विषादी परीक्षणको प्रस्ताव देउवा नेतृत्वको क्याबिनेटमा, दोष प्रचण्डमाथि

काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणका लागि नयाँ प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।
फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदले रोकेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाउँदै नयाँ प्रस्ताव ल्याउन निर्देशन दिएको जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयले शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा गत भदौ १५ गते कृषि मन्त्रालयले क्याबिनेटमा उक्त प्रस्ताव पठाएको जनाएको छ।
उक्त प्रस्ताव भदौ १७ गते मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिमा दर्ता भएको थियो। भदौ २१ गते समितिले उक्त प्रस्तावको अध्ययन गर्ने निर्णय गरेको थियो। तर, उक्त प्रक्रिया अगाडि बढ्न सकेन।
२०७९ मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयो। त्यसपछि पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए।
नयाँ सरकार गठन भएपछि पुरानो सरकारले पेश गरेका र प्रक्रियामा रहेका सबै फाइल फिर्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानएको छ। पुस ११ गते बसेको क्याबिनेटले विषादी परीक्षणको मात्र नभएर पुरानो सरकारका सबै फाइल फिर्ता पठाएको जनाइएको छ।
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिम्सिनाले उक्त विषयलाई बंगाएर प्रचार गरिएको भन्दै आपत्ति जनाए।
निर्देशनअनुरूप प्रस्ताव तयार गर्दै छौँ
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारीको विषादी जाँच्ने प्रस्ताव र जिटुजीमार्फत मल आयात गर्ने प्रस्तावबारे भ्रामक समाचार प्रकाशन भएको भन्दै खण्डन गरेको छ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले विज्ञप्ति जारी गर्दै तथ्यहीन समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमार्फत प्रवक्ता सन्जेलले तरकारीको विषादी जाच्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन अनुसारको प्रस्तावको तयारी कृषि मन्त्रालयले गरीरहेको जानकारी दिएका छन्।
मन्त्रालयका प्रवक्ताको नाम उल्लेख गर्दै जिटुजीमार्फत मल आउन नसक्ने आशयको प्रकाशित समाचार झुटो भएको मन्त्रालयले जनाएको छ।
साथै, मन्त्रालयले झुटा र भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रहसमेत गरेको छ।










