सल्यानमा एक पसलबाट ९ क्विन्टल मल बरामद

सल्यान — जिल्ला प्रशासन कार्यालय सल्यानले बन्गाड कुपिण्डे नगरपालिकास्थित सल्लीबजारको एक पसलबाट ९ क्विन्टल रासायनिक मल बरामद गरेको छ । अवैध रुपमा बिक्री गरेको गोप्य सूचनाका आधारमा प्रशासनले स्थानीय खिमलाल बस्नेतले सञ्चालन गरेको विकास एग्रोभेटबाट रासायनिक मल बरामद गरेको हो ।
आठ क्विन्टल युरिया, दुई क्विन्टल डीएपी, पोटास ३३.३२ किलो, खुला युरिया २६.७७७ किलो र डीएपी खुला ७ सय ५० किलो बरामद गरेको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताए । बरामद गरेको मलमा कृषि सामग्री संस्थानको साढे ५ क्विन्टल र साल्ट्रेनिङको साढे दुई क्विन्टल युरिया मल रहेको उनले जानकारी दिए ।
स्थानीय तहले अनुमति दिएको सहकारीले मात्र साल्ट्रेनिङ र कृषि सामग्री संस्थानका मल बिक्री गर्न पाउँछन् । उक्त मल कहाँबाट ल्याएको भन्नेबारे भने व्यापारी खिमलाल बस्नेतले खुलाएका छैनन् ।
रासायनिक मल अवैधानिक रुपमा कालोबजारी गरेको आरोपमा व्यापारी बस्नेतलाई मुद्दा चलाउने तयारी भइरहेको र बरामद गरेको मल ईलाका प्रहरी कार्यालय सल्लीबजारमा राखिएको उनको भनाइ छ । कान्तिपुर








