छेडा–जुम्ला सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती ः वर्ष दिनमा १५० मिटर मात्र निर्माण
हेमन्त केसी
जाजरकोट ,१८ मंसिर ः छेडा–थलह–सानाखोला–चाँदे–जुम्ला सडक पश्चिम जाजरकोटको लाइफलाइन अर्थात महत्वपूर्ण आयोजना हो । यो सडक खण्ड हरेक निर्वाचनमा दलहरुको चुनावी मुद्धा बन्छ । ‘तपाई भोट दिनोस्, म सडक बनाउँछु भन्दै’ उम्मेदवारले भोट माग्छन् ।
यो सडक निर्माण तथा स्तरोन्नती भएको खण्डमा पश्चिम जाजरकोटमा पर्ने जुनीचाँदे गाउँपालिका, छेडागाड नगरपालिका र कुशे गाउँपालिकाका नागरिकले आवागमनका लागि सहज हुन्छ । यो सडक छेडादेखि जुम्ला जोड्ने सबैभन्दा छोटो मार्ग पनि हो । तर सडक खण्डको ३० किलोमिटर ट्रयाक खोल्न बाँकी नै छ ।
जसका कारण उम्मेदवारका चुनावी घोषणा पत्रमा यो सडक छुटाउँदैनन् । नेताहरुको हरेक पटक भोट माग्न आउँदा छेडादेखि जुम्लासम्म सडकको स्तरोन्नति गर्ने र बाँकी खण्डमा छिट्टै ट्रयाक खोल्ने आवश्वासन बाँढ्छन् ।
तर चुनाव जितेर गएपछि भने पहल गर्दैनन् । दुर्भाग्य नै भनौं सरोकारवाला निकाय मौन बस्दा सडक निर्माणको जिम्मा लिएका ठेकेदारहरुले मनपरी गर्छन् । जसमध्ये अमर सिस्ने जेभी नेपालगञ्ज बाँकेको लापर्वाही एउटा उदाहरण हो । यो कम्पनीले सानाखोलादेखि जुम्ला सिमानासम्म ३० किलोमिटर निर्माण गर्ने जिम्मा लिएको छ । ५ वर्षभित्र ३० किलोमिटर सडक निर्माण गरिसक्ने जिम्मा लिएको ठेकेदार कम्पनीले वर्षदिनमा भने १५० मिटर मात्रै ट्रयाक खनेको दिपक कोइरालाले बताए । कम्पनीले कुल ठेक्काको १० प्रतिशत अर्थात १ करोड ३५ लाख रकम लिइसकेको छ ।
ठेकेदारले पेस्की बाफत १ करोड ३५ लाख रकम लिइसकेको पूर्वाधार विकास कार्यालयका जाजरकोटका प्रमुख सोहिन्दर यादवले बताए । वर्षदिन लगाएर १५० मिटर मात्रै ट्रयाक खोलेको प्रमुख यादवले जानकारी दिए । ५ वर्षभित्र ३० किलोमिटर सडक बनाइसक्ने जिम्मा लिएको ठेकेदारले वर्षदिनसम्म ०.१ प्रतिशत मात्रै काम गरेको छ । ११ महिनासम्म काम नै नगरेर कम्पनीले असारमा उक्त सडक खनेको हो ।
एक वर्षको अवधिमा १५० मिटर मात्रै सडक बनाएपछि तोकिएकै समयमा सडक निर्माणमा आशंका छ । स्थानीय र प्रदेश सरकारले दवाव नदिँदा ठेकेदार कम्पनीले लापर्वाही गरेको स्थानीयको गुनासो छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयले भने काम गर्न ठेकेदारलाइ पटक–पटक अनुरोध गर्दासमेत अटेरी गरेको जनाएको छ ।
४२ करोड स्टमेट, १५ करोडमा ठेक्का
डीपीआर अनुसार सानाखोला–चाँदे–जुम्ला सिमानासम्म सडक निर्माण गर्न साढे ४२ करोड रकम खर्च हुने अनुमान छ । सानाखोलादेखि जुम्लासम्म सडकको ट्रयाक खोल्न कुल ४२ करोड ४९ लाख ७४ हजार ५ सय २२ रुपैयाँ लाग्ने स्टमेट छ । तर अमर सिस्ने जेभी नेपालगञ्ज बाँकेले घटेर १५ करोडमा ठेक्का लिएको पूर्वाधार कार्यालयले जनाएको छ । कम्पनीले आउँदो २०८२ पुस ४ गतेभित्र सडक निर्माण गरिसक्ने गरी २०७८ पुस ५ गते ठेक्का लिएको हो । ठेक्का लिएको कुल रकममध्ये पेस्की वाफतको १० प्रतिशत रकम पनि ठेकेदारले लिइसकेको छ । तर कम्पनीले सडक निर्माणमा भने ठेकेदारले चरम लापर्वाही गरेको छ ।
