दैलोमै कर्नाली ः पिऊँ भन्या पानी नाइँ

हुम्लाका सात स्थानीय तहमध्ये बस्तीमुनि कर्णाली बगेका अदानचुली, तााजाकोट, सर्केगाड र चंखेली गाउँपालिकामा खानेपानीका लागि महाकष्ट
अदानचुली, हुम्ला — कर्णाली किनारमा उखरमाउलो गर्मी थियो । नीलो कर्णाली हुम्लाबाट दक्षिणतर्फ आफ्नै सुरमा बगिरहेको थियो । हामी कर्णाली नदीकै समानान्तर पारेर बनाएको करिडोर हुँदै बाजुराबाट हुम्लातर्फ अघि बढ्दै थियौं ।
हिमाली जिल्ला भए पनि कर्णाली तीरैतीरको बाटोले खाडीको कुनै मरुभूमि हिँडेको भान गराउँथ्यो । पैताला आगोमा टेकेजस्तो रापले पोलिन्थे । बेलाबेला थकाइ मार्दै जुत्ता र मोजा खोलेर केही समय चिस्याएपछि मात्र अगाडिको यात्राका लागि पाइला सर्थे । त्यति लामो बाटोभरि छहारी दिने रूख विरलै भेटिन्थे ।
अदानचुली गाउँपालिकाको गल्वागाडबाट केही सय मिटर उत्तर लागेपछि एक महिला देखिइन् । उनको पिठ्यूँमा २० लिटर पानीको जर्किन थियो । छातीमा सानो कुम्लो पारेर बच्चा बोकेकी थिइन् भने टाउकोमाथि राखेको बायाँ हातमा अर्को एक लिटर पानी भरिएको बोतल थियो । खाली रहेको दायाँ हातले बेलाबेला सँगै हिँडिरहेकी सानी छोरीलाई घचेट्दै उनी छिटो हिँड्न दबाब दिइरहेकी थिइन् । चार वर्षीया ती नानीलाई ५ लिटर पानी भरिएको जर्किनको भारी बोक्न धौ–धौ भइरहेको थियो ।
गर्मीले असिनपसिन आमाछोरीका निधारबाट खलखली पसिना बगिरहेको थियो । कपडाले बाँधेर काखमा बोकेको बच्चालाई पनि उकुसमुकुस भइरहेको थियो । दिउँसो साढे १२ बजेको तालु पोल्ने घाममा यसरी हिँड्ने महिला १७ वर्षीया एलिना थापा थिइन् । अनि जर्किन बोकेर हिँड्ने बालिका उनकी छोरी एलिसा थिइन् । अदानचुली–१ का उनीहरू गल्वागाड नजिकको एउटा मुहानबाट पानी भरेर आफ्नो घर थापागाउँ जाँदै थिए । पानीको मुहानबाट उनको घरसम्म पुग्न करिब एक घण्टा पैदल हिँड्नुपर्ने रहेछ ।
एलिनाले घरमा हेरिदिने मान्छे नभएकाले सधैंजसो छोरी काखमै बोकेर पानी लिन जाने गरेको बताइन् । ‘घाम छ भनेर भयो त रु पानी नखाइ हुँदैन,’ संवाददातासँग एलिनाले भनिन्, ‘दया मान्या भया हाम्रा गाउँमा धारा बनाइ देउपन ।’ बिहान र साँझ मुहानमा पानी भर्नेको लाइन हुने भएकाले दिउँसो पानी लिन जाँदा सजिलो हुने गरेको सुनाउँदै उनले ४ वर्षीया छोरी पनि प्रत्येक दिन आफैंसँग पानी भर्न लिनु बाध्यता भएको उनले बताइन् ।
‘पानीका साह्रै दुःख छन्, थोपा थोपाको हिसाब गरेर पिउनुपर्छ । बच्चाको माया लागेर के गर्नु रु पानी बोकेर मात्रै हुँदैन । घरमा अरू पनि काम हुन्छ,’ उनले ठट्यौली पारामा भनिन्, ‘नाबालक भनेर भयो त, यो पनि त पानी पिउँदिछ (पिउँछे) ।’ गाउँनजिक पानीको स्रोत नभएकाले रातबिरात भए पनि पानीका लागि तड्पिनुपर्ने अवस्था रहेको सुनाउँदै उनले यहाँ महिला र बालबालिकाले पानीकै लागि एक घण्टा टाढा दौडधुप गर्ने गरेको बताइन् ।
