समाजवादी मोर्चा घोषणा एमाले-माओवादी एकता जस्तो हतारमा गरिएको होइन ः प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको घोषणा एमाले र माओवादी केन्द्रबीच एकता भएजस्तो गरी हतारमा नगरिएको बताएका छन् ।
सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच हतारमा एकता भएको जस्तो गरी नभई धेरै अध्ययन र छलफल पछि मोर्चा घोषणा गरिएको बताएका हुन् ।
‘एमाले र माओवादी केन्द्रबीच ५ वर्षअघि भएको एकता जस्तो गरी यो मोर्चा बनाइएको होइन । त्यतिबेला हामीले समाजवादी मोर्चा बनाएर पछि एकतामा पुग्ने उद्देश्य राखेको भए सफल हुन्थ्यौं होला । तर, अहिलेको समाजवादी मोर्चा हतारमा घोषणा गरिएको होइन, गम्भीर छलफल पछि हामी निष्कर्षमा पुगेका हौँ ,उनले भने ।
प्रधानमन्त्री प्रचण्डले एमाले र माओवादी केन्द्रबीच एकता गर्नु हतारो भएको टिप्पणी गरे । ठूलो भरोसा र अपेक्षाका साथ नेकपा बनाइएको भए पनि त्यो पार्टी बचाउन नसकिएको उनले बताए ।



