नेपाल चिनाउँदै कर्णालीका अल्ट्राधावक

जुम्ला — सात छोरी र एक छोरामध्ये पाँचौं सन्तानका रूपमा जन्मेकी पातारासी गाउँपालिका–२ की २४ वर्षीया सुनमाया बुढाको बाल्यकाल अभावमै बित्यो । आमाको दूधसमेत पर्याप्त खान नपाएकी उनी कुपोषणको सिकार भइन् । जसोतसो घरेलु उपचारले बाँचिन् । १६ वर्षमा एसएलसी पास गरेपछि भने परिवारले उनको विवाहको तयारी गर्‍यो ।

सुनमाया बुढा

जुम्ला सदरमुकामदेखि चार घण्टा पैदल दूरीको दूरदराजमा जन्मेहुर्के पनि सुनमायालाई सानै उमेरमा बिहे गरेर घरजममा भुल्नु थिएन । दुब्ली उनी विद्यालयस्तरकै दौडमा भाग लिँदालिँदै म्याराथनप्रति एकखाले लगाब बस्दै गइरहेको थियो । एसएलसी सकेपछिको एक दिन उनले थाहा पाइन्, जुम्ला बजारमा पूर्वओलम्पियन धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिँदै छन् । ‘घरमा बजार जान्छु भनेर भागेर उहाँलाई भेट्न गएँ,’ उनी सम्झिन्छिन्, ‘धावक रोकायाले कर्णाली स्पोर्ट्स क्लबमा भर्ना पनि गरिदिनुभयो ।’

गत वर्ष थाइल्यान्डमा सम्पन्न १ सय १० किलोमिटर दूरीको अल्ट्रा दौडमा स्वर्ण पदक जितेकी सुनमाया राष्ट्रिय प्रतियोगितामा १५ स्वर्णसहित झन्डै २ दर्जन पदक जितेको कीर्तिमानसहित सफलताको दौडमा छिन् । सुनमायालाई अल्ट्रा धाविका बन्छु भन्ने कल्पनासमेत थिएन । त्यसो त सानैमा बालबाल बाँचेकी उनले अहिले कर्णाली मात्र नभई देशलाई दौडिएर नै विश्वसामु चिनाइरहेकोमा सुनमायाको परिवारलाई नै सपना जस्तो लाग्छ । सुनमायालाई पनि अल्ट्रा धाविका बन्छु होला भन्ने थिएन । भन्छिन्, ‘दौडदै जाँदा सफल भइयो ।’ जुम्लाको झन्डै ३ हजार मिटर उचाइमा घाँसदाउरा र उकालीओराली गर्दै हुर्केकी सुनमायालाई अल्ट्रा र ट्रेल रेसको रुट अप्ठ्यारो लाग्दैन । तर, उनी नयाँ ठाउँको खानपान र भाषाले भने असहज बनाउने सुनाउँछिन् ।

घरदेखि भागेर सुरु भएको उनको दौड अहिले अन्तर्राष्ट्रियस्तरमा पुगेको छ । सन् २०११ मा राष्ट्रपति रनिङ सिल्डमा जिल्ला प्रथम भएपछि सोही वर्ष क्षेत्रीयस्तरको दौडमा पनि उनी सफल भइन् । थाइल्यान्डमा बाई यूटीएमबी जितेपछि अन्तर्राष्ट्रिय चर्चा पाइरहेकी उनका लागि एक समय गाउँबाट जुम्ला सदरमुकाम र सुर्खेत पुग्नु नै ठूलो कुरा थियो । निरन्तरको लगाब र मिहिनेतले उनलाई प्रशिक्षक रोकायाले ८ किलोमिटर हुँदै ४२ किलोमिटर म्याराथनका लागि तयार पारे ।

