तिलिचोभन्दा अग्लो स्थानमा भेटियो नयाँ ताल तस्बिरसहित

डोल्पा ः विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालभन्दा पनि उचाइमा रहेको अर्को ताल डोल्पामा भेटिएको दाबी गरिएको छ । डोल्पामा भेटिएको ताल समुद्र सतहदेखि ५,१९० मिटर उचाइमा फेला परेको दाबी गरिएको हो । समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका ६, फालगाउँको हिमालमा नयाँ तालको पहिचान गरिएको हो । जसलाई स्थानीय बासिन्दा ‘कुन्ख्येन फालक’ नामले चिन्छन् । यो ताल नेपाल(चीनको सीमानजिक रहेको डोल्पो बुद्ध गाउँपालिका ६ का वडाध्यक्ष नुर्बु डम्डुल गुरुङको दाबी छ । ताल रहेको स्थानबाट चीनसँगको १५ नम्बर सीमा स्तम्भ पुग्न करिब दुई घण्टाको पैदल दूरी रहेको स्थानीयले जनाए ।
डोल्पो बुद्ध गाउँपालिका ६ का वडाध्यक्ष गुरुङ र डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङको पहलमा स्थानीय बासिन्दाको सहयोगमा तालको उचाइ मापन गरिएको हो । आफूहरुसँग भएको जीपीएसले ताल रहेको स्थानको उचाइ ५,१९० मिटर देखाएको वडाध्यक्ष गुरुङले फोनमार्फत जानकारी दिए । तर आधिकारिक निकायबाट यसको उचाइ मापन गरी प्रमाणित हुन भने बाँकी छ ।
‘यो ताल पहिलेदेखि थाहा भए पनि अहिलेसम्म जो कोही सजिलै जान सक्ने हिक्मत हुन्थेन । त्यहाँ चीन र नेपालको उच्च चिसो र हिमालमा बसोबास गर्ने भालुजस्तो देखिने खैरो रङको जनावरको डरले कोही जाँदैनथे,’ वडाध्यक्ष गुरुङले भने, ‘यो जनावरलाई यहाँको भाषामा छुक्टे भनेर चिनिने गरिएको छ ।’ उनले शनिबार मात्र गाउँपालिका उपाध्यक्ष ,वडाध्यक्ष र अन्य १७ जना स्थानीय बासिन्दाको टिम फाल गाउँबाट ३र४ घण्टा पैदल हिँडेपछि ताल भएको स्थानमा पुगेर फर्किएको जानकारी दिए ।
स्थानीय जनप्रतिनिधिहरुले यो तालको उचाइ मापन गराउन र विश्वकै बढी उचाइमा रहेको ताल प्रमाणित गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले तालको आधिकारिकताका लागि पहल गर्ने प्रतिक्रिया दिए । ‘तालको आधिकारिकताका लागि प्रक्रिया थाल्न पहल गर्छु,’ उनले भने ।
हिमालय पर्वत शृंखलाअन्तर्गत मनाङ जिल्लाको अन्नपूर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल समुद्र सतहदेखि ४,९१९ मिटर उचाइमा छ । यस तालको लम्बाइ ४ किलोमिटर, चौडाइ १।२ किलोमिटर र गहिराइ सरदर २०० मिटर छ । माथिल्लो मनाङबाट करिब ४५ किमि दूरीमा पर्छ तिलिचो ।



