जुम्लाको गुठिचौरका घरहरुमा अज्ञात समूहद्वारा आगजनी

जुम्ला — गुठिचौर गाउँपालिकाका विभिन्न घरहरुमा अज्ञात समूहले आगो लगाएको छ । गुठिचौर गाउँपालिका– ४ स्थित विभिन्न गाउँका ६ घरहरुमा आगो लगाइएको वडा अध्यक्ष टीकादत्त न्यौपानेले बताए । उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डेको घर, बाउली गाउँमा कविदत्त न्यौपानेको घर, डाँडाबाडामा कविदत्त न्यौपानेको घर, दलितबाडामा लालचन्द्र सार्कीको घर र बिगारे गाउँमा भीमप्रसाद जैसीको घरमा अज्ञात समूहले आगो लगाइएको पाइएको हो।

धिता र देपालगाउँमा पनि यस्तो घटना भएको खबर आइरहेको उनले बताए । त्यस्तै, पार्किङ गरी राखेको ट्याक्टरमा समेत आगो लगाइएको छ ।

आगजनीबाट सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्यौपानेको घरमा क्षति भएको छ । ‘आगो लगाउने बित्तिकै थाहा पाउँदा अधिकांश घरहरु क्षति हुनबाट जोगिएका छन्,’ उनले भने, ‘अज्ञात समूहबाट घरको चुकुल लगाएर, पेट्रोल छर्केर आगो लगाइएको छ।’

आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाइएको डीएसपी प्रह्लाद कार्कीले बताए । ‘विभिन्न गाउँका घरहरुमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाइएको छ,’ उनले भने, प्रहरी घटनास्थलमै छ। के कति क्षति भएको छ थाहा पाउन सकिएको छैन ।’

गुठिचौरमा आपराधिक घटनाहरु बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । ‘हामीले यी घटनाहरु कम गर्न सुरक्षा संयन्त्र बलियो बनाउने गरी पहल कदमी थालेका छौं,’ उनले भने।





error: Content is protected !!