हुम्लाको दक्षिणवर्ती अदानचुली जलस्रोतमा धनी स्थानीय तहका रूपमा रहेको गाउँपालिकाको पार्श्वचित्रले देखाउँछ । तिब्बतबाट यारी नाका भएर कर्णाली यही गाउँपालिका हुँदै बग्छ । जिल्ला पार्श्वचित्रमा हुम्लाका १० प्रतिशत परिवारमात्रै व्यवस्थित खानेपानीको पहुँच बाहिर रहेको दाबी गरिएको छ । अदानचुलीको पार्श्वचित्रमा मात्रै १ सय ६० परिवार अर्थात् १२ प्रतिशत टाढाको मुहान र खोलाको पानी खाने गरेको उल्लेख छ, जुन तथ्यांक झूटो भएको जनप्रतिनिधि नै बताउँछन् । ‘अहिले त मुहानको पानी छ । रुडा पडे (खडेरी) भए त्यो पनि सुकिजान्छ । हामीले कर्नालीको पानी खानुपर्छ,’ थापागाउँका एक अगुवा धनसिं थापाले भने, ‘पानीका दुःखका क्या कुरा गर्नु हजुर । यहाँका मान्ठ (मानिस) को आधा जुनी त पानी बोक्दै बितिजाँदो छ ।’ वडा १ को थापाबाडा, बुढाबाडा, छत्यालबाडा, चिउरेवाडालगायत गाउँमा खानेपानीको चरम अभाव रहेको बताउँदै उनले यहाँका दुई सयभन्दा बढी परिवारले पानीकै लागि रातदिन दुःख खेप्नुपरेको सुनाए ।
यस पालिकामा श्रीनगरसहित, कल्खृ, लमै, मकैलगायतका बस्ती सुक्खा क्षेत्रमा पर्छन् । पालिकाले यी क्षेत्रका ८८ प्रतिशत घरमा धाराको खानेपानी पुगेको दाबी गरे पनि व्यवहारमा भने स्थानीयले पानीकै लागि खेप्नुपरेको भनिसाध्य छैन । गाउँपालिकाभरि नै खानेपानीको समस्या रहेको र समाधानका लागि प्रयास भइरहेको पालिका उपाध्यक्ष कर्ण रोकायाले बताए । ‘समस्या त पालिकाभरि नै छ तर वडा १ (साविकको श्रीनगर गाविस) मा बढी समस्या हो । त्यहाँका मान्छेले पहिलादेखि नै कुलोको पानी खाइरहेका छन्,’ उनले भने, ‘हामीले प्रदेश सरकारलाई पनि समाधानका लागि भनेका छौं । पालिकाका तर्फबाट पनि बजेट छुट्याउने सल्लाह गर्दै छौं ।’ यहाँका कतिपय गाउँमा अहिलेसम्म खानेपानीका कुनै आयोजना नबनेको, परम्परागत मुहान सुकेको र पानीको मात्रा घटेका कारण सास्ती भइरहेको उनले बताए ।
अदानचुली गाउँपालिकाको गल्वागाडबाट कर्णालीको तीरैतीर चार घण्टा यात्रा गरेपछि बाजुराको कवाडी बजार पुगिन्छ । त्यहींबाट हुम्लाको ताँजाकोट गाउँपालिका जाने सडक छुटिन्छ । कर्णाली करिडोर छाडेर ठाडै उकालो र घुमाउरो सडक हुँदै करिब २० किलोमिटर यात्रा गरेपछि पालिकाको केन्द्र रहेको मैलाखोला पुगिन्छ । यहाँ पनि खानेपानीको समस्या उस्तै छ । बाटाभरि साना नानी काखमा बोकेर सकिनसकी पानी लिएर फर्कंदै गरेका र पानी लिनका लागि रित्ता भाँडा बोकेर मुहानतर्फ जाँदै गरेका महिला र बालबालिका भेटिन्छन् ।
