सदरमुकाम जोड्ने डोल्पाको सडक ः काठे पुलमा जोखिमपूर्ण यात्रा

डोल्पा ः भेरी करिडोर सडक खण्डमा पर्ने डोल्पा सदरमुकाम जोड्ने मुख्य सडक रूपगाडमा पुल निर्माण नहुँदा काठे पुलमा सवारीसाधन सञ्चालन हुँदै आएको छ। २०७७ पुस ५ गते सम्झौता भएको पुलको दुई ठाउँका पिल्लर उठाए पनि बाँकी काम नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको हो।

सडक डिभिजन चौरजहारीले खोलेको ठेक्कामा इको इन्फ्रा बिल्डर्स प्रालि ललितपुरले ठेक्का लिएको थियो। बिल्डर्सले हालसम्म एक करोड ५३ लाख नौ हजार ५४८ रुपैयाँ लिइसकेको छ। सडक डिभिजन चौरजहारीले २०७९ माघ १० गते रायसहित प्रतिवेदन पेश भएको जानकारी दिएको छ। पुल निर्माण नहुँदा काठे पुलको सवारीसाधन सञ्चालन हुँदै आएको छ। एक वर्षभित्र निर्माण गर्ने सम्झौता गरेको ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर ढिला गरिरहेको सरोकारवालाको आरोप छ।

भेरी करिडोर भित्रको सदरमुकाम दुनै जोड्ने मुख्य पुल भएका कारण सबैलाई सास्ती भएको हो। यही बाटोबाट जुफाल विमानस्थल आवतजावत गरिन्छ। ठूलीभेरी नगरपालिकामा पर्ने यो रूपगाडको पुल उपल्लो डोल्पा जोड्ने मुख्य पुल समेत हो। तल्लो डोल्पा र मध्य डोल्पा जोड्ने मुख्य पुलको रूपमा समेत यसलाई लिइन्छ।

सदरमुकाम दुनै लगायत उपल्लो डोल्पामा निर्माण सामग्री लग्न समेत मुस्किल हुँदै आएको छ। त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाको छलगाडमा पुल निर्माणको सुरसार नै नहुँदा अर्को समस्या हुँदै आएको छ। अहिले यातायातका साधन खोलाबाटै वारपार गर्नुपरेको छ। ​

ठूलीभेरी नगरपालिकाका पूर्व उपप्रमुख योगेन्द्र शाहीले रूपगाड र छलगाडमा पुल नहुँदा डोल्पालीले साहै्र दुःख पाएको बताए। अहिले दुईपाङ्ग्रे सवारीसाधन झोलुंगे पुलको सहारामा खाला पार गर्दै आएका छन्। वर्षायाममा यो बाटो पूर्ण रूपमा बन्द हुने गरेको छ। यो बाटो बन्द भएसँगै त्रिपुराकोट, दुनै आउने सवारीसाधन चल्न सक्दैनन्।

जाजरकोटको तल्लु स्थित भेरी नदिमा रहेको पुल अबको तीन महिनाभित्र निर्माण कार्य सम्पन्न हुने भए पनि छलगाडमा पुल निर्माण प्रक्रिया नै सुरु नहुँदा डोल्पाको यात्रा अझै जोखिमपूर्ण भएको त्रिपुराकोट बगरका विष्णु देवकोटाले बताए। विकास निर्माण हुने ढिलासुस्तीका विषयमा कडाइका साथ लागिपरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले दाबी गरे।





error: Content is protected !!