परीक्षा बोर्ड कर्णाली प्रदेशमा कर्मचारी नहुँदा विद्यार्थीहरू गेटबाटै फर्किन बाध्य

सुर्खेत ः राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेशको लापरबाहीले विद्यार्थीलाई सास्ती भएको छ । वीरेन्द्रनगरमा रहेको कार्यालयले दुर्गमबाट आएका विद्यार्थीलाई आइतबार आउनु भन्दै काम नगरी फर्काएको भन्दै पीडितहरूले आक्रोश पोखेका छन् । आवश्यक कागजातसहित कार्यालयमा पुगेका विद्यार्थीलाई कार्यालयको गेटबाटै कर्मचारीले फर्काउँदै गरिरहेको पाईएको छ ।
विद्यालय तहको पढाइ सकेर बि एड प्रथम वर्षका लागि फारम भर्न कार्यालय पुगेका सेवाग्राहीहरूलाई कर्मचारीले हैरानी दिएको विद्यार्थीको भनाइ छ । भेटमा जुनीचाँदे गाउँपालिका लोकेन्द्रबहादुर खड्का आफ्नो ट्रान्सक्रिप्ट लिन केही दिन अघि सुर्खेत पुगेका थिए । उनी साउन २ गते कार्यालयमा जाँदा कार्यालयका निमित्त कार्यालय प्रमुखले आइतबार आउनु भन्दै फर्काएकी थिइन ।
जुनीचाँदेदेखि सुर्खेत पुगेका खड्का ३ हजार ५ सय खर्च गरेर वि एड अध्ययनका लागि १० जोड २ उत्तीर्ण भएको प्रमाणपत्र लिन सुर्खेत आएका थिए । कार्यालय प्रमुख र लेखा अधिकृत कार्यालयको कामको सिलसिलामा काठमाडौँ गएको भन्दै कार्यालयले खड्कालाई ५ दिन पछि आउन आग्रह गरेको थियो । खड्काले आवश्यक कागजात लिएर भौचर सहित कार्यालयमा पुगेका थिए । कार्यालयमा रसिद काट्ने मान्छे नभएको भन्दै खड्कालाई गेटैबाट फर्काइएको थियो ।
जाजरकोटका प्रेम योगी खर्च गरी सुर्खेत आएका थिए।तर, कार्यालयले विभिन्न बहाना देखाउँदै आफ्नो काम नगरेको उनले बताए । हजारौँ रकम खर्च गरी विद्यार्थीहरू कामको लागि यहाँ आएको भए पनि कार्यालयमा कहिले हाकिम त कहिले लेखापाल नहुँदा आफू जस्ता हजारौँ विद्यार्थीहरू समस्यामा परेको उनको भनाई छ । यस्तै, जाजरकोटको शिवालय गाउँपालिका ६ का सुरेन्द्र बुढाले पनि दाइको कक्षा ११ को ट्रान्सक्रिप्ट निकाल्नको लागि कार्यालयमा आउँदा कर्मचारी नभएको भनि कामै नगरेर फिर्ता पठाएको बताए ।
बुढा जस्तै कालिकोट जिल्लाबाट आएका विनोद न्यौपानेलाई पनि कार्यालयले फर्काएको थियो । कार्यालयमा सेवा लिन आएका नागरिकलाई सधैँ यसै गरी कामै नगरी फर्काउने गरेको धेरैको भनाइ छ । दुर्गम जिल्लाबाट आएका विद्यार्थीहरू समयमै काम नुहुँदा प्रमाणपत्र बिनै घर फर्किने गरेका छन् । कार्यालयमा एक दिनमा १ सय भन्दा बढी काम नभई फर्किने गरेको एक कर्मचारीले बताए । कहिले लेखापाल त कहिले हाकिम कार्यालयमा नहुँदा टाढाबाट आएका विद्यार्थीहरुलाई लामो समयसम्म यही बस्नु परेको छ ।
गत साउन २ गतेबाट साउन ९ गतेसम्म कार्यालयमा न त लेखापाल न त, हाकिम नै हाजिर थिए। तर बुधवार भने हाकिम आएका छन् । कार्यालय प्रमुख जस्तो जिम्मेवार व्यक्ति कार्यालयमा भए पनि विद्यार्थीको समस्या समाधान भएको छैन् । बोर्डका लेखा अधिकृत पुरुषोत्तम देउजा सरुवा हुन काठमार्डौ गएको भन्दै साउन २ गते देखि बिदामा बसेका छन् । काठमाडौँ गएको एक हप्ताभन्दा बढी भइसकेको छ । तर पनि कार्यालयमा आउने नआउने उनको केही पनि टुङ्गो छैन् ।
स्रोतका अनुसार कार्यालयका हाकिम र उनको बिचमा भएको विवादका कारण उनी काठमाडौँ गएको बुझिएको छ । उनी यहाँबाट सरुवा हुने निश्चित देखिएको छ । तर, कार्यालयलाई भने सेवाग्राहीको कामलाई कसरी समाधान गर्ने केही थाहा छैन् । कार्यालयले लेखापाल र हाकिमको विवाद नभएको बताएको छ । कार्यालय प्रमुख कृष्णप्रसाद श्रेष्ठले आफ्नो र लेखापालको बिचमा कुनै पनि विवाद नभएको जानकारी दिए । उनले लेखापाल सरुवा भएको केही परिपत्र नआएको समेत बताएका छन् ।
‘लेखापाल सर सरुवा हुने भन्ने कुरा सुन्नमा आएको छ, उहाँ त्यही प्रक्रियाको लागि काठमाडौँ जानुभएको छ,’ कार्यालय प्रमुख श्रेष्ठले भने ‘हामीले नयाँ मान्छे पठाउनको लागि केन्द्रसँग अनुरोध गरिरहेका छौँ, अबको केही दिनमा नयाँ मान्छे आएर विद्यार्थीको काम सफल हुन्छ ।’ यस्तै, उनले विद्यार्थीको डकुमेन्ट लगायत अन्य कागजात निकाल्न लेखापाल अनिवार्य भएकाले पनि यस्तो समस्या आएको बताए ।
अब लेखापाल नभए हुँदैन, हामीले उहाँ काठमाडौँ जानुभएको छ, मैले सम्पर्क गरिरहेको छु, उहाँले नयाँ मान्छे पठाउने कुरा गर्नुभएको छ, विद्यार्थीहरू आउनुहुन्छ, रित्तै हात फर्किनुहुन्छ, के गर्नु ? हामीले कोसिस गरेकै छौ,’ उनले भने । उनले लेखापाल कार्यालयको काममा गएको बताए पनि उनी कार्यालयमा उनी आउने नआउने हाकिमलाई समेत टुङ्गो छैन् । प्रमुख श्रेष्ठले लेखापालको लागि केन्द्रमै गएर कुरा राखेर आएको बताउँदै केही दिनमा कार्यालयमा पठाउने बताएको जानकारी दिए ।
उनले १५ साउनसम्म लेखापालको व्यवस्था गरिसक्ने प्रतिबद्धता जनाएका छन्। सोही विषयमा बुझ्नको लागि लेखापाललाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । उनको कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले १० जनाको मात्रै दरबन्दी रहेको छ। अझै पनि ५ जना कर्मचारीको अपुग रहेको छ । सङ्घका कर्मचारी कर्णालीमा आउन नमान्ने हुँदा पनि यहाँ कर्मचारीको अपुग रहेको प्रमुख श्रेष्ठको भनाई छ ।



