमार्फत लामखुट्टे भित्रिँदा यो वर्ष पहिलोपल्ट डेंगीका बिरामी भेटिएको अस्पतालका डा। अर्जुन भामले बताए । ‘डेंगीको छिटो रोकथाम उपाय अपनाउन नसके ठूलो रूप लिन सक्ने देखिन्छ,’ उनले भने, ‘समयमा उपचार गर्न नसके बिरामीको ज्यान जान सक्छ ।’

अहिले मुगुमा लामखुट्टेको टोकाइले स्थानीय हैरान भएका छन् । ‘लेकतिरका खर्कमा पनि लामखुट्टेले दुःख दिन लागिसक्यो,’ स्थानीय जुनपूरा शाहीले भनिन्, ‘तराईको लामखुट्टे पहाड हुँदै हिमाल उक्लिएपछि लामखुट्टेको टोकाइले राति सुत्न समस्या हुन थाल्यो ।’ जिल्लामा सबैभन्दा बढी खत्याड गाउँपालिकाको सुकाढिक, आम, रिघा, ह्याङ्लु, रातापानी, माझचौरलगायत एक दर्जन बस्तीमा लामखुट्टेले टोकेर स्थानीयलाई हैरान दिन थालेको छ । ती औंलतिरका बस्ती हुन् । ‘३र४ वर्षअघिसम्म गाउँमा लामखुट्टे देखिँदैन थिए, अचेल साँझ हुन थालेपछि लामखुट्टेले टोक्न थालेको छ,’ सुकाढिकगाउँका गणेश गिरीले भने, ‘लामखुट्टेबाट जोगिन झुलको प्रयोग गर्न थालेका छौं, ढोकामा भुसको धूवाँ बाल्ने र धुपबत्ती बालेर सुत्नुपर्ने बाध्यता छ ।’ जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार गत वर्ष रिघागाउँका ४१ जनामा मलेरियाको संक्रमण देखिएको थियो । एक वर्षअघि मात्र गाडी पुगेको मुगुमकार्मारोङ गाउँपालिकाको छाइल बजारमा पनि अहिले लामखुट्टे देखा परेको उनको भनाइ छ ।

गाउँमा गाडी पुगेपछि लामखुट्टेको बिगबिगी बढेको सोरुस्थित सीपगाउँकी गोविन्दा विष्टले बताइन् । उनका अनुसार अहिले गाउँमा झुल नटाँगेर सुत्नै नमिल्ने अवस्था छ । छिमेकी जिल्ला हुम्लाको सर्केगाडस्थित तुम्च र अदानचुलीको लतलडी, मकै, गल्फागार्डलगायत बस्तीमा पनि लामखुट्टे फैलिएको स्थानीय अर्जुन बुढाले बताए । ‘चिसो मौसममा खासै समस्या हुँदैन, गर्मीमा त लामखुट्टेले हैरान पार्छ,’ उनले भने, ‘तराईमा देखिने डेंगी पनि हिमालमा फैलिँदै गइरहेको छ, अब त ज्यान बचाउनै मुस्किल हुन थाल्यो ।’

अन्य बस्तीभन्दा गाईगोरु पाल्ने गाउँमा लामखुट्टे बढी देखिने गरेको उनले बताए । उनका अनुसार विशेषगरी कर्णाली नदी किनारमा रहेका बस्तीमा लामखुट्टेको बिगबिगी देखिएको छ । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै लामखुट्टे बढेपछि डेंगीका बिरामी फेला पर्न थालेको प्रदेश स्वास्थ्य निर्देशक डा। रविन खड्काले बताए । उनका अनुसार कर्णालीमा हालसम्म डेंगीका ४ सय ४१ बिरामी छन् । सुर्खेतमा मात्रै झन्डै १ सय १० जनामा डेंगीको संक्रमण देखिएको उनले जानकारी दिए ।

यस्तै पूर्वी पहाडको पाँचथरमा दुई सातामा डेंगी संक्रमितको संख्या तीन सय नाघेको छ । भदौ १५ देखि असोज ३ गतेसम्म संक्रमितको संख्या ३ सय ३ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा बढी फिदिम नगरपालिकामा २ सय ३७ जनामा संक्रमण पाइएको कार्यालय प्रमुख तेजबहादुर तुम्बापोले बताए । फिदिममा बिहीबार एकैदिन २८ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल र गणेशमान सिंह सामुदायिक अस्पतालमा मात्रै डेंगी परीक्षण हुँदै आएको छ । केही निजी क्लिनिकले परीक्षण गरे पनि तथ्यांक प्राप्त नहुने भएको जनस्वास्थ्य प्रमुख तुम्बापोले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!