लेखापाल , हाकीमले गाउँपालिकामा पाइला नै नटेकी पाँच महिना तलब

हुम्ला , २४ पुस ः गाउँपालिकामा पाँच महिना सम्मा पाइला नै नटेकी हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापा सुर्खेतबाट पाँच महिनाको तलब भत्ता खाएका छन् ।
गत साउन ३१ पछि उनीहरू कार्यालयमा नआएरै शाही र थापाले गत बिहीबार कार्यालय उपस्थित भएका थिए । कार्यालय नआई तलब–भत्ता बुझेको द्धयाले झन्डै पाँच महिनापछि हाजिर लगाउन गाउँपालिमा आएपछि गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय र केही वडाध्यक्षहरूले हाजिरी लगाउन नदिएको बताएका छन् । उनीसँगै नयाँ नियुक्ति लिएका चार स्थायी कर्मचारीले समेत हाजिरी लगाउन नपाएको गाउँपालिकाका उपाध्यक्ष रोकायले बताए ।
साउन महिनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलमाथि भ्रष्टाचार अभियोग लागेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट मेगनाथ शाहीलाई साउन २ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाएका थिए । साउन २९ मा गाउँपालिकाका उपाध्यक्ष रोकायको अध्यक्षता बसेको कार्यपालिका बैठकले गाउँपालिकाको कामकाजमा बाधा परेको भन्दै रोकायानिकट स्वास्थ्य संयोजक हंश महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष सिंहले नियुक्ति दिलाएर ल्याएका शाहीले अध्यक्ष सिंहसँग सुर्खेत बसेर करोडौँ रकम हिनामिना गरेको गाउँपालिका उपाध्यक्ष रोकायले आरोप लगाउदै सुर्खेत स्थित अक्तियारमा उजुरी समेत दिएका छन् ।
पालिका नै अपहरण परेको भन्दै उपाध्यक्ष रोकायले अख्तियारमा उजुरी दिएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापा बिहीबार अदानचुली गाउँपालिका पुगेका थिए । तर, उपाध्यक्ष रोकाया पक्षले उनीहरूलाई हाजिरी लगाउन नदिएपछि विवाद भारी चलिएको छ ।
गाउँपालिका अध्यक्ष सिंह नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष रोकाय माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।
हुम्लाका अधिकांश स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिहरु अहिले ठुला सहरमा रहेको पाइएको छ ।



