अज्ञात रोगबाट एउटै फर्ममा ५२ बंगुर मरे

सल्यान — अज्ञात रोगका कारण जिल्लाको बाग्चौर नगरपालिकाको टाटकेस्थित मदन घर्तीले व्यावसायिक रुपमा पालेका ५२ वटा बंगुर मरेका छन् । समयमै रोग पहिचान हुन नसक्दा उपचारमा कठिनाइ भएपछि उनले फर्ममा पालेका बंगुर मरेका हुन् ।
मरेका ५२ मध्ये ४८ पाठापाठी र ४ ठूला बंगुर रहेको बहुउद्देस्यीय पशु फर्म सञ्चालन गरेर व्यावसायिक बंगुरपालन गरेका मदन घर्तीले बताए । मर्नुभन्दा पहिला ठूला र साना बंगुरमा ज्वरो आउने, खुट्टा सुन्निने, दिसापिसाब नहुने समस्या देखिएको उनले बताए ।
उनका अनुसार ५२ वटा ठूला र साना बंगुर मर्दा २ लाख रुपैयाँ बराबरको घाटा भएको छ । व्यावसायिक रुपमा ८० भन्दा बढी बंगुर पालन गरेर वार्षिक ४र६ लाख रुपैयाँ कमाइ गर्दै आएका आफूलाई यसपालि ६ जनाको परिवार पाल्नसमेत कठिनाइ हुने अवस्था सिर्जना भएको घर्तीले बताए ।![]()








