छेडागाडको खाना नास्ता प्रकरण ः गल्ती लुकाउन २४ लाखको झुटो विवरण सार्वजनिक, भुक्तानी दिएको १४ लाख गाएब

रेशम बहादुर खड्का
जाजरकोट ः १८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेश गरेर चर्चामा आएका नगरपालिकाका प्रशासकीय अधिकृत सोही खर्च लुकाउन पुनः अर्काे फण्डा गरेका छन् । प्रशासकीय अधिकृत गंगबहादुर रोकायले मंगलबार विज्ञप्ति जारी गर्दै दुई आर्थिक वर्षमा जनप्रतिनिधिको खाना नास्ताको खर्च २४ लाख मात्र भएको दाबी गरेका छन् ।


रोकाय र लेखापाल खिमबहादुर शर्मा संयुक्त हस्ताक्षर गरेर सार्वजनिक गरेको विवरणमा दुई आर्थिक वर्षमा खाना, नास्तामा कुल २४ लाख ४१ हजार १ सय ५ रुपैयाँँ मात्रै खर्च भएको दाबी गरेका छन् । जसमध्ये चालु आर्थिक वर्ष २०७९÷८० मा १४ लाख ३४ हजार ७१ रुपैयाँ र गत आर्थिक वर्षको १० लाख ७ हजार ३४ रुपैयाँ भुक्तानी भएको विज्ञप्तिमा उल्लेख छ ।

केही दिनअघि मात्रै रोकायले जनप्रतिनिधिको खाजा नास्तामा कुल ५३ लाख ६० खर्च भएको दाबी गरेका थिए । खर्च रकम मध्ये चालु आर्थिक वर्षमा खाना, चिया नास्तामा कर बाहेक कुल ३९ लाख १ हजार ६ सय ७८ रुपैयाँँ भुक्तानी दिइसकेका छन् । त्यस्तै भुक्तानीका लागि ९ लाखको तोक आदेश लगाएको कागजात भेटिएको छ ।

कर्मचारीले खाना, नास्ताको अस्वभाविक खर्च देखाएपछि त्यहाँ छानबिन समिति नै बनेको थियो । छानबिन समितिले मंगलबारदेखि काम नै थालिसकेको छ । समितिको कारबाहीबाट बच्न उनीहरुले अर्काे विवरण सार्वजनिक गरेका हुन् । कर्मचारीले कारवाहीबाट बच्न चलाखी अपनाएर झुटो विवरण सार्वजनिक गरेको छानविन समितिका संयोजक प्रेम केसीले बताए । कागजपत्र सबै समितिले नियन्त्रण लिएकोले हचुवाको भरमा नगरपालिकाको बेइज्ती गरेको केसीको भनाइ छ ।


तोक लागेको ३ लाखको फाईल पनि गायब
यस्तै नगरपालिकाको लेखा शाखाबाट ३ लाख भुक्तानीको फाईल नै गायव भएको छ । कार्यालयमा कार्यपालिका र नगरसभाको खाना खाजा वापतको रकम भुक्तानीका लागि पेश भएको फाईल नै गाएब भएको वडा अध्यक्षहरुले बताएका छन् । उनीहरुले कार्यालय प्रमुखले भुक्तानी दिनु भनेर तोकआदेश लगाएको फाईल लेखा शाखाबाट गाएब बनाएको बताएका छन् । नगरपालिका कर्मचारी र होटल व्यवसायीको मिलोमतोमा पेश भएको बिल प्रशासकीय अधिकृत रोकायले लुकाएको एक वडा अध्यक्षले बताए । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खानो ठाउँ एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानमिन समितिका संयोजक खत्रीले बताए ।
लेखापाल अनविज्ञ
नगरपालिकाबाट मंगलबार सार्वजनिक गरिएको विवरणका विषयमा भने लेखापाल खिम शर्माले यो विषयमा आफु अनविज्ञ रहेको बताएका छन् । खर्च विवरण सार्वजनिक जानकारी नभएको उनले दाबी गरे । लेखामा भौचर उठेपछि भुक्तानी भएको स्वीकार गर्दै शर्माले यो विषयमा थप अध्ययन गर्न बाँकी रहेको बताए । समितिले सम्पूर्ण कागजात नियन्त्रणमा लिएकोले आफुलाई सबै कुरा जानकारी नभएको उनको दाबी छ । ‘सबै कुरा मेरो दिमागमा हुँदैन, सफ्टवेरबाट फेरि रुजु छु’ उनले भने, ‘बरु तपाइँसँग भएका कागजात मलाई पनि पठाइ दिनुहोला ।’ छानविन र सम्बन्धित निकायमा उजुरी परेकोले ढिलो चाडो सत्य तथ्य बाहिर आउने उनको तर्क छ ।

