रुकुम पश्चिममा मध्यपहाडी सडक भासियो

सुर्खेत ः जाजरकोटमा निर्माण कार्य सम्पन्न नहुँदै ठाउँ ,ठाउँमा भासिएको मध्यपहाडी लोकमार्गको सडक रुकुम पश्चिममा समेत भासिएको छ । कम्जोर निर्माण सामग्री प्रयोग भएका कारण भासिएको स्थानीयबासीहरु बताउँछन् । रुकुमपश्चिम खण्डको मुसीकोट नगरपालिकाका वडा नं ६ को दवाङ, वडा नं ७ को सागिने र रोटीलगायतका स्थानमा सडक भासिएको वडा नं ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए । सडक भासिँदै जाँदा सवारी दुर्घटनाको जोखिम बढेको र हरेक वर्ष सडक भासिँदै गएको उनले बताए । सडक भासिनुका कारण र दीर्घकालीन समाधानका उपायबारे बेलैमा सोच्न जरुरी रहेको उनको भनाइ छ ।
हरेक वर्ष एक,दुई मिटर गहिरो भएर सडक भासिने गरेको गरेको छ । स्थानीयले उक्त क्षेत्रमा रहेको पानीको मुहानको दीर्घकालीन प्रभाव जाँच गरेर हाल सञ्चालन भइरहेको भन्दा भित्री भूभागबाट सडक खोलिएमा दिगो हुने बताएको छ।
सवारी चालक राम विकले भासिएको सडकखण्डमा गाडी पार गराउन मुस्किल हुनुका साथै भासिएको भूभागमा गाडी वारपार गराउँदा दुर्घटनाको जोखिम बढेको बताए। मोटरसाइकल, जिप, हाइस र अन्य साना गाडी उक्त स्थानमा ठोक्किने गरेका छन्। अत्यन्त सावधानीपूर्वक उक्त ठाउँमा गाडी आवतजावत गराउनुपरेको चालक विकले बताउनुभयो। भासिएको सडकखण्ड समयमै सुधार तथा मर्मत हुनुपर्ने उनको माग छ।
मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखले योजना कार्यालय दैलेखका प्रमुख युवराज पोखरेलले रुकुमपश्चिमको सडकखण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीलाई तत्कालका लागि गिट्टी हालेर भए पनि सडक मर्मत गर्न निर्देशन दिएको बताइएको छ। भासिएको सडकखण्डको भूभागमुनि पानीको मुहान रहेको विषयमा स्थलगत अध्ययन गरेर निष्कर्ष निकालिने कार्यालय प्रमुख पोखरेलले उल्लेख गरे ।



