समाचार प्रभाव ः अध्यक्ष ,उपाध्यक्षको बिवादको बीच अदानचुलीले नयाँ हाकिम

हुम्ला ,२ माघ ः हुम्लाको अदानचुली गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । पालिकाका अध्यक्ष र उपाध्यक्षको बीचमा बिवाद हुँदा यहाँ दुइ जना प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । बिबादकै बीचमा नयाँ प्रशासकीय अधिकृत आएपछि समस्य हल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला निर्वाचन कार्यालय सल्यानमा कार्यरत नायब सुब्बा नवराज गिरीलाई नियुक्त गरी पठाएको छ। गिरीले पुस २९ गते आर्थिक अधिकारसहित जिम्मेवारी पाएका हुन् । गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाका आ–आफ्नै अडानका कारण गाउँपालिकाको कामकाज लामो समयदेखि प्रभावित बनेको थियो । स्थानीय तहमा एकजना प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि अदानचुलीमा दुई प्रशासकीय अधिकृत थिए । अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि गाउँपालिकाको काम प्रभावित भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएसँगै निलम्बित छन् । रिक्त पदमा गाउँपालिका अध्यक्ष सिंहले आफूनिकट मेगनाथ शाही र उपाध्यक्ष रोकायाले हंस महतारालाई निमित्त प्रशासकीय अधिकृत तोकेका थिए ।

अध्यक्ष र उपाध्यक्षको टकरावका कारण गाउँपालिकाको काम प्रभावित भएका समाचारहरू  प्रकाशित भएपछि मन्त्रालयले नयाँ कार्यकारी नियुक्त गरी पठाएको हो ।





error: Content is protected !!