संसद्को आधा कार्यकाल भाडाकै घरमा बित्ने

काठमाडौं ः संघीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएसँगै अबको सदन पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै सञ्चालन हुने भएको छ।

गोरखापत्र दैनिकमा नारायण काफ्ले समाचार लेख्छन्, संसद् भवन २०७९ असोजसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड १९ का कारण चैत मसान्तसम्म समय थप गरिएको थियो। भवन निर्माण सम्पन्न नभएपछि कम्तीमा पनि अबको संसद्को आधा कार्यकाल भाडाकै भवनमा चलाउनुपर्ने भएको हो।

मन्त्रालयको भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक मचाकाजी महर्जनका अनुसार चैतसम्म मूल संरचनाको काम सम्पन्न हुने अवस्था छ। ‘चैत मसान्तसम्म काम सकिने सम्भावना नै छैन। हामी तार्किक आधार र कारण हेरेर कति समय थप गर्न उपयुक्त हुन्छ, त्यसबारेमा निर्णय गर्छौँ’, उनले भने, ‘एक वर्ष जति समय अझै कम हुनसक्ने दुवै पक्षको आँकलन छ।’

महर्जनका अनुसार संसद् भवनको हलको संरचना निर्माण भए पनि छतको ट्रस निर्माणमा नै ६ महिना लाग्नेछ। यस्तै आन्तरिक डिजाइनको काममा पनि समय लाग्ने उनको भनाइ छ। मूल संरचना निर्माणपछि ‘फिनिसिङ’को काम हुने महर्जनले बताए।

६ अर्ब रुपैयाँभन्दा बढी लागतमा संसद् भवन निर्माणको सम्झौता २०७६ असोज १६ गते भएको थियो। तुँदी एसएचईसी जेभीसँग निर्माण सम्झौता भएको थियो। २०७९ असोजमा निर्माण सम्पन्न गर्नेगरी भएको सम्झौता कोभिड–१९ महामारीका कारण काम अवरुद्ध भएको भन्दै छ महिना लम्ब्याइएको हो। २०७९ चैत मसान्तसम्मका लागि भवन निर्माणको म्याद थप भएको हो।

निर्माणाधीन भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको हल, सचिवालयका भवन संसदीय दलका कार्यालय, समिति बैठकका सभाकक्ष, चमेना गृह, पुस्तकालय, सुरक्षा निकायका लागि समेत छुट्टै भवन हुनेछन्। मूल १२ वटा भवन उक्त परिसरमा निर्माण हुनेछन्।

पुतली बगैँचामा १५१ रोपनी क्षेत्रफलमा उक्त भवन निर्माण हुनेछ। आफ्नै भवन नहुँदा अहिले संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर बैठक चलाउँदै आएको छ। सचिवालयले वार्षिक १५ करोड नौ लाख रुपैयाँ भाडा तिरिरहेको छ।





error: Content is protected !!