किसानलाई मकै बाली जोगाउनै मुस्किल

दैलेख ः दैलेखका ग्रामीण क्षेत्रमा मकै बाली जोगाउन मुस्किल परेको कृषकको भनाइ छ । जंगली जनावरले बाली पाक्नु अगाडि नै खाएर नष्ट गर्ने समस्याका कारण किसानलाई बाली जोगाउन मुस्किल भएको हो ।
भैरवी गाउँपालिकाका लिलाराम महताराले किसानलाई मकै बाली जोगाउन हम्मे भएको जानकारी दिनुभयो । उहाँले राति बँदेल र दुम्सीले मकै नष्ट गर्ने र दिउँसो बाँदरले नष्ट गर्ने समस्याका कारण किसान वर्षेनी जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको बताउनुभयो ।
खेत नजिकै वन रहेकाले जंगली जनावरको समेत बिगबिगी रहेको स्थानीय कृषकको भनाइ छ । मकैबारी पुरै ढलाम्मे बनाएको छ, किसान महताराले भन्नुभयो, “मकैले टुसा छाड्ने गरेपछि एक जनाको बास बारीमा हुन्छ ।”
भैरवी गाउँपालिका –१ कै झुपाराम महताराले सरकारका नीति नियमका कारण आफूहरू समस्यामा परेको बताउनुभयो । उहाँले राज्यले जङ्गली जनावर मार्नु हुँदैन, भन्ने नीति लिएको भए पनि आफूहरूलाई पनि आवश्यक पर्ने घेरवारको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँपालिकाभरी बँदेलको आतंक छ, कृषक रातभर सुत्न पाउँदैन, त्यतातिर राज्यले हेर्दैन । कृषक मर्कामा छौं ।” मकैमा क्षति गरेको विषयमा वडा कार्यालयमा खबर गरे पनि वडा कार्यालयले समेत आफूलाई केही गर्न नसक्ने जवाफ दिएको कृषकले बताएका छन् ।
गाउँमा बँदेल र बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेपछि विभिन्न निकायमा गएर सहयोग माग्दा समेत आफूहरूले सहयोग नपाएको गुनासो समेत गरेका छन् । भैरवी गाउँपालिका मात्र नभइ बँदेल, दुम्सी र बाँदरले जिल्लाका अधिकांश स्थानीय तहमा लगाइएको मकै खेती नष्ट हुनेगरेको छ ।
डिभिजन बन कार्यालयका सहायक वन अधिकृत वेदप्रकाश ढकालले बँदेलले क्षति गरेको खाद्यान्नको हकमा वर्षमा दुई पटक छुटाछुटै बालीको लागि १० हजार क्षतिपुर्ति दिने ब्यबथा रहेको बताउनुभयो । उहाँले राहतमा लागि सर्जमिन मुचुल्का निबेदन, सामुदायिक वनको सिफारिस, पालिकाको सिफारिस, कृषि कार्यालयबाट गरेको मुल्याङकन, जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको खण्डमा डिभिजन बन कार्यालयको नेतृत्वमा सिफारिस समितिले बाँके राष्ट्रिय निकुञ्जमा सिफारिस गर्ने र निकुञ्जले राहत उपलब्ध गराउने बताउनुभयो ।
कृषि विकास कार्यालय दैलेखले दिएको जानकारीअनुसार जिल्लाका ९० वडामा २१ हजार एकसय ७५ हेक्टरमा मकै खेती गरिदै आइएको छ । छेउका बाली जोगाउनै नसकेर यस क्षेत्रका धेरै किसानले खेती नलगाउने समस्या रहेको स्थानीयको भनाइ छ । गोरखापत्र










