वीरेन्द्रनगर र भेरीगंगाका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलब पाएनन्

सुर्खेत ः जबाफदेही भएर काम गरिरहेको छु, तर तलब पाएको छैन,तलब नपाउँदा घरमा धेरै नै समस्या भएको छ । यो भनाई वीरेन्द्रनगर पालिकामा कार्यरत एक स्वास्थ्यकर्मी हो । वीरेन्द्रनगरमा कार्यरत करारका कर्मचारीले समेत निरन्तर तलब पाइरहँदा आफूहरूलाई भने गत वर्षको मङ्सिरबाट एक रुपैयाँ पनि तलब नदिइएको वीरेन्द्रनगर वडा नं ३ उत्तरगंगा स्वास्थ्य चौकीमा कार्यरत उदय थापाले बताए।

उनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्दा राज्यले थप प्रोत्साहन गर्नुपर्नेमा आफूहरूलाई हटाउने निर्णय भएको सुन्नमा आएको बताए। उनले करारका कर्मचारीलाई राख्ने गरी पुराना र स्थायी स्वास्थ्यकर्मीलाई हटाउन लागेको सुनेको बताए। एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलब पाइरहने तर नेपाल सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मीहरू भने आठ महिनादेखि तलब नपाउने १ हामीलाई घर व्यवहार धान्नै समस्या भएको छ’, उनले आक्रोशित हुँदै भने।

सुर्खेतका विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूको यस्तो खाले समस्या देखिएको छ। वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा कार्यरत धेरै स्वास्थ्यकर्मीहरूको यस्तो समस्या छ। भेरीगंगा र वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य क्षेत्रमा कार्यरत करिब एक सय जना कर्मचारीहरू विगत आठ महिनादेखि तलबविहीन भएका छन् । गएको मङ्सिर यता नगरपालिका कार्यक्षेत्र भएका स्वास्थ्यकर्मीहरूले तलब भत्ता पाएका छैनन् । लामो समयसम्म तलब नपाउँदा स्वास्थ्यकर्मीहरू उदास छन् ।

जागिर छोडेर घरमै बसौँ कि जस्तो लाग्न थाल्यो । एक स्वास्थ्यकर्मीले गुनासो गरे। चालू आर्थिक वर्ष २०७९र०८० को अन्तिम समयमा आइपुग्दा समेत स्वास्थ्य सेवाका कर्मचारीहरूले तलब नपाउँदा उनीहरूलाई घर खर्च चलाउन पनि नसक्ने अवस्था छ । तलबको व्यवस्था गरिदिन पटक—पटक उनीहरूले नगरपालिकासँग अनुरोध गरेका छन् । तर, पनि उनीहरूले तलब पाउने नपाउने भन्ने बारे कुनै निश्चित छैन ।

२०७८ सालमा वीरेन्द्रनगर पालिकामा धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीहरू समायोजन भई आएका थिए । स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान निर्देशिका–२०७७ बमोजिम दरबन्दी रिक्त भएको स्थानमा समायोजन मार्फत कर्मचारी आएका हुन। यसका साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट काजमा खटिई दरबन्दी रहेको पालिकाहरूबाट रमाना लिई आएका कर्मचारीहरूले विगत सात महिनादेखि तलब भत्ता पाएका छैनन्। नगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई यसअघि तलब खुवाएको थियो ।

तर अहिले तलब खुवाउन सङ्घीय सरकारसँग माग गर्दा बजेट आएको छैन। स्वास्थ्यकर्मी थापाका अनुसार स्वास्थ्यका कर्मचारीहरू तलब नखाएरै निरन्तर स्वास्थ्य सेवा जस्तो जटिल पेसामा जुट्नु परेको छ । अन्य कर्मचारीले समयमा नै तलब भुक्तानी सहित अतिरिक्त सुविधा समेत लिई रहे पनि स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका स्थायी कर्मचारीले नै तलब पाउन नसकेको उनीहरूको भनाइ छ। उनले तलबको व्यवस्थापन गर्न पटक पटक नगरपालिकासँग अनुरोध गरेको बताए ।

यसअघि कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ मा ३८ जना कर्मचारी स्वास्थ्य मन्त्रालयले वीरेन्द्रनगरका लागि पठाएको थियो । त्यसपछि फेरि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलान सम्बन्धी व्यवस्था, २०७७ मा ५६ जना कर्मचारीलाई पठाएको नगरपालिकाको तथ्याङ्क छ । यी स्वास्थ्यकर्मीहरू वीरेन्द्रनगर अन्तर्गतको नगर अस्पताल, स्वास्थ्य चौकीहरूमा कार्यरत छन् ।

यसबारेमा बुझ्न खोज्दा वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीले स्वास्थ्यकर्मीहरूले तलब नपाएको स्वीकार गरे। उनले तलब पठाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयको रहेको उल्लेख गर्दै मन्त्रालयले समयमै तलब नपठाउँदा स्वास्थ्यकर्मीहरुले दुख पाएको जानकारी दिए ।क्षेत्रीले धान्नै नसक्ने भएपछि नगरपालिकाले कर्मचारी हटाउने निर्णय गरेकोसमेत जानकारी पनि दिए। स्वास्थ्यकर्मीहरूको दरबन्दी बढी भएकाले नगरपालिकासँग दिन सक्ने कुनै पनि आर्थिक स्रोत नभएकाले उनीहरूलाई तलब दिन नसकिएको उनको स्वीकारोक्ति थियो।

क्षेत्रीले हाल मन्त्रालयबाट २ करोड १८ लाख रकम आएको बताउँदै यति रकमले सबै स्वास्थ्यकर्मीहरूलाई तलब भत्ता दिन नपुग्ने भएकोले झनै अन्योल थपिएको बताए । यस्तै भेरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्रबहादुर देवकोटाले पनि स्वास्थ्यकर्मीहरुले नगरपालिकाबाट तलब नपाएको स्वीकार गरे । उनले पनि स्वास्थ्यकर्मीहरूको दरबन्दी बढी भएकाले तलब दिन नसकेको बताउँदै दरबन्दी अनुसार कर्मचारी राख्नुपर्ने बताए ।

उनले पहिले नै कर्मचारी राख्दा केही पनि नसोची आफ्ना नातागोता मात्रै थुपारेकोले अहिले नगरपालिकाले दिने आर्थिक स्रोत नहुँदा समस्या आएको प्रस्ट पारे । शाखा प्रमुख देवकोटाले पूर्व नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहमतिमा विना दरबन्दी आएकोले समस्या उत्पन्न भएको बताए ।

नगरप्रमुख यज्ञप्रसाद ढकालले आफ्नो कार्यकालमा स्वास्थ्यकर्मीहरू समायोजन भएर नआएको जानकारी दिँदै नगरपालिकासँग स्वास्थ्यकर्मीहरूलाई दिने तलब भत्ताको कुनै पनि शीर्षक र आर्थिक स्रोत नभएको प्रस्ट पारे। उनले कर्मचारीहरू आउने बेलामा नै सहमति गरेर आउनुपर्नेमा सहमति बिनै आएकोले समस्या उत्पन्न भएको बताए।





error: Content is protected !!