रुष्टलाई फकाउदै हैरान ः नतिजा हात कसरी पार्ने भन्दै भारी चिन्ता?

हेमन्त केसी
सुर्खेत , २९ असोज ः चुनाव नजिकिर्दै गर्दा सत्तारुढ गठबन्धनबाट रुष्ट भएकाहरुको मन चोर्न प्रमुख प्रतिपक्ष नेकपा एमालेका उम्मेदवारहरु न्वरण देखिको बल लगाएका छन् । कर्णालीका सबै ठाउँमा उम्मेदवारी दिएको एमालेले टिकट नपाएर रुष्ट भएका देखि नेकपा ( एकीकृत समाजवादी ) का नेता कार्यक्रतालाई आफ्नो पक्षमा भोट दिन लविङ तिब्र बनाएका छन् ।
एसका नेता तथा कार्यक्रताहरुलाई एमालेमा प्रवेश गराउने देखि रुष्टलाई हातमा लिएर चुनाव आफ्नो पक्षमा पर्ने दाउमा एमाले रहेको छ । उत्ता सत्ता रुढ ( गठबन्धन) दलहरु टिकट नपाएका , बागी बनेकालाई फकाउनमै समय खर्चिएर मेहनत गरिरहेका छन् । नतिजा आफ्नो पक्षमा पार्नका लागि गठबन्धन संवद्ध दलहरु आफूहरुको पराजयले प्रदेश तर संघीय सरकार निर्माणमा समेत अंक गणितीय हिसाव नमिल्दा समस्या हुने भन्दै चनाखो भएर लागेको देखिन्छ ।
गठबन्धनमा भएको सहमति अनुसार थोरै मात्र सिट दलहरुको भागमा परेकाले सबैको चित्त बुझाउन नसकिएको नेकपा ( माओवादी केन्द्र) का कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । प्रदेश इन्चार्ज मल्ल प्रत्यक्ष तर्फ चुनावमा सहभागी नभएका नेता मध्य पर्दछन् । त्यस्तै माओवादीकै प्रदेश अध्यक्ष विमला केसी पनि यो पटक चुनावमा भाग लिएकी छैनन् । त्यस्तै नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही आफैँमा प्रदेशसभाका लागि जुम्ला क्षेत्र नं १ (क)का उम्मेदवार हुन् । उनी मुख्यमन्त्रीका दावेदार रहेका छन् ।
कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुनममन्त्री मन्त्री तथा एवं माओवादीका केन्द्रीय सदस्य नरेश भण्डारीले टिकट पाउनेमा आशावादी भएपनि अन्तिममा गोमा कुवरलाइ टिकट दिएपछि उनले टिकट पाउन सकेनन् । टिकट नपाएपछि उनले लेखेका छन् ‘इमानदारिता, सक्षमता, लोकप्रियता र बौद्धिकताको वधशाला माओवादी केन्द्र नहोस । गुटीगत तराजुको अन्यायपूर्ण जोखाइबाट पीडित हुँदै आएको कर्णाली यो पटक पनि अछुतो रहेन ।’
त्यस्तै वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला क्षेत्र नं १ (क) बाट प्रदेशसभाका उम्मेदवार रहेका छन् । उनी पनि मुख्यमन्त्रीकै लाइनमा रहेको बताएको छ । सभापति शाहीको बागीमा कांग्रेसकै देवेन्द्रबहादुर शाहीले उम्मेदवारी दिदा सभापति शाहीको टाउँको दुखेको छ । नेकपा एमालेको तर्फबाट धिरेन्द्र राज गिरी उम्मेदवार बनेका छन् । यो क्षेत्रमा एसको उम्मेदवार रहेको छैन । त्यस्तै गठबन्धनकै साझा उम्मेदवार गोमा कुवरको विरुद्धमा माओवादीकै डाक्टर कलबहादुर रोकायले बागी उम्मेदवार दिएका छन् । कुवरलाई एस, नेपाली कांग्रेसले सघाएमा जित निश्चित रहेको भएपनि बागीका कारण उनी समस्यामा परेकी छिन् । पुर्वमन्त्री समेत रहेकी कुवर कर्णालीकै गठबन्धनकी एक मात्र महिला उम्मेदवार हुन् ।
