दश शश्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा

हेमन्त केसी
जाजरकोट ः शिवालय गाउँपालिकामा १० शश्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रमा निर्माण कार्य सुरु गरिएको उक्त अस्पताल ९ करोड ९२ लाखमा निर्माण कार्य भइरहेको छ ।

आर्थिक वर्ष २०७९/ ८० को असार मशान्त भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए । तोकिएको समय भित्र काम सम्पन्न गर्ने उदेश्यका साथ काम भइरहेको उनले बताए । गाउँपालिकाको मुटुमै निर्माण हुन लागेको उक्त १० शश्यको अस्पतालले यहाँका सर्वसाधारणलाई भारी मात्रामा सेवा दिने अपेक्षा लिइएको छ ।

गाउँपालिकाको वडा नम्वर ३ मा निर्माण कार्य भइरहेको अस्पतालले यस क्षेत्रका सर्वसाधारणले सामान्य उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले बताइन् । प्रत्येक वडामा समेत स्वास्थ्य संस्था निर्माण कार्य जारी राखेको शिवालय गाउँपालिकाले पालिकाको केन्द्रमा १० शश्याको अस्पताल निर्माण गरीरहेको छ । ९ वटा वडा रहेको यहाँ सडक सञ्जालले सबै वडाहरुमा जोड्ने काम समेत जारी रहेको छ ।

सबै वडामा सडकको पहुँच विस्तार भएसँगै अस्पताल आउन र जान समेत सहज हुने विश्वास लिएको उपध्यक्ष शाहीले बताइन् । अहिले पालिकाले एम्वुलेन्स सेवा सञ्चालन गरेको छ । वडाहरुमा रहेका स्वास्थ्य संस्थाबाट सिफारिस गरिएका बिरामीलाई बाहिर लिएर उपचार गर्न समेत सहज भएको बताएको छ ।

भौतिक पूर्वाधारको कामलाइ प्राथमिकता राखेर कामलाई तिब्रता दिइएको बताएको छ । पश्चिम जाजरकोटको मुटु रहेको शिवालयमा आम नागरिकले महसुस गर्ने गरी सेवा प्रदान गर्ने उदेश्यले काम भइरहेको पालिकाले जनाएको छ ।





error: Content is protected !!