ताँजाकोट–१ देखि ५ मा पर्ने मैला, छप्रेला, च्याखुरेगाउँ, थारमारे, थापागाउँ, नयाँबस्ती, ल्वारबाडा, भ्यालबाडा र चौथारीबाडा गाउँ घुम्दा पानीको समस्या नभएको कुनै गाउँ नै भेटिएन । ‘अरुकन (अरूलाई) त एक घण्टा पनि लाग्दैन । मत दिउँसै गयाकी हुँ । अहिले भर्खर पुग्याँ,’ सामान्य मान्छेलाई एक घण्टा लाग्ने ठाडो उकालो तीन घण्टाभन्दा बढी समय लगाएर २० लिटरको जर्किनमा पानी ल्याइपुर्याएकी नौ महिने गर्भवती पम्फा दमाईले सुस्केरा हाल्दै भनिन्, ‘१० ठाउँ चक्कर (रिङ्टा) लाग्या । पानी बोक्दाबोक्दै कै (कुन) दिन प (पो) बाटैमा मर्ने हुँ ।’ गाउँका २० परिवारले उपयोग गर्ने कुवा खडेरी पर्दा सुक्ने गरेको बताउँदै उनले त्यो पानी सुके अझै टाढा जानुपर्ने सुनाइन् । ‘नजिक पानी मात्रै भैदिया पनि हाम्रा आधा दुःख हटिजान्या थ्या,’ उनले दुखेसो पोखिन् ।
घण्टौं टाढाबाट बोकेर ल्याएको पानीले जेनतेन प्यास मेटाउने भए पनि कुवा र खुला स्रोतको पानी फोहोर हुने भएकाले विभिन्न खालका संक्रामक रोगले सताउने गरेको स्थानीयवासीले बताए । ‘पानी भर्नाका लागि कुवामा लुछालुछ हुन्छ,’ चौथारीवाडाकी लालजु नेपालीले भनिन्, ‘छिटो पुग्यो भने अलि सङ्लो पानी भर्न पाइन्छ । ढिलो गयो भने त लेदो भरेर फर्किनुपर्छ । यही पानी खाएर त होला । घरमा दिनको एकजना बिरामी कहिल्यै टुट्दैन ।’ फोहोर पानीका कारण पेट दुख्ने, आउँ पर्ने, झाडापखाला लाग्ने, टाइफाइड जस्ता रोगले नियमितजसो सताउने गरेको सुनाइन् । ‘मान्ठका के कुरा गर्नु हुन्छ । यही पानी खाएर कहिलेकाहीं गोरुभैंसा (गाईबस्तु) पनि बिरामी हुन्छन् । अन्त पानी छैन, जस्तो भए पनि खानै पर्यो,’ उनले भनिन् ।
गाउँपालिका कार्यालय नजिकै चियापसल चलाउने अनिता खड्काले राति उठेर पानी भर्दा पनि होटलवालाबीच हारालुछ हुने गरेको बताइन् । ‘पानी भर्नकै लागि मैले राति सुत्नै छोडिसकेकी छु,’ उनले भनिन्, ‘दिउँसो गाउँका मान्छेकै भीडभाड हुन्छ, राति ११ बजेदेखि बिहान ४ बजेसम्म पानी नभरे भोलिपल्ट होटल नै बन्द गर्नुपर्छ ।
ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी पालिकाको बजेटबाट ठूलो योजना बनाउन नसक्ने र संघीय सरकारअन्तर्गतको खानेपानी डिभिजन कार्यालय जुम्लाले झूटा आश्वासन दिएको आरोप लगाउँछन् । ‘१ देखि ५ नम्बर वडासम्मका सबै घरधुरीलाई पुग्ने गरी १४ करोडको बृहत् खानेपानी योजना आएको छ भनेर डिभिजन कार्यालयले हामीलाई ढाँट्यो,’ उनले भने, ‘नभए खानेपानीको यस्तो विकराल समस्या छ । हामी पनि केही उपाय लगाइहाल्थ्यौं ।’