सन् २०१६ को १२ किमि दूरीको ‘ट्रेल रेस’मा सहभागी हुन ललितपुरको गोदावरी लगे । त्यसपछि उनले सात दिनमा १ सय ७० किमि दूरी पार गर्नुपर्ने मनास्लु स्टेप रेस दौड्ने मौका पाइन् । यसमा प्रथम भएपछि २०१६ डिसेम्बरमा हङकङमा भएको ‘एमएसआईजी लङटाउ रेस’ मा भाग लिइन् । ५० किमिको उक्त रेस ६ घण्टा ३० मिनेटमा पूरा गरेकी उनी एसिया क्षेत्रको च्याम्पियन बनिन् । सन् २०१९ सम्म उनले एसिया र युरोपमा गरी दर्जनभन्दा बढी अल्ट्रा रेसमा प्रतिस्पर्धा गरिसकेकी थिइन् ।

२०२१ मार्चदेखि सुनमायाको दौडमा अर्को ‘टर्निङ प्वाइन्ट’ आयो । विश्वकै चर्चित ब्रान्ड ‘द नर्थ फेस एड्भेन्चर टिम’ ले उनलाई आबद्ध गर्‍यो । यो आबद्धताले उनलाई अल्ट्रा दौड करिअरलाई थप उचाइमा पुग्न सजिलो भयो । उनले त्यसपछिका हरेक रेसमा छुट्टै प्रशिक्षक पाउँथिइन् ।

सन् २०२१ डिसेम्बरमा उनी नर्थफेसकै प्रायोजनमा ‘थाइल्यान्ड बाई यूटीएमबी १०० किलोमिटर दौड’ मा सहभागी भइन् । उक्त रेस उनले १४ घण्टा ५४ मिनेट लगाएर पूरा गर्दै स्वर्ण पदक जितिन् । त्यसअघि सन् २०२१ अगस्ट १६ मा फ्रान्समा भएको विश्वकै चर्चित अल्ट्रा दौड यूटीएफबी विश्व च्याम्पियनसिपको १ सय किमि दौडमा उनले रजत पदक जितेकी थिइन् । अल्ट्रातर्फकै ठूलोमध्येको यूटीएमबी दौडमा पुरुष र महिलातर्फ समग्र नतिजामा तेस्रो भइन् । दौडेरै उचाइ पाइरहेकी सुनमायालाई अचेल लाग्छ, १६ वर्षकै उमेरमा बाआमाको कुरा सरक्क मानेर बिहे गरेको भए कहाँ पुग्थें होला रु सदरमुकाममा सानो पक्की घर बनाएर बुढा आमाबाबालाई सँगै राख्ने रहर सँगालेकी उनले भनिन्, ‘देश–विदेश घुमेर नाम कमाउने यो अवसर मेरा लागि सौभाग्य नै हो ।’

                                                                                  ***

कनकासुन्दरी गाउँपालिका–२ जियाकी २१ वर्षीया मञ्जु रावत पनि १३ वर्षको उमेरदेखि दौड्न थालेकी हुन् । मञ्जु ०७२ मा भएको जिल्लास्तरीय दौडमा प्रथम भएपछि दाङमा भएको राष्ट्रपति रनिङ सिल्डमा भाग लिन पुगिन् । ५ मिनेट १५ सेकेन्डमा १५ सय मिटर दूरी पार गरी त्यहाँ पनि पहिलो भइन् । ०७३ मा उनले राष्ट्रपति रनिङ सिल्डमा १५ सय मिटर दौड ५ मिनेट १० सेकेन्डमा पार गरेर नयाँ रेकर्ड राखिन् ।

