सुर्खेत २ (ख) मा माओवादीका विष्ट विजयी

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् ।
यहाँ ३१ हजार ६८२ मत खसेको थियो । जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका छन् । यो उनको दोस्रो जित हो । विजयी विष्ट सुर्खेत जेलब्रेकका एक कमान्डर हुन् ।
उनी माओवादीभित्र युवा र ‘भिजनेवल’ छवी भएका नेता हुन् । विद्यार्थी छँदा देखिनै माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका विष्ट विसं २०३६ सालमा कालिकोटमा जन्मिएका हुन् । अहिले उनको स्थायी ठेगाना सुर्खेतको बराहताल गाउँपालिका –१ हो ।
०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भूमिगत भएका थिए । ०५६ देखि उनले ०५८ माघ १ सम्म अर्थात् १८ महिना जेल जीवन बिताएका छन् ।
हाल माओवादीको केन्द्रीय सदस्य रहेका उनी ०७४ सोही क्षेत्रबाट १५ हजार ६४८ मतसहित विजय भएका थिए । प्रदेश सरकारको अर्थमन्त्री समेत भइसकेका उनी प्रदेश सरकारको मुख्यमन्त्रीको प्रमुख दाबेदारको रुपमा आफूलाई अगाडि बढाइरहेका छन्।








