लेखा समूहका कर्मचारीको सरुवामा चलखेल गरेको आरोप

  सुर्खेत ः कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको पदास्थापना, सरुवा र काज गरेपछि चलखेल गरेको आरोप लागेको छ । प्रदेशमा कार्यरत निजामती सेवा अन्तर्गत लेखा समूहका कर्मचारीहरुको ब्यापक सरुवा गरेपछि मन्त्रालय नै चलखेलका आरोप कर्मचारीहरुले लगाएका हुन् ।

मन्त्रालयले आइतबार मात्रै लेखा समूहका आठौं, सातौं, छैटौं र पाँचौ तहका ७५ जनालाई विभिन्न मन्त्रालय र कार्यालयहरुमा सरुवा गरेको थियो । कर्मचारी सरुवा गरेको २४ घण्टा वित्न नपाउँदै मन्त्रालयले अव्यवहारिक निर्णय गरेको भन्दै आक्रोश पोखेका छन् । मन्त्रालयले नै बनाएको लेखा समूहका कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी मापदण्ड विपरित कर्मचारीहरुको सरुवा गरेको कर्मचारीको भनाई छ ।

मापदण्डको दफा ६ मा सरुवा, पदस्थापन र कामकाजमा खटाउँदा प्रदेशको विभिन्न भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी कार्यबोझ, कार्य प्रकृति एवं कर्मचारीहरुको अवधि पूरा भएका कर्मचारीलाई चक्रिय प्रणालीमा सरुवा गर्नेगरी अनुसूचीमा समेत व्यवस्था गरिएको छ । तर मापदण्ड स्वीकृत तथा कार्यान्वयन गर्ने निकाय आर्थिक मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट कर्मचारीहरुको सरुवा गर्दा मापदण्ड, नीति, विधि र पद्धती विपरित आस्था, दबाब र प्रभावका आधारमा गरिएको कतिपय कर्मचारीहरुले आपत्ती जनाएका छन् ।

सरुवामा भएका केही प्रतिनिधिमूलक निर्णयहरुमा व्यापक चलखेल गरेको र चार पाँच वर्षदेखि एउटै कार्यालयमा बसिरहेका कर्मचारीहरुको सरुवा नगरेको, अवधि नपुगेको कर्मचारीको सरुवा गरेको, सुगमबाट सुगमकै अर्को कार्यालयमा सरुवा गरिएको र मापदण्डको खण्ड ‘क’ का कार्यालयबाट ‘क’ मा नै सरुवा गरेर मन्त्रालयले चलखेल गरेको एक कर्मचारीले नेपालकर्मलाई जानकारी दिए ।

कानून विपरित अन्यायपूर्ण सरुवाबाट लेखा समूहका कर्मचारीहरुको मनोबल गिर्नेगरी आतंकित बनाएर समग्र सार्वजनिक प्रशासन ध्वस्त हुन गएकोले कर्मचारीहरुले चिन्ता व्यक्त गरेका छन् । कर्मचारी सरुवाको विषयमा मन्त्रालयका कायममुकाय प्रदेश सचिव दीर्घबहादुर पोखरेलसँग प्रतिक्रिया लिन खोज्दा उनले अहिले जवाफ नसक्ने सन्देश पठाएका छन् ।





error: Content is protected !!