उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

हेमन्त केसी
डोल्पा /  प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न , योडिन यूक्त नुन पुर्याउने भन्दै कोठा निर्धारण गरिन्छ ? तर त्यहाँ विगत पाँच वर्ष देखि आयोडिन यूक्त नुन पुग्न सकेको छैन । वर्ष दिन देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल समेत पुग्न सकेको छैन ।

सरकारी कोठामा पुग्ने तर उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने प्रवृतीका कारण यहाँका स्थानीयबासीहरु मर्कामा पर्दै आएका छन् । अधिकांश जनजाती समुदाय बसोबार गर्नुका साथै सदरमुकाम दुनैबाट ७ दिन सम्मा पैदल हिडेर उपल्लो डोल्पा पुग्न सकिन्छ । तीनवटा गाउँपालिका रहेको यहाँ जनसंख्य कम भएपनि भुगोल ठुलो रहेको छ । उच्च हिमाल भएकाले वर्षमा एक बाली मात्र अन्न उत्पादन हुने तीन पालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एउटा मात्र खाद्यान्न बिक्री केन्द्र राखेको छ ।

यातायातको पहुँच नभएको त्यहाँ घोडा, खच्चड र चौँरीको सहायताले आवश्यक सामग्री ढुवानी गरेर उपभोग गरिदैँ आएको शे फोक्सुण्डो गाउँपालिकाकी प्रेम गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो ,‘ अब हिमपात समेत सुरु भइसकेको छ , केही समय भित्र नाँकाहरु बन्द हुन्छन् । खाद्य डिपोमा चामलको एक गेडा छैन , वर्ष दिन देखि ठेकेदारले चामल ल्याएकै छैनन् ।’ त्यस्तै चिनको भूभाग हुँदै ढुवानी गरिदैँ आएको आयोडिन यूक्त अनुदानको नुन समेत पाँच वर्ष देखि उपल्लो डोल्पाका सर्बसाधारणले प्रयोग गर्न नपाएको उहाँले बताउनुभयो । नामको मात्र बिक्री केन्द्र राखेर के रमिता गर्न खोजेको हो भन्दै यहाँका सर्बसाधारणले प्रश्न समेत गरिरहेका छन् ।

कोभिडको बहाना बनाउदैँ अनुदानको आयोडिन यूक्त नुन ढुवानी रोकिएकोमा अहिले सम्मा आपुर्ती गरिएको छैन । उपल्लो डोल्पामा आयोडिन यूक्त नुन ढुवानी नभएको पाँच वर्ष भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकास धामीले समेत स्विकार गनुभयो । यातायातको पहुँच नभएका कारण समस्य पर्दै आएको उहाँको भनाइ छ ।

यो आर्थिक वर्षमा समेत सदरमुकाम बाहिर रहेका बिक्री केन्द्रमा हवाइ मार्ग मार्फत आयोडिन यूक्त नुन ढुवानीका लागि भदौ ५ गते बोलपत्र आवह्वान गरेपनि अहिले सम्मा नुन पुग्न सकेको छैन । नेपालगन्जबाट काइगाउँ बिक्री केन्द्रमा २०० क्विन्टल , सर्मी बिक्री केन्द्रमा २०० क्विन्टल र लिकु बिक्री केन्द्रमा २०० क्विन्टल नुन ढुवानी गर्ने भनि कोटा निर्धारण गरिएको थियो ।
उपल्लो डोल्पामा भने हवाइ मार्ग मार्फत ढुवानी गर्न कुनै पनि प्रक्रिया सुरु गरिएको छैन । उपल्लो डोल्पामा नुन ढुवानीको बिषयमा आफूलाई कुनै कुरा थाहा नभएको र जानकारी पनि नआएको कार्यालय प्रमुख धामीले बताउनुभयो ।

पाँच वर्ष अघि तिब्बत हुँदै ढुवानी गरिएको नुन अनुगमण गर्दा तेन्जे नाकाँमा जथाभावी फ्याकिएको अवस्थामा फेला परेको थियो । नुन र खाद्यान्न ढुवानीका लागि कुनै पनि चासो ,चिन्ता नलिएको भन्दै जनप्रतिनिधि र सरकारी निकाय सम्मालाई उपल्लो डोल्पाबासी सर्बसाधारणले आक्रोष पोखिरहेको डोल्पोबुद्ध गाउँपालिका –३ का पुटी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ अहिले समय हुँदा सम्मा ढुवानी हुँदैन , पछि हिमपातले बाटो अवरुद्ध भएपछि बाटो बन्द भयो भन्दै खाद्यान्न ढुवानी गरिदैन । यस्तो अचम्म र अनौठो तरिकाले काम हुन्छ डोल्पामा ? ’

सरकारले सहुलियत दिने नुन र चामल उपल्लो डोल्पामा नपाउने तर सदरमुकाम दुनै स्थित बजारमा पाइने महंगो चामल आफैँ खरिद गरेर लिदा भारी आर्थिक हाँनी हुने उपल्लो डोल्पाबासीको दुखेको छ । सदरमुकाम दुनैमा रहेको मोजदात चामल उपल्लो डोल्पामा पुर्याएको भए पनि ठुलो राहत हुने स्थानीयवासीको भनाई छ । चुनावमा भोट मात्र माग्न मात्र जाने तर जनताको समस्यामा अगाडी नसर्ने प्रवृती कहिले सम्मा मैलाउने हो भन्दै सर्बसाधारणहरु पीडा पोखिरहेका छन् ।





error: Content is protected !!