वन्यजन्तुको तिर्खा मेटाउन पोखरी

बर्दिया निकुञ्जमा १ सय ८० र पर्सा निकुञ्जमा ८० पोखरी निर्माण
बर्दिया‚ पर्सा — गर्मी र सुक्खाले मान्छेलाई मात्र अत्याएको छैन, वन्यजन्तुसमेत पानीको खोजमा भौंतारिरहेका छन् । प्यासले छटपटिएका वन्यजन्तुको तिर्खा मेटाउन बर्दिया र पर्सा राष्ट्रिय निकुञ्जभित्र कृत्रिम पोखरी निर्माण गरिएका छन् ।
बर्दिया निकुञ्जभित्र १ सय ८० वटा पोखरी निर्माण गरिएको छ । निकुञ्जका मुख्य फाँटा नजिक यस्ता पोखरी निर्माण गरिएका हुन् ।
पोखरी नजिक मचान बनाइएका छन् । बाघ अवलोकनका लागि पर्यटक दिनभर मचानमा बस्छन् । करिब तीन दशकदेखि बर्सेनि ५र६ वटा पोखरी निर्माण भइरहेका छन् । यसले बाघको संख्या वृद्धिमा सघाएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । ‘पोखरी र घाँसे मैदान व्यवस्थापनले वन्यजन्तुबीच आहार र पानीका लागि हुने द्वन्द्वमा कमी आएको छ,’ उनले भने, ‘बाघका आहारा प्रजातिको संख्या पनि बढेको छ ।’
यहाँ निर्मित पोखरी बाघ अवलोकन गन्तव्य बनेको ठाकुरद्वाराका भीम चौधरीले बताए । ‘दिनमा एक पटक बाघ पोखरीमा पानी पिउन आउँछ,’ उनले भने, ‘पोखरीकै कारण बाघ अवलोकन सहज भएको छ ।’ निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट चिसापानीतर्फ फाँटामा प्रशस्त पोखरी छन् । उक्त क्षेत्रमा रहेका बघौरा, लामीताल, लम्कोइली फाँटामा पोखरी छन् । धनेश र खोदाउ तालमा प्रायः वन्यजन्तु भेटिने गरेको उनले बताए ।
निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेका अनुसार निकुञ्जको ठूलो हिस्सा चुरेअन्तर्गत छ, जसले गर्दा बाढी आएका बेला खोला पुरिने गरेका छन् । ‘निकुञ्जअन्तर्गत कर्णाली र बबई नदी छन्,’ उनले भने, ‘वन्यजन्तुको बासस्थानबाट नदी टाढा छन् ।’
न्यौपानेका अनुसार मानव निर्मित पोखरीमध्ये ४५ वटामा बाह्रैमास पानी उपलब्ध गराउन बोरिङ राखिएको छ । बोरिङ चलाउन सोलार ९सौर्य ऊर्जा० जडान गरिएको छ । यसबाहेक वर्षात्को पानी संकलन गर्न पोखरी निर्माण गरिएको उनले बताए । यस्ता पोखरी ५० देखि १ सय मिटर लम्बाइका छन् । दुई मिटर गहिरा छन् । ‘धेरैजसो पोखरी कर्णाली फ्लड प्लेनमा छन्,’ उनले भने, ‘यसपालिदेखि बबई उपत्यकामा केन्द्रित भएका छौं ।’ आगामी आर्थिक वर्ष बबई उपत्यका, लामी दमार, गुठी र रम्बाभार क्षेत्रमा पोखरी निर्माण गरिने उनले जनाए । एउटा पोखरी निर्माणमा १५ देखि १७ लाख रुपैयाँसम्म खर्च भइरहेको उनले बताए ।
उनका अनुसार अहिले पोखरी निर्माण र घाँसे मैदान व्यवस्थापनका लागि निकुञ्ज, तराई भू–परिधि कार्यक्रम ९ताल०, प्रकृति संरक्षण कोष, जेडएसएल नेपाल र एकीकृत भू–परिधि योजना ९इलम० ले आर्थिक र प्राविधिक सहयोग गरिरहेका छन् । ‘वन्यजन्तुका लागि पानी प्रथम र अपरिहार्य हो,’ निकुञ्ज विभागका महानिर्देशक डा। महेश्वर ढकालले भने, ‘पानी भएन भने प्राण रहँदैन, मान्छे र वन्यजन्तुका हकमा समान आवश्यकता हो ।’
यस्तै पर्सा राष्ट्रिय निकुञ्जमा पनि वन्यजन्तुलाई कृत्रिम पोखरीबाट पानीको व्यवस्था गरिएको छ । सातायता एक पटक पनि पानी नपरेपछि दैनिक ट्यांकरबाट कृत्रिम पोखरीमा पानी हालेर वन्यजन्तुको प्यास मेट्ने गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत बताउँछन् ।
निकुञ्ज कार्यालय रहेका आधाभार क्षेत्रवरपर तथा भेडाहा खोलादेखि महादेव खोलासम्मको क्षेत्रमा पानीको चरम अभाव छ । ‘अमलेखगन्जरआधाभार क्षेत्रभन्दा बाहिर केही वर्षा भएको छ,’ उनले भने, ‘साताअघि हल्का वर्षा भएको थियो तर वन्यजन्तुको बढी बसोबास भएको क्षेत्रमा भने सातायता पानी परेको छैन ।’
निकुञ्जमा ३० आरसीसी र ५० माटोका गरी ८० पोखरी बनाइएको छ । माटोका पोखरीमा हल्खोरिया, मिनी हल्खोरिया तथा काली दहलाई पनि गणना गरिएको छ । निकुञ्ज कार्यालय रहेको आधाभार क्षेत्र तथा भेडाहा खोलादेखि महादेव खोलासम्मको क्षेत्रका पोखरीमा पानी हाल्ने गरिएको छ । चुरेको फेदमुनि पानीको समस्या नभए पनि फायर लाइनदेखि ५र७ किमी दूरीको क्षेत्रमा भने पानीको चरम अभाव छ । सिमेन्टबाट बनाएका पोखरीमा लामो समय पानी सञ्चय हुने भएकाले केही वर्षयता निकुञ्जमा सिमेन्टकै पोखरी बनाउने गरिएको भगत बताउँछन् । माटोको पोखरीमा सुक्खायाममा लामो समय पानी भण्डारण हुन नसक्ने भएकाले लामो समय पानी जोगाइराख्न सिमेन्टकै पोखरी निर्माणमा जोड दिएको उनले बताए । पर्सा, बारा र मकवानपुरमा गरी ६ सय २७ दशमलव ३९ वर्गमिटरमा फैलिएको निकुञ्जमा राप्ती र भाठा खोलाबाहेक अन्य खहरे खोलामा वर्षैभरि पानी उपलब्ध हुँदैन ।
निकुञ्जमा लौकी, कामिनी, हल्खोरिया र काली गरी चार प्राकृतिक दह छन् । वन्यजन्तुले पानी पिउन पनि लामो यात्रा गर्नुपर्ने भएकाले निकुञ्ज प्रशासनले केही वर्षयता कृत्रिम पोखरी निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए । निकुञ्जको महादेव पोस्टनजिक महादेव खोलाबाट केही पोखरीमा पाइपबाट पानीसमेत लगिएको छ । निकुञ्जमा ३७ प्रजातिका स्तनधारी, ४ सय ९० प्रजातिका चराचुरुंगी, १३ प्रजातिका सरिसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।



