उपचार अभावमा २ शिशुको मृत्यु

हुम्ला — जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएका २ शिशुको उपचार अभावमा मृत्यु भएको छ । सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानको उपचार अभावमा शुक्रबार र सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीका ७ महिने छोरा रोहितको बुधबार मृत्यु भएको हो ।
झाडापखालाले थलिएर अन्तिम अवस्थामा अस्पतालमा ल्याएका शाहीलाई अनियन्त्रित झाडापखालाका कारण आईसीयूमा उपचार गर्नु पर्ने थियो । रोहितलाई सुविधासम्पन्न अस्पतालमा लैजान खराब मौसमका कारण जहाज नआउँदा बाबु कालीबहादुरले मंगलबार घर लगेपछि बुधबार बच्चाको मृत्यु भएको जिल्ला अस्पताल हुम्लाका डाक्टार कैलाश लामाले बताए । त्यस्तै झाडापखालाले थलिएका सुनारको रगतमा संक्रमणले अवस्था गम्भीर देखिएपछि साउन १८ गते जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिइएको थियो । प्रतिकृल मौसमले जहाज नआउँदा अन्यत्र लान नपाएपछि सुनारको पनि मृत्यु भएको डा. लामाले जनाए ।
शिशुलाई बाहिर लैजान हवाई टिकट नपाएपछि शिशुको मृत्यु भएको बुवा सुरज सुनारले बताए । उनले टिकटका लागि विभिन्न एयरलाइन्सका कार्यालयमा धाए पनि टिकट नपाएको दुखेको पोखे ।
‘एक त जहाज नै पहिलेजस्तो नियमित छैन, त्यसमा पनि टिकट पाउनै गाह्रो,’ उनले भने, मौसमका कारण समयमै बाहिर लैजान नसक्दा छोरालाई गुमाउनु पर्यो, सुनार र शाहीले गुनासो गरे । चिकित्सक कैलाश लामाले गत साउन १८ गते अस्पतालमा उपचार नहुने भन्दै जिल्ला बाहिर रिफर गरेको भए पनि जहाज नआउँदा लिन नसक्दा छ महिनाका बालकको अस्पतालको बेडमै र ७ महिनाका बालकको घरमै मृत्यु भएको बताए ।
हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि नागरिक उड्ययन प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियमका कारण बिरामीहरु मारमा पर्ने गरेका छन् । कान्तिपुर