खानेपानी डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रप्रसाद भट्टले कार्यालयले झुक्याएको नभई गत वर्ष सेवा विस्तार तथा पुनःस्थापनामा ७ लाखमात्रै बजेट आएकाले कार्यान्वयन गर्न नसकिएको बताए । यस वर्षका लागि मासपुर ताँजाकोट बृहत् खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन खानेपानी विभागबाट समेत स्वीकृत भइसकेको र २० करोड हाराहारी रकम माग गरिएको उनले बताए ।
हुम्लाका सात स्थानीय तहमध्ये तल्लो हुम्ला भनेर चिनिने अदानचुली, ताँजाकोट, सर्केगाड र चंखेली गाउँपालिकामा खानेपानीका दुःख उस्तै छन् । लामो समयसम्म तल्लो हुम्लाको प्रशासनिक र व्यापारी केन्द्रका रूपमा रहेको सर्केगाड बजारमा पानीको अभाव झन् चर्को छ । स्थानीय अहिले पनि कर्णाली नदीकै पानी खान बाध्य छन् । कर्णाली राजमार्गमा पर्ने सर्केगाड गाउँपालिकाको बालुकुना प्रहरी चौकीमा कार्यरत धर्मराज जोशीेले कर्णालीपारि मुगुको सोरु गाउँपालिका घर भई चौकीनजिकै व्यापार गर्ने एक जनाले उतैको मुहानबाट पाइप तानेर ल्याएको पानी खाइरहेको बताए । ‘ती व्यापारी यहाँ आउनुभन्दा पहिला त हामीले पनि आधा घण्टा हिँडेर कर्णालीकै पानी खाइरहेका थियौं,’ उनले भने ।
कर्णाली किनारका बासिन्दा भएर पनि पानीका दुःख कहिल्यै नछुटेको कुरा देउडा गीतमा सुनाउँदै सर्केगाडकी वृद्धा पानमती शाहीले भनिन्, ‘धेलाउँदो कर्नाली बग्दो पिउँ भन्या पानी नाई, सुन लाउन्याँ रहरै थियो, हिंथी सुनखानी नाई ।’ अर्थात् दैलोमा कर्णाली बग्छ, पिउँ भने पानी छैन, सुन लाउने रहर थियो यहाँ सुनखानी छैन । जीवन पानीकै चिन्तामा बिताउनु परेको पीडा सुनाउँदै उनले मुलुकमा जुनसुकै शासन व्यवस्था आए पनि यहाँको पानीको समस्या कहिल्यै समाधान नभएको गुनासो गरिन् । ‘विकास आयो, व्यवस्था फेरियो भन्छन् । हामीलाई खोलाको पानी खान छुटेको छैन,’ चंखेली–४ का चन्द्रवीर सिंहले भने, ‘पहिलादेखि पानी खाँदै आएका मूल सुक्न थालेपछि झन् समस्या भएको छ ।’
तल्लो हुम्लाका चारवटै पालिकामा खानेपानीको ठूलो संकट रहे पनि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय नभएका कारण समस्या समाधान हुन नसकेको खानेपानी डिभिजन कार्यालय जुम्लाका प्रमुख भट्टको भनाइ छ । ‘खानेपानी आयोजना निर्माणमा तीनै तहका सरकारले बजेट हाल्दा डुप्लिकेसन हुन्छ कि भनेर डराउनुपर्ने अवस्था छ । कतिपय ठाउँमा त्यस्तो भएको पनि छ,’ उनले भने, ‘सरकारबीच समन्वय गरेर काम गर्ने हो भने समस्याको दिगो रूपमा समाधान हुन सक्छ ।’ एक हजारभन्दा बढी जनसंख्याका लागि संघ, पाँच सयदेखि एक हजारसम्मका लागि प्रदेश र पाँच सयभन्दा कमका लागि स्थानीय तहले योजना बनाउने गरेका छन् । तर कतिपय ठाउँमा तीनै तहका सरकारले एकै ठाउँमा बजेट हाल्ने गरेकाले समस्या भइरहेको उनले बताए ।