यो कीर्तिमानी जितपछि उनी पनि हरिबहादुर रोकायाकै कर्णाली स्पोर्ट्स क्लबमा जोडिन पुगिन् । ‘स्कुलकै वार्षिकोत्सवमा हुने दौडमा भाग लिँदालिँदै राष्ट्रपति रनिङ सिल्डमा कीर्तिमान बनाएपछि हरि गुरुले प्रशिक्षणमा आबद्ध गराउनुभयो,’ उनले सुनाइन्, ‘अहिले उहाँकै बाटोमा अघि बढिरहेकी छु ।’ कर्णालीका धावक धाविकाको सपना पूरा गर्न कर्णाली स्पोर्ट्स क्लबले जुम्ला–रारा अल्ट्रा म्याराथनको वर्षैपिच्छे आयोजना गर्न थाल्यो । ०७८ मा भएको चौथो संस्करणमा उनी तेस्रो भइन् । जुम्लादेखि रारातालसम्मको ४९ किलोमिटर दूरी पार गर्न उनलाई ६ घण्टा १२ मिनेट लागेको थियो । ०८० सालमा आयोजित जुम्ला–रारा अल्ट्रा म्याराथनमा ६ घण्टा ६ मिनेट लगाएर प्रथम स्थान हासिल गरिन् ।

०७९ सालमा रुकुम पश्चिममा गुरिल्ला म्याराथनमा उनी प्रथम भइन् । ३४ किलोमिटर दूरी ३ घण्टा ३५ मिनेटमा पार गरिन् । ०७९ मा पोखरामा भएको ४२ किलोमिटर फिस्टेल म्याराथनमा ५ घण्टा ३० मिनेटमा पूरा गरी प्रथम भइन् । ०७९ मै काठमाडौंमा आयोजित ५४ किलोमिटर दूरीको स्तूपा म्याराथन ६ घण्टा ५७ मिनेटमा पार गर्दै प्रथम भइन् । ०७९ सालमा मञ्जुले निरन्तर म्याराथनका ३ इभेन्टमा भाग लिँदै सबैमा प्रथम भइन् । गत मेमा सोलुखुम्बुमा आएको एभरेस्ट म्याराथनमा ५ घण्टा ३० मिनेटमा ५० किमि दूरी पार गर्दै उनी प्रथम भइन् ।

‘दौडमा नाम कमाइन्छ । तर कहिलेकाहीं रकम अभावका कारण निकै समस्या झेल्नुपर्ने हुन्छ,’ मञ्जु भन्छिन् । उनले नेपालमा हुने हरेक इभेन्टमा भाग लिने सोचमा छिन् । ‘आगामी दिनमा देशविदेशमा हुने म्याराथनमा भाग लिने सोचिरहेको छु । कीर्तिमानी कायम गरेर विश्वसामु नेपाल चिनाउने धोको छ,’ आठ जनाको सामान्य परिवारमा जन्मेहुर्केकी मञ्जु भन्छिन् ।

                                                                                   ***

जुम्लाकै कनकासुन्दरी–६ पछाइबाडाकी राजपुरा पछाई पनि म्याराथनकी आसलाग्दो खेलाडी हुन् । सानैदेखि फौजी बन्ने सपना बोकेकी उनलाई प्रहरीको बर्दीले खुब आकर्षित गर्थ्यो रे । प्रहरी हुने सपना बोकेर १३ वर्षदेखि नै दौड्न सुरु गरेकी उनलाई त्यही तयारीले खेलाडी बनायो । ‘मैले दौड पनि खेल हो भनेर धेरै पछिमात्र थाहा पाएँ,’ उनले सुनाइन्, ‘पुलिसमा भर्ना हुने उमेर नहुँदा पनि दौडको तयारी गरें, अहिले खेलाडी र फौजी दुवै बन्ने रहर पूरा गरेकी छु ।’

गोकर्ण फरेस्ट रिसोर्टमा ०७९ फागुनमा भएको दौड प्रतियोगितामा राजपुराले महिला सिनियरको एकलतर्फ रजत र टिम स्पर्धामा पुष्पा भण्डारी तथा विन्द्राधान्के श्रेष्ठसँग मिलेर रजत पदक जितिन् । १० किलोमिटर क्रसकन्ट्री रेस ४१ मिनेटमा पार गर्दै नेपाललाई एसियास्तरमा रजत पदक दिलाइन् । ०७८ फागुनमा भारतको नागाल्यान्डमा सम्पन्न दक्षिण एसियाली क्रसकन्ट्रीमा पनि दोस्रो भइन् । अहिले राजपूरा नेपाली एथलेटिक्समा लामो दूरीकी परिपक्व र स्थापित खेलाडी हुन् । ०७२ माघ ३ मा नेपाल प्रहरीमा छिरेकी उनी प्रहरी जवान हुन् । ०७३ मंसिरदेखि पुसिल क्लबमा आबद्ध भएर दौडमा आधा दशकको करियरसमेत बनाएकी छन् । ०७६ मा आठौं राष्ट्रिय खेलकुदमा २२ वर्षको उमेरमै म्याराथनमा स्वर्ण जितेकी उनले १० हजार मिटरतर्फ रजतपदक जितेकी थिइन् ।

