चैते धानको परीक्षण सफल

सल्यान ः कुमाख गाउँपालिका–२, मर्म खोलामा चैते–५ धानको सफल परीक्षण भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यानका हेमन्त रावतका अनुसार धानका बाला राम्रो लागेकाले यो जातको धानको परीक्षण सफल भएको हो। परीक्षणका लागि तीन रोपनी क्षेत्रफलमा लगाएको धानको उत्पादन बर्खे धानको भन्दा राम्रो उत्पादन भएको छ। कुमाखमा प्रतिहेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको छ। यहाँको हावापानी, नदी किनार, पर्याप्त सिँचाइ सुविधा, मौसम अनुकूल हुँदा अपेक्षाभन्दा राम्रो उत्पादन भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यानका प्रमुख श्रीकृष्ण न्यौपानेका अनुसार धान जोन कार्यक्रम भएको कुमाखमा पहिलो पटक चैते धानको परीक्षण गर्दा सफल भएको हो। आगामी दिनमा सल्यानका वनगाड, शारदालगायतका क्षेत्रमा धानको परीक्षण गरिने छ। कुमाख गाउँपालिका–२, जनमैत्री कृषक समूहकी अध्यक्ष कुमारी बुढाथोकीले बर्खे धानभन्दा चैतमा लगाएको धानको उत्पादन राम्रो भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले वर्षामा मात्र धान लगाउँदै आइरहेका थियौँ तर चैतमा लगाएको धानले वर्षामा लगाएकोलाई पनि उत्पादनमा जित्दो रहेछ। सल्यानको कालीमाटी गाउँपालिका शारदा खोला किनारका रामपुर, काल्चे, कालीमाटी क्षेत्रका किसानले भने वर्षौंदेखि चैते धानको खेती गर्दै आएका छन्।” कालीमाटी गाउँपालिका–५ का वडाध्यक्ष टोपबहादुर कार्कीले यो वर्ष १० रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको र उत्पादन राम्रो भएको बताउनुभयो।

कालीमाटीकै कृषक मानबहादुर खत्रीले चैते धान भित्र्याउनेबित्तिकै बर्खे धान लगाएको जानकारी दिनुभयो। क्षेत्रका किसानले गत फागुनमा रोपेको मकै पाकेर पनि भित्र्याइसकेका छन्। शारदा नदी किनारमा रहेका यो क्षेत्रका फाँटमा सिँचाइ समस्या छैन। पछिल्लो वर्षयता चैते धान खेतीलाई विस्तार गर्दै लगेका किसान राम्रो धान फल्ने भएपछि उत्साहित छन्।





error: Content is protected !!