‘पानीको मुहान जति नै टाढा होस् । बोक्ने जिम्मा महिलाको हो,’ चंखेलीकी कर्नकौंरा शाहीले भनिन्, दोजिया (गर्भवती) भए पनि जत्काल्या ९काखमा नवजात शिशु पनि पानी नल्याई हुँदैन । दुःख जति केटाकेटी र महिलाकनै छन् ।’ गर्भवती र सुत्केरी अवस्थामा नियमित भारी बोक्नुपरेका कारण यहाँका महिलाको स्वास्थ्यमा विभिन्न खालका असर पर्ने गरेको छ । सानै उमेरमा भारी बोक्दा बालबालिकाको समेत शारीरिक र मानसिक विकासमा असर पर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।
‘हाम्रो पालिकामा मात्रै तीन सयभन्दा बढी महिलाको पाठेघरमा समस्या छ । धेरैजसोको त पाठेघर खसेको छ,’ सर्केगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक किरण बुढाथोकी भन्छन्, ‘गभर्वती र सुत्केरी भएका बेलामा टाढाटाढाबाट पानी र अरू भारी बोक्दा यस्तो हुन्छ । यही कारणले गर्दा गर्भतुहिने समस्या पनि उस्तै छ ।’ उनले महिलामा नियमित रगत बग्ने, सेतो पानी बग्नेलगायत प्रजनन समस्या पनि यही कारणले हुने गरेको बताए । ‘खानेपानीको मात्रै सहज उपलब्धता हुने हो भने यहाँका महिलाको स्वास्थ्यमा ठूलो सुधार आउने थियो,’ उनले भने ।
पानी बोक्नुपर्ने बाध्यताका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा पनि समस्या हुने गरेको उनको भनाइ छ । खानेपानी ओसार्नुपर्ने, अभिभावक पानी लिन गएका बेला भाइबहिनीको हेरचाह गर्नुपर्ने कारणले बालबालिकाको पढाइ छाड्ने दर उल्लेख्य छ । शिक्षा विकास तथा समन्वय शाखा कार्यालय हुम्लाको २०७५ को अभिलेखअनुसार १ देखि ५ सम्म कक्षा छाड्ने दर ११।८ प्रतिशत, ६ देखि ८ सम्म कक्षा छाड्ने दर ५।५ प्रतिशत र ९ देखि १० सम्म कक्षा छाड्ने दर ६।२ प्रतिशत छ ।
संघीयताको अभ्यास भएको सात वर्ष पुगिसक्दासम्म पनि आधारभूत अधिकारका रूपमा रहेको खानेपानीबाट वञ्चित हुनुमा स्थानीयदेखि प्रदेश र संघीय सरकार, जनप्रतिनिधि र राज्यको प्रणाली नै दोषी रहेको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीको भनाइ छ । ‘जहाँ खानेपानी नपाएर बस्ती नै काकाकुल छ, त्यहाँका जनप्रतिनिधिहरू अर्कै खालको योजना ल्याएर आउँछन् । त्यहाँबाट निर्वाचित भएका माननीयज्यूहरूको प्राथमिकतामा पनि यस्ता योजनाभन्दा कार्यकर्ताको स्वार्थ समेट्ने योजनाहरू हुन्छन्,’ उपाध्यक्ष शाहीले भने, ‘कुनकुन ठाउँमा साँच्चै समस्या छ रु सबैभन्दा पहिला कुन समस्या समाधान गर्ने भन्ने खालको प्रणाली भइदिएको भए यो अवस्था रहने थिएन ।’ खानेपानी र विद्यालयको सन्दर्भमा धेरै गुनासो आएकाले आगामी वर्ष एकदमै समस्या भएका बस्ती छनोट गरेर योजना बनाउने उपाध्यक्ष शाहीले बताए । ‘स्थलगत अध्ययन गरेर धेरै समस्या भएका एकरडेढ सय बस्तीको योजना बनाउने सोच गरेका छौं । त्यसो हुँदा काकाकुल बस्तीलाई केही राहत अवश्य होला,’ उनले भने ।