पछिल्लो समय लामो दूरीमा ५ हजार, १० हजार र हाफ म्याराथनमा निकै नै व्यस्त धावक हुन् राजपुरा । ०७६ वैशाखमा आठौं राष्ट्रिय खेलकुदको दाङमा भएको १० किलोमिटर दौडमा दोस्रो भइन् । दाङमै भएको ४२ किमि म्याराथन २ घण्टा ५९ मिनेटमा पार गर्दै स्वर्ण पदक जितिन् । ०७९ मा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा उनले ५ र १० हजार मिटरमा रजत जितेकी थिइन् । सोही वर्ष बंगबन्धु ढाका हाफ म्याराथनदेखि प्रधानसेनापति म्याराथन र पोखरा म्याराथनको हाफ म्याराथनमा पनि उपाधि जितिन् । उनले ०७९ मा म्याराथनमा ह्याट्रिक नै गरिन् ।

एसियन क्रसकन्ट्रीका लागि छनोट प्रतियोगिताको उपाधि जितेकी उनले विभिन्न प्रतियोगिता जित्दै जाँदा थप दौड्ने आँट आइरहेको बताइन् । ‘राम्रो अभ्यास, तयारी र स्तरीय प्रशिक्षण भएको खण्डमा अझै राम्रो गर्न सक्छु जस्तो लाग्छ,’ ५ हजार र १० हजार मिटरमा आफूलाई सहज मान्ने उनी भन्छिन्, ‘खेलकुद क्षेत्रमा भविष्य नदेखेकालाई खेलकुद क्षेत्रमा लाग्न प्रेरणा बन्ने मेरो उद्देश्य हो ।’ ०८० मा भएको २१ किलोमिटर कान्तिपुर म्याराथनमा १ घण्टा १९ मिनेटमा पार गर्दै राजपुराले स्वर्ण पदक दिलाइन् । उनले ०७९ को कान्तिपुर म्याराथनमा पनि स्वर्ण पदक नै जितेकी थिइन् ।

                                                                                        ***

चन्दननाथ नगरपालिका–१ तलिचौरकी २४ वर्षीया सीता न्यौपानेले पहिलो पटक ०६८ चैतमा नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको राष्ट्रपति रनिङ सिल्डमा १ सय मिटर दौडमा भाग लिएकी थिइन् । १५ वर्षकी उनले उक्त दौड १५ सेकेन्डमा पार गरेर प्रथम भइन् । यही सफलता उनका लागि भविष्य कोर्ने खुडकिला बनिदियो । सन् २०१७ मा गोदावरी फेस्टिभल म्याराथनमा पनि ३० किलोमिटर दूरी ६ घण्टा ५६ मिनेटमा पूरा गरी पहिलो भइन् ।

अहिलेसम्म सीताले झन्डै दुई दर्जन बढी दौडका इभेन्टहरूमा भाग लिइसकेकी छन् । गोदावरीमा भएको म्याराथनअघि उनले सन् २०१४ मा जुम्ला रारा अल्ट्रा म्याराथनमा ८ घण्टा १५ मिनेटमा ४९ किलोमिटर पार गरेर तेस्रो भएकी थिइन् ।

