प्रचारको पर्खाइमा डोल्पाका दर्जनौँ ताल ,पर्यटनको बलियो सम्भावना

डोल्पा ः भौगोलिक रूपले नेपालकै ठूलो जिल्ला डोल्पा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँ प्रमुख पर्यटकीय गन्तव्य शे(फोक्सुन्डोसँगै प्रचारप्रसारको पर्खाइमा रहेका दर्जनौँ तालतलैया छन् । हालै फेला परेको मनाङको तिलिचो तालभन्दा पनि बढी उचाइँमा रहेको दाबी गरिएको तालको प्रमाणिकताको टुङ्गो लगाउन स्थानीय तहका जनप्रतिनिधिले संघीय सरकारको साथ खोजिरहेका छन् ।
नेपालकै गहिरो शे(फोक्सुन्डो ताल डोल्पा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो गन्तव्य हो । सरकारले सार्वजानिक गरेका एक सय पर्यटकीय गन्तव्यमा परेको १ दशमलव ८० किलोमिटर चौडाइ र ५ दशमलव ९३ किलोमिटर क्षेत्रमा अंग्रेजी ‘वाई’ आकारमा फैलिएको यो सुन्दर तालले रङ फेरि रहन्छ । फोक्सुण्डोबाहेक डोल्पाका एक दर्जन अन्य तालहरूको भने पर्याप्त प्रचार हुनसकेको छैन ।
जगदुल्लाको जगदुल्ला ताल, सुन दह, त्यसपछि अहिले भेटिएको ताललगायत थुप्रै तालको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको जगदुल्ला(४ का साइकल यात्री रामचन्द्र बस्नेतले जनाए ।
जिल्लामा मापन नै नभएका प्रेमताल, चारतालसहित धेरै तालहरू छन् । १५ हजार देवीदेवताको बासस्थान रहेको जनविश्वास रहेको जगदुल्ला तालमा अचेल आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । डोल्पोबुद्ध गाउँपालिका(६ मा भर्खरै पत्ता लागेको ताल मनाङको तिलिचोभन्दा पनि माथि समुन्द्र सतहदेखि ५ हजार १ सय ९० मिटर उचाइँमा रहेको दाबी गरिएको छ । स्थानीय भाषामा कुईन्ख्येन फालक नामले चिनिने फालगाउँको हिमालमा फेला परेको यो ताल नेपाल /चीनको सीमा नजिकै छ ।
यो ताल धेरै उचाइमा भएका कारण जो कोही सहजै पुग्नसक्ने अवस्था छैन । दुई देशको सीमा नजिक रहेको र ताल क्षेत्रमा हिमाली भालुको डर हुने भएकाले पनि संवेदनशील छ । यो ताल संरक्षण, मापन र अवस्थितिको आधिकारिकताबारे पहल गर्न स्थानीय सरकारले केन्द्र सरकारको सहयोग मागेको छ ।
डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा दोर्जे गुरुङले हालै भेटिएको नयाँ तालको अवस्थितिबारे आधिकारिक प्रमाणिकरण गरिदिन नेपाल सरकारको सम्बन्धित निकायलाई आग्रह गरे ।
उसो त फोक्सुण्डो तालको गहिराइको दाबीलाई पनि सरकारले प्रमाणित गर्न सकेको छैन । ताल मापन गरी आधिकारिकता दिलाउने प्रक्रिया प्रारम्भिक चरणमै रहेको प्रमुख जिल्ला अधिकारी भूमेश्वर पोखरेलले बताएका छन् ।
तस्बिर ः भास्कर बस्नेत