कुन मितिमा कति रकम भुक्तानी भयो ?
नगरपालिकामा चालु आर्थिक वर्षमा झण्डै ४२ लाख रकम भुक्तानी भएको छ । जसमध्ये २०७९।१०।२४ गतेको अर्धवार्षिक समीक्षा बैठक, २०७९।०८।२९, २०७९÷०९÷२० र २०७९।१०।२३ को कार्यपालिकाको बैठकमा भएको खर्च वापतको रकम रुपैयाँ १ लाख ८३ हजार ३३० रुपैयाँ २०७९।१०।२६ गतेको भौचर नम्बर ४३० बाट दिपा होटललाई भुक्तानी भएको कार्यालयको दाबी छ । तर कार्यालयको सो मितिको भौचर नं ४३० नम्बरमा १ लाख ८० हजार ५ सय ८० रुपैयाँ खर्च भएको देखिन्छ ।
यस्तै २०७९।०३।०९ र २०७९।०५।०९ को नगरकार्यपालिकाको बैठक, २०७९।०७।०२ को विपद व्यवस्थापन समितिको बैठक, २०७९।०३।०८ का २ वटा विषयगत समितिको बैठक र २०७९।०५।०८ को वार्षिक समीक्षा गोष्ठीमा भएको खर्च वापतको रकम रुपैयाँ ५५७०००÷– २०७९।०८।२९ गतेका दिन भौचर नम्बर २२८ बाट न्यौपाने होटललाई भुक्तानी भएको कार्यालयले जनाएको छ । तर कार्यालयले होटल सञ्चालक चन्द्रलाल जैसीलाई ५ लाख ४८ हजार ६४५ रुपैयाँ भुक्तानी दिएको भौचर नं २२८ मा उल्लेख छ । २०७९।०५।०९ र २०७९÷०५÷१० २०७९।०५।२६ र २०७९।०५।२७ गतेको नगरकार्यपालिकाको बैठक, र २०७९।०५।०८ को अर्धवार्षिक समीक्षा बैठकमा भएको खर्च वापतको रकम रुपैयाँ ३,३३,७१०÷– २०७९।०९।०१ गतेका दिन भौचर नम्बर २४५ बाट दिपा होटललाई भुक्तानी भएको कार्यालयले जनाएको छ । तर नगरपालिकाले सार्वजनिक गरेको उत्त मितिमा ३ लाख २८ हजार ७ सय ४ रुपैयाँ भौचर नम्बर २४५ बाट भुक्तानी गएको छ ।

२०७९।११।१३ को कार्यपालिकाको बैठक, २०७९।१०।२६ को सार्वजनिक सुनुवाई कार्यक्रम, २०७९।०९।१९ को भू उपयोग परिषदको बैठक, २०७९÷०४÷२३, २०७९।१०।१५ मिति२०७९।१०।२९ र २०७९।११।१५ गतेको कर्मचारी बैठकमा भएको खर्च वापतको रकम रुपैयाँ १ लाख ३२०००÷– २०७९।११।१९ गतेका दिन भौचर नम्बर ५२९ बाट दिपा होटललाई भुक्तानी भए विज्ञप्तीमा उल्लेख गरिएको छ । तर भुक्तानी गोसरा भौचरमा ५२९ मार्फत १ लाख ३२ हजार ३ सय ८४ रुपैयाँ कर काटेर भुक्तानी भएको छ । यस्तै न्यौपाने होटललाई सोहि दिन रुपैयाँ १४६८४६÷– भौचर नम्बर ५२९ बाट २०७९।११।१९ गतेकै दिन न्यौपाने होटललाई भुक्तानी भएको उल्लेख छ । जसको गोश्वारा भौचरमा १ लाख ४७ हजार २ सय ४६रुपैयाँ खर्च भुक्तानी भएको पाईएको छ ।

कार्यालयले २०७९÷०७÷०२ को विपद व्यवस्थापन समितिको बैठकमा भएको खर्च वापतको रकम रुपैयाँ ३००००÷–२०७९।०८।१९ गतेका दिन भौचर नम्बर १७३ बाट दिपा होटललाई भुक्तानी भएको उल्लेख गरेको छ । तर सो मितिमा गोश्वारा भौचर १७३ बाट २९ हजार ५ सय रकम बुझेको उल्लेख छ । विभिन्न मितिमा गरिएका कर्मचारी पदपुर्ती गर्दाको बखत खाजा खाना खर्च वापतको रकम रुपैयाँ ५११८५÷– २०७९।१२।३० गतेका दिन भौचर नम्बर ७३६ बाट दिपा होटललाई भुक्तानी भएको छ । यस्तै नगरपालिकाले गत आर्थिक वर्ष २०७८।७९ मा भुक्तानी समेत गरेको दाबी गरेको छ ।