सीताले सन् २०१७ मा धरान रनको १० किमि दूरीको दौडमा पहिलो पटक भाग लिँदै प्रथम भइन् । २०१८ मा पोखरामा भएको ५० किलोमिटर दूरीको अन्नपूर्ण ट्रेल रेसमा दोस्रो भइन् । ०७८ मा भारतको राजस्थानमा भएको २१ किलोमिटर माउन्ट हाफ म्याराथनमा उनले ५ औं स्थान हासिल गरिन् । लगत्तै स्विट्जरल्यान्डमा दौड्नका लागि अवसर मिले पनि पासपोर्ट नहुँदा जान पाइनन् । ‘दौडिएर मलाई फाइदै भएको छ, जुम्लामा गरेको दौड अभ्यासले थप सफलता दिलाउँदै गएको छ,’ उनले भनिन्, ‘अब जे गर्छु खेलकुदकै लागि गर्छु, दौडिएर कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको पदक दिलाउने ठूलो धोको छ ।’ उनले पढाइ र दौडलाई सँगसँगै अघि बढाएकी छन् । ‘पढाइलाई पनि नबिगारी दैनिक दौड अभ्यास गरिरहेको छु,’ उनले भनिन्, ‘हामी खेलाडीका लागि सबैभन्दा समस्या पोषणयुक्त खाना, पोसाक र जुत्ताको हुन्छ ।’

अहिले सीताले कर्णाली स्पोर्ट्स एकेडेमीमा सहायक प्रशिक्षक भएर प्रशिक्षणसमेत दिइरहेकी छन् । उनले प्रशिक्षण दिइरहेका २६ जनाले अहिले जुम्लामै दौड अभ्यास गरिरहेका छन् । ‘जुम्ला विश्व कीर्तिमानी धावक हरिबहादुर जन्माएको जिल्ला हो, तर यहाँका सरोकारवालाले खेलकुद बुझेकै छैनन्,’ उनले भनिन्, ‘सरकारीस्तरबाट खेलाडी प्रोत्साहनका कार्यक्रम नहुँदा विभिन्न समस्या व्यहोरिरहेका छौं ।’

भौगोलिक रूपमा विकट र अभावै अभावमा जेलिए पनि कर्णालीले क्रमशः गुणस्तरीय खेलाडीहरू जन्माइरहेको ओलम्पियन हरिबहादुर रोकाया बताउँछन् । उनले कर्णालीलाई काठमाडौंले हेर्ने नजर फरक भए पनि यथलेटिक्सबाट आफ्ना प्रशिक्षार्थीले कर्णालीलाई विश्वसामु चिनाइरहेको बताए ।

‘अभाव, अशिक्षा, पर्याप्त खानेकुराको अभावलगायत चुनौतीबीच पनि यिनीहरूले मलाई पनि दौडमा केही गर्न आँट दिइरहेका छन्,’ उनले भने, ‘हिमपातको बेला होस् या झरी हाम्रा खेलाडीले कहिल्यै दौड रोकेनन्, जसका कारण सबैले राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाइरहेका छन् ।’ उनले कर्णालीका खेलाडीलाई थप सक्षम बनाउन सरकारी निकायले कुनै वास्ता नगरेको गुनासो गरे ।

आगामी वर्ष कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएकाले एथलेटिक्समा कर्णालीका खेलाडीबाट राम्रो नतिजा आउने आशा गरेको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले बताए ।

‘कर्णालीका खेलाडी भोकैप्यासै भए पनि हिउँ पानी केही नभनी दौडिरहेका छन्, भौगोलिक रूपमा विकट ठाउँमा दौडिएकाले यहाँका खेलाडीका लागि विश्वको जुनसुकै भूगोल पनि अनुकूल हुन्छ,’ उनले भने, ‘आगामी राष्ट्रिय खेलकुदमा यहाँका खेलाडीले घरेलु मैदानको फाइदा उठाएर जतिसक्दो धेरै पदक दिलाउने अपेक्षा छ, त्यसका लागि सबै जिल्लामा कुन खेलकुदको के सम्भावना छ भनेर अध्ययन गरिरहेका छौं, त्यसपछि खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।’





error: Content is protected !!