पालिकामा पराजित समानुपातिकबाट सांसद

सुर्खेत ः स्थानीय तह निर्वाचनमा पराजित भएकाहरू कर्णाली प्रदेशसभा सदस्य चुनिएका छन् । विभिन्न दलहरूले शनिबार निर्वाचन आयोगलाई बुझाएको समानुपातिक सांसदहरूको सूचीमा समावेश ४ जना यसअघि स्थानीय निर्वाचनमा पराजित भइसकेका व्यक्ति हुन् । जसमा एमालेकी गमता विक र दक्षिणा शाही तथा कांग्रेसकी इन्द्रकुमारी शाही र जानकी सिंह छन् ।
दैलेखको आठबीस नगरपालिका–१ की विक २०७४ को स्थानीय तह निर्वाचनमा पराजित भएकी थिइन् । एमालेबाट नगर उपप्रमुखमा उम्मेदवार रहेकी उनी कांग्रेसकी दिपा बोहोरासँग पराजित भएकी थिइन् । तर, अहिले उनलाई एमालेले समानुपातिकतर्फबाट सांसद प्रदेशसभा सदस्य सिफारिस गरेको हो । दैलेखबाटै कांग्रेसले प्रदेशसभा सदस्यमा सिफारिस गरेकी इन्द्रकुमारी शाही पनि २०७४ मै चामुण्डा बिन्द्रासैनी नगर उपप्रमुखमा पराजित भएकी थिइन् । उनी एमालेकी ताराकुमारी शाहीसँग पराजित भएकी थिइन् ।
सुर्खेतकी जानकी सिंह पनि प्रदेश सांसद बनेकी छन् । उनी कांग्रेसबाट २०७४ कै स्थानीय निर्वाचनमा वीरेन्द्रनगर नगर उपप्रमुख पदमा उम्मेदवार थिइन् तर एमालेकी मोहनमाया ढकालसँग हार व्यहोरिन् । सिंह अहिले कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । यसैगरी, कालीकोटको पचाल झरना गाउँपालिकाकी दक्षिणा शाही पनि सांसद सिफारिस भएकी छन् । उनलाई एमालेले कर्णाली प्रदेशसभामै समानुपातिक सांसद चयन गरेको हो । २०७४ को स्थानीय निर्वाचनमा उनी पचाल झरना गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेकोमा माओवादीकी तारा न्यौपानेसँग हार व्यहोरेकी थिइन् ।
स्थानीय तहमै पराजितहरूलाई धमाधम प्रतिनिधिसभा र प्रदेशसभामा सिफारिस गर्दा राजनीतिमा विचलन आएको स्थानीय अगुवा माया साहिद बताउँछिन् । मतदाताले स्थानीय तहमै योग्य छैनन् भनेर मत नदिएकालाई नै केन्द्रीय नेताहरूले कानुन बनाउने स्थानमा टिपेर पठाउनु लोकतान्त्रिक नभएको उनको भनाइ छ । ‘स्थानीय तहमा माखो नमार्ने, केन्द्र र प्रदेशका नेताको दैलो चाहार्नेहरूलाई मात्र अवसर दिइएको छ, यदी उनीहरूको राजनीति बलियो हुन्थ्यो भने स्थानीय तहमै जित्ने थिए,’ उनले भनिन्, ‘जनताभन्दा पनि नेताका व्यक्तिगत स्वार्थ पूरा गरेकाले उनीहरूले सजिलै संसद्मा प्रवेश पाउने अवस्था आएको हो ।’ पटक–पटक एउटै व्यक्तिलाई अवसर दिँदा पनि लामो समय राजनीतिमा त्याग गरेकाहरू निराश बनेको उनले औंल्याइन् ।
एउटै व्यक्ति हरेक निर्वाचनमा सांसद चुनिँदा पार्टीभित्रै असन्तुष्टि र मनमुटाव बढेको तथा वरिष्ठ नेताहरू पाखा लागेको स्थानीय सुवर्ण थापाले बताए । उनका अनुसार पार्टीभित्रको आर्थिक चलखेल र व्यक्तिवादी प्रवृत्तिका कारण स्थानीय तहमा हारेकाहरू पनि योपल्ट सांसदमा सिफारिस भएका छन् ।
‘काम गर्नेलाई भन्दा पनि नेताको दैलो चाहार्नेलाई अवसरको ओइरो लाग्ने गरेको देखियो,’ उनले भने, ‘कतिपय सांसद भनेर पनि नसुहाउनेलाई टपक्क टिपेर नेता बनाइएको छ ।’
राजनीतिक विश्लेषक पीताम्बर ढकाल जस्तोसुकै व्यक्तिलाई पनि कानुन बनाउने ठाउँमा पठाउनु दुर्भाग्यपूर्ण भएको बताउँछन् । ‘पार्टीहरूका लागि योभन्दा ठूलो लज्जास्पद कुरा अरू के होला रु,’ उनले भने, ‘मतदाताले स्थानीय तहमा नै रिजेक्ट गरेकालाई विधायकको ठाउँमा सिफारिस गरेर जनताको मर्म कुण्ठित गराउने काम गरिएको छ ।’ राजनीतिमा नेताको चाकडी गर्नेलाई मात्र आशीर्वाद दिने प्रचलनले लोकतन्त्रलाई कमजोर बनाएको उनले दोहोर्याए ।



