जहाँ योजना सम्झौता तीन दिन लाग्छ

सुर्खेत ः हुम्लाको नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयलाई तीन दिन पैदल हिँडेर योजना सम्झौता गर्नु पर्ने बाध्यता रहेको छ । गाउँपालिकाले लिमीका लागि विकासे योजनाहरूको काम अगाडी बढाउन सम्झौताका लागि सूचना सार्वजनिक गरेपछि लिमीबाट सदरमुकाम सिमकोट तीन दिन पैदल हिँडेर आउनु परेको हो ।

लिमी जाङ गाउँका फुर्बु लामाले गाउँको धर्मशाला र धर्म घट्ट निर्माणका लागि योजनाको सम्झौता गर्न लिमीबाट सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालयमा आउन तीन लगाउनु परेको बताए। उनले योजनालाई समयमै सम्पन्न गर्नका लागि न्यालु लेकको हिउँ छिचोलेर सिमकोट आएर बिहीबार सम्झौता गर्ने कार्य भएको बताए। अन्य तीन दिन उहाँहरूलाई योजनाको सम्झौताका लागि उपभोक्ता समिति दर्ता देखि अन्य आवश्यक कागजात तयार गर्न लागेको थियो । उहाँ सहित समितिका चार जना सदस्यहरू योजना सम्झौता कै लागि सदरमुकाम सिमकोटमा आई पुग्नु भएको हो । उक्त योजना नौ लाख रुपियाँको रहेको छ ।

त्यसै गरी लिमीकै हल्जी गाउँको खानेपानीको मुहान घेरवार योजनाको उपभोक्ता समितिका अध्यक्ष ख्याण्डाप तामाङले लिमीबाट सदरमुकाम सिमकोट पुगेर योजनाको सम्झौता गर्ने कार्य भएको बताए । उनको समितिबाट तीन जनाको टोलीले लिमीबाट सिमकोट आई पुग्न साँढे तीन दिन लगाएको थियो । योजना भने दश लाखको रहेको छ । उनले विकास गर्न पनि लिमीका स्थानीयलाई कठिन भएको बताउँदै यसका लागि गाउँमै प्राविधिक पुगेर योजनाको सम्झौता गर्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले एउटा योजनाको सम्झौता गर्न दश दिन खर्चनु पर्ने अवस्था लिमीवासीलाई रहेको बताए । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीवासीलाई योजना निर्माणका लागि सदरमुकाम सिमकोट र गाउँपालिका केन्द्र ल्वाङ पुग्नु पर्ने बाध्यता रहेको बताए ।

उहाँले यसबाट उपभोक्ता समितिलाई भौतिक कष्टका साथै आर्थिक रूपमा समेत भार पर्ने गरेको बताए । यस वर्ष लिमीका लागि गाउँपालिकाबाट चार वटा योजना तर्जुमा भएका छन् भने अन्य कार्यालयका योजनाहरु पनि रहेका छन् । यी सबै योजनाको निर्माणको लागि लिमीका उपभोक्ता समितिले पाँच हजार मिटर अग्लो न्यालु लेकको हिउँ पार गरेर आउनु पर्नेछ । यो क्रम लिमीका बासिन्दाका लागि बर्सेनि जारी रहेको छ । अब भने हिमपात भए चैत्र भन्दा अगाडी लिमीका स्थानीय लिमी बाहिर आउजाउ गर्न सकिने छैन ।