उपल्लो डोल्पाका गुम्बाबाट फेरि सम्पदा चोरी

काठमाडौँ — उपल्लो डोल्पाको से–फेक्सुन्डो गाउँपालिकामा रहेको देचेन लापराङ र शे–चाखाङ गुम्बाबाट गत साता पुरातात्विक महत्वका सम्पदासहित खरखजाना, मूर्ति चोरी भएको छ ।

पछिल्ला केही वर्षमा मात्रै उपल्लो डोल्पाकै धो–तरपस्थित गाकार गुम्बा, लाङ गुम्बा, मार्गम गुम्बासहितबाट दर्जनौं पुरातात्विक सम्पदाहरु चोरिएको सूचना बाहिर आए पनि सम्पदा संरक्षण–सम्वर्द्धनमा राज्यको चासो नदेखिएकोमा संसद्मा पनि यो सरोकार उठेको छ । देचेन लापराङ र शे–चाखाङ गुम्बाबाट गत असार ८ र ९ गते राति हतियाधारी समूह आएर सम्पदा लुटपाट गरेकोबारे डोल्पाका सांसद धनबहादुर बुढाले प्रतिनिधि सभा बैठकमा सरोकार राखेका छन् ।
उपल्लो डोल्पावासी रिम्पोचे सेइ नामखाई दोर्जीका अनुसार ब्रिटिश अध्येता डा. डेभिड स्नेलग्रोभले लेखेको ‘द फोर लामाज अफ डोल्पो’ पुस्तकमा समेत उल्लेख गरिएको विशिष्ट महत्वको देचेन लापराङ गुम्बामा ३ पुस्तादेखिका लामाहरु बस्दै आएका थिए । हतियारधारी समूहले देचेन लापराङ र शे–चाखाङ गुम्बामा मध्यरातमा प्रवेश गरेर पूजारीहरुलाई कुटपिट गर्नुका साथै सम्पदाहरु चोरेर लगेका थिए ।

उपल्लो डोल्पामा रहेका बौद्ध सम्पदा र गुम्बाबारेमा अन्वेषण गर्दै आएकी बेलायती सोधकर्ता डा। एमिलिन स्मिथले आफू एक साताअघि मात्रै उपल्लो डोल्पामा अध्ययन भ्रमण सकेर फिरेको जानकारी दिँदै विश्व सम्पदाका रुपमा कहलिन सक्ने यो क्षेत्रको सम्पदा सुरक्षामा सरोकार सम्बद्ध सबैको ध्यान जानुपर्ने बताइन् । स्मिथले डोल्पाबाट हराउँदै गएका सांस्कृतिक सम्पदाका बारेमा ‘पेमा र डोल्पाबाट चोरिएका मूर्ति’ नाममा चित्रकथा पुस्तक पनि निकालेकी छन् ।

यस्ता विशिष्ट बौद्ध धार्मिक सम्पदा, गुम्बासहितको व्यवस्थापनमा नेपाल गुम्बा व्यवस्थापन समितिले हेरदेख गर्ने भए पनि समितिमा उपल्लो डोल्पाकै दर्जनौं गुम्बाहरु अझै सूचीकृत हुन सकेका छैनन् । समितिमा डोल्पाका १ सय १८ वटा गुम्बा मात्रै दर्तामा छन् ।





error: Content is protected !!