अवैध क्लिनिकहरुमा जथाभावि औषधि वितरण

जुम्ला — सदरमुकाम खलंगामा खोलिएका अधिकांश मेडिकलहरू अवैध भएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले सोमबार सदरमुकाम खलंगाका ८ वटा मेडिकलमा छापा हानेको थियो । ती मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिइएको लगायतका कैफियत भेटिएका छन् ।

डाक्टरको सिफारिसबिनै जथाभावी औषधि वितरण गर्दा बिरामीको ज्यानै जान सक्ने जोखिम हुन्छ,’ उनले भने, ‘त्यसैले कैफियत सुधार्न मेडिकलहरूलाई निर्देशन दिइएको छ ।’ सदरमुकाम खलंगामा रहेका कर्णाली मेडिकल हल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको शिव मेडिकल हल, रावत मेडिकल हल, ओम मनीष पोलिक्लिनिक तथा रेफरल सेन्टर, चन्दननाथ औषधि पसल, बुढ्थापा स्वास्थ्य क्लिनिक, लक्ष्मी क्लिनिक र रामारोशन दाँत उपचार केन्द्रको जिल्लास्तरीय टोलीले अनुगमन गरेको हो ।

दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधि पसलले भारतीय औषधिहरूसमेत बिक्री गर्ने गरेको स्थानीय कमला देवकोटाले बताइन् । उनका अनुसार सरकारी स्वास्थ्य संस्थामा सबैखाले औषधि नपाउँदा पनि अवैध मेडिकलको औषधिको भर पर्नुपरेको छ । ‘केही मेडिकलमा त अवैध गर्भपतनसमेत हुन्छ,’ उनले भनिन्, ‘जथाभावी औषधि सेवन गर्दा एउटा रोगको बिरामीलाई अर्को खालको स्वास्थ्य समस्या पनि देखिने जोखिम छ ।’ स्थानीय विक्रम न्यौपानेले पटकपटकको गुनासोपछि मात्र अनुगमन भएको बताए ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले औषधि पसलहरूको नियमित अनुगमन आवश्यक रहेको बताए । ‘सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले समेत अवैध औषधि पसल खोलेको भेटियो,’ उनले भने, ‘औषधि पसलहरूले गर्भपतन सेवादेखि खोप सेवासमेत अनुमतिबेगर चलाउँदा व्यक्तिको ज्यानै जाने जोखिमसमेत देखियो ।’ जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार सदरमुकाम खलंगामा झन्डै ३२ वटा मेडिकल सञ्चालनमा छन्, त्यसमध्ये १५ वटाले अनुमति लिएका छैनन् ।

कैफियत भेटिएका पसलमा निरन्तर निगरानी गरिने प्रजिअ घिमिरेकोभनाइ छ । एउटाको इजाजतपत्र लिएर अर्कोले चलाएको औषधि पसल बन्द गर्न जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई निर्देशन दिइएको उनले बताए ।





error: Content is protected !!