चुनावअघि देउवा, प्रचण्ड र नेपालको मौखिक सहमति – पालैपालो प्रधानमन्त्री बन्ने

काठमाडौँ ः मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । त्यस्तै नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बन्ने देखिएको छ ।

सत्ता गठबन्धनमा रहेका पाँच दललाई प्रतिनिधिसभामा बहुमत जुटाउन हम्मेहम्मे परिरहेको परिस्थितिमा सरकार गठन कसरी होला भन्ने प्रश्न उठिरहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा आफ्नो दाबी गरिरहेका छन् ।

तर, चुनावअघि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच २, २ र १ वर्ष प्रधानमन्त्री भागवण्डा गर्ने मौखिक सहमति भएको स्रोतले दाबी गरेको छ ।

स्रोतको दाबी अनुसार चुनावपछि पहिलो खेपमा प्रचण्ड प्रधानमन्त्री बन्ने र उनले दुई वर्ष सरकार चलाउनेमा देउवा र नेपाल सहमत भएका थिए । त्यस्तै दोस्रो खेपमा देउवा प्रधानमन्त्री बनेर २ वर्ष चलाउने अनि अन्तिम खेपमा माधव नेपाल १ वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको स्रोतको दाबी छ ।

देउवाले गरेको सोही मौखिक सहमतिलाई आधार मानेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । तर, चुनावको परिणाम आउँदै गर्दा माओवादी केन्द्रले अपेक्षाकृत नतिजा ल्याउन नसकेपछि कांग्रेसमा देउवाइतरका नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री दिन नहुने अडान लिएका छन् । अर्कातर्फ संस्थापन पक्षकै केही नेताहरूले कांग्रेसले प्रधानमन्त्री छाड्न नहुने लबिङ गर्न थालेका छन् ।