नगरपालकले गत वर्षको भुक्तानी भनेर दिएको रकम २०७८।१०।२८ को नगरकार्यपालिकाको बैठक २०७८।०५।२९ गतेको नगर शिक्षा समितिको बैठक, २०७९÷०२÷०८ गतेको पुरानो जनप्रतिनिधीलाई विदाई तथा नयाँ जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम २०७९÷०२÷१६ को कार्यपालिकाको बैठक, २०७९।०२।२१ गतेको मनाघाट प्रहरी चौकी उद्घाटन कार्यक्रम २०७८।०५।०५ गतेको आ व २०७७÷७८ को वार्षिक समीक्षा बैठकमा भएको खर्च वापतको रकम रुपैयाँ ७५५२५८÷– २०७९।०३।२४ गतेका दिन भौचर नम्बर २०३ बाट न्यौपाने होटललाई भुक्तानी भएको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । तर कार्यालयको लेखा शाखाको अभिलेख अनुसार २०७९÷०३ ÷२४ गते २०३ नम्बरको भौचरमा नभई ३१९ नम्बरको भौचरमा रकम भुक्तानी भएको छ । सो भौचरमा रु ७ लाख ५५ हजार २ सय ५८ रुपैयाँ होटल सञ्चालक चन्द्रलाल जैसीले बुझेका छन् ।

यस्तै गत आवको २०७९।०३।०९ गतेको बाह्रौं नगरसभामा भएको खर्च वापतको रकम रुपैयाँ १७९०८३÷– २०७९।०३।१८ गतेका दिन भौचर नम्बर २०३ बाट न्यौपाने होटललाई भुक्तानी गएको छ । तर सो मितिमा उक्त भौचर कार्यालले उठाएको छैन । सो मितिको भौचर नं २७१ बाट रु १ लाख ७९ हजार ७३ रुपैयाँ भुक्तानी भएको छ । सोही मितिमा रुपैयाँ ७२६९३÷– २०७९।०३।१८ गतेका दिन भौचर नम्बर २०३ बाट दिपा होटललाई भुक्तानी भएको (जम्मा २५१७७६÷– भुक्तानी भएको उल्लेख छ । तर कार्यालयले भौचर नं २०३ मार्फत नभई २७१ नम्बरको भौचर मार्फत सो होटललाई रकम भुक्तानी दिएको छ । अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा भएको खर्च भन्दै कार्यालयले समेत गलत तथ्याक सार्वजनिक गरेको छानविन समितिका संयोजक केसीले बताए । यस्तै कार्यालयले भुक्तानी दिन बाँकी रहेको १२ लाख बाँहेक १४ लाख ६० हजार ५७३ रुपैयाँ कर बाहेकको रकम गुपचुप गरेको छेडागाड नगरपालिका १ का कृष्ण जैसीले बताए ।

कार्यालयले २०७९÷०९÷०४ गते १ लाख ५२ हजार २८१ रुपैयाँ गोश्वारा भौचर २७० मार्फत भुक्तानी भएको छ । तर उक्त रकम नगरपालिकाले उल्लेख गरेको छैन् । सो रकम मात्र नभएर नगरपालिकाले २०७९ असोज १३ गते राम बहादुर थापाको नाममा काटेको २५ हजार भौचर नं १०० को,२०८० बैशाख २५ गते थापाको नाममा काटेको २ लाख ९५ हजार ५ सय भौचर नम्बर ७७९ को उल्लेख गरेको छैन् । यस्तै २०७९÷०९÷४ गतेको थापाकै नाममा ६९ हजार ७ सय भौचर नम्बर २६८ रकम समेत समावेस नगरेको जनप्रतिनिधिहरुको आरोप छ । यस्तै नगरपालिकाले २०७९ चैत्र ३० गते गोश्वारा भौचर नं ७३५ मार्फत ५११८५ र २०७९ असार १८ गते गोश्वारा भौचर नं ६४९ मार्फत भुक्तानी भएको ६२ हजार रकम उल्लेखै नगरेको पाइएको छ । यस्तै २०७९ चैत्र ३० गते गोश्वारा भौचर ७३६ मार्फत भुक्तानी भएको ५१ हजार १ सय ८५ रुपैयाँ उल्लेख छैन । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रोकायले २०७९ चैत्र ९ गते आफै निवेदन लेखी भुक्तानी लिएको ४ लाख ५९ हजार ९ सय ७५ र २०७९ चैत्र ३० गते ४ लाख ५० हजार ७७० रुपैयाँ समेत कार्यालयले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेखै नगराएको छानविन समितिको अरोप छ ।





error: Content is protected !!