कार्यालयलाई टेर्दैन ठेकेदार कम्पनी
५ वर्षमा ३० किलोमिटर सडक निर्माण गर्ने जिम्मा लिएको अमर सिस्ने जेभी नेपालगञ्ज बाँकेले सडक निर्माणमा अटेरी गरेको छ । कम्पनीले पूर्वाधार विकास कार्यालयलाई टेर्न छोडेको हो । पेस्की रकम बुझेर पनि लामो समयसम्म काम सुरु नगरेपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीले पटक–पटक ताकेता गरेको छ । कार्यालयले ४ पटक पत्राचार गरेर कम्पनीलाई तीब्र गतिमा सडक निर्माण गर्न ताकेता गरेको छ । तर कार्यालयको ताकेतालाई ठेकेदार कम्पनीले पूरै वेवास्था गर्दै आएको छ ।
कार्यालयले सम्झौता भएको एक महिनापछि अर्थात २०७८ माघ ४ गते पहिलो ताकेताका लागि पत्राचार गरेको थियो । सम्झौतापछि काम सुरु नभएपछि कार्यालयले एक महिनामै पत्र काटेको थियो । काम सुरु नगर्नुको कारणसहित कार्यालयले सात दिनभित्र काम सुरु गर्न भन्दै पत्र काटेको थियो । तर पहिलो पत्रको ठेकेदारले जवाफ नपठाएपछि कार्यालयले फेरि २०७८ माघ २३ गते ताकेता पत्र पठाएको थियो । दोस्रो पत्रमा पनि कार्यालयले एक हप्ताभित्र काम सुरु गर्न भनेको थियो । तर ठेकेदारले दोस्रो पत्रको जवाफ पनि नदिएपछि २०७९ बैशाख ७ गते तेस्रो पटक पत्राचार गरेको थियो ।
तेस्रो पटक काम सुरु नगर्नुको स्पस्ट कारणसहित फर्मको आधिकारिक व्यक्ति स्वयम उपस्थिति भएर संशोधित कार्यतालिका स्वीकृतिको लागि पेश गर्न भनेको थियो । त्यसपछि कार्यालयले हालसालै (२०७९ मंसिर ७ गते) चौथो पटक पत्राचार गरेको छ । चौथो पत्रमा कार्यालयले काम रोकिनुको कारणसहित सात दिनभित्र चित बुझ्दो जवाफ र संशोधित कार्यातालिका माग गरेको छ । तर पटक–पटक गरेको आग्रहलाई भने ठेकेदार कम्पनीले अटेरी गरेको पूर्वाधार कार्यालयले जनाएको छ ।
स्थानीय तह, प्रदेश सरकार र जिल्लाका नेताहरु चुप लागेर बस्दा ठेकेदार कम्पनीले मनपरी गर्न पाएको स्थानीयहरुले आरोप लगाउँछन् । तर जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले भने सानाखोला–चाँदे–जुम्ला सडक निर्माणमा भएको ढिलाई बारे पूर्वाधार विकास कार्यालयसँग समन्वय गरेको बताएका छन् । ‘सडक छिटो बनाउन भनेर मैले सिधै ठेकेदारलाई भन्ने हैन’ उनले भने, ‘के कति कारणले सडक निर्माण ढिलाई भएको हो भनेर पूर्वाधार विकास कार्यालयका प्रमुखसँग बुझेको छु ।’
प्रजिअ न्यौपानेले आउँदो आइतवार वा सोमबार ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालयलाई बोलाए छलफल गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारीसँग कार्यालय प्रमुखले नै काम गर्न असहज भएको बताउनुभयो । ठेकेदार कम्पनीका साइड ठेकेदार दिपक शाहीले भने हप्तादिनभित्र काम सुरु गर्ने बताएका बताउनुभयो ।
हेमन्त केसी