त्यस्तै कालीकोटबाट नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभामा उम्मेदवार बन्ने योजनामा रहेपनि त्यहाँ माओवादीको भागमा पर्दा उनी उम्मेदवार बन्न पाएनन् । कांग्रेस इतर पक्षधर नेता शाही यसअघि ०७० र ०७४ को निर्वाचनमा पराजित भएका थिए । सो क्षेत्रमा ०७० मा भुपेन्द्रजंग शाहीसँगै प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।
त्यस्तै दैलेख निर्बाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि पहिलो पटक उम्मेदवार बन्नका लागि सिफारिस भएका विष्णु रिजालको अन्तिममा आएर टिकट प्राप्त गर्न सकेनन् । एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख समेत रहेका रिजाल राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने व्यक्ति हुन् ।
उनीसहित सोही क्षेत्रबाट टिकट नपाउनेमा कर्णालीका सभामुख राजबहादुर शाही पनि छन् । ०७४ मा २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शाही यो पटक प्रतिनिधिसभामा जाने तयारीमा थिए । एमालेभित्र पाँच जनाको रस्साकस्सीबीच संविधानसभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले टिकट पाए । पोखरेल ०७० मा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सिफारिस भएका पाँच जनामध्ये एमाले प्रदेश अध्यक्ष विनोद शाह भने प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।
कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा.दीपेन्द्र रोकाय पनि पहिलो पटक हुम्लाबाट चुनावमा भाग लिने तयारीमा रहेपनि उनले पनि अन्तिम आएर टिकट पाएनन् । माओवादी केन्द्र हुम्लाका संयोजकसमेत रहेका रोकाय माओवादी केन्द्रभित्र बौद्धिक नेताको रुपमा स्थापित छन् । माओवादी केन्द्रले कार्चेन लामालाई उम्मेदवार बनाएको । लामा समुदायमा आफ्नो प्रभाव बढाउनका लागि कोर्चेनलाई माओवादीले अघि सारेको छ भने प्रदेश सरकारमा उनलाई ६ महिना मन्त्रीसमेत बनाइएको थियो ।
सत्ताका लागि मरिहत्ते गर्ने डोल्पाका नन्दसिंह बुढा पनि टिकट नपाउने सूचीमा छन् । ०७४ मा एमालेबाट प्रदेशसभा जितेका उनी सत्ताको लागि ‘फ्लोर क्रस’ गर्नेदेखि दल अदल–बदल गर्ने व्यक्तिमा रुपमा परिचित छन् । नेकपा विभाजनपछि समाजवादीमा लागेका उनी डोल्पा जिल्लाका अध्यक्षसमेत थिए । डोल्पामा समाजवादीका धनबहादुर बुढाले प्रतिनिधिसभाको टिकट नछाड्ने भएपछि नन्दसिंहले पार्टी त्यागेका हुन् । १३ असोजमा एमाले महासचिव शंकर पोखरेलको हातबाट टीका, माला लगाएर टिकट पाउने सपना सहित एमाले प्रवेश गरेका उनले एमालेबाट टिकट भने नपाउदा सामाजिक सञ्जालमा पीडा पोखिरहेका छन् ।
कर्णाली प्रदेशका पुर्वमन्त्र रहेका खड्कबहादुर खत्री सुर्खेत क्षेत्र नम्बर १ (ख) बाट एमालेबाट प्रदेशसभा सदस्यका लागि सिफारिसमा परे पनि उनले टिकट पाउन सकेनन् । पार्टी केन्द्रले टिकट डण्डी शर्मालाई थमाएपछि खत्री निरास भएका छन् । टिकट नपाएको आवेगमा खत्रीले शर्माविरुद्ध बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका छन् ।
माओवादी केन्द्रबाट दैलेख क्षेत्र नम्वर २ (ख) बाट प्रदेशसभाका लागि एकल सिफारिस भएपनि चुनाव लडन नपाउनेमा उपेन्द्र कुमार रावत (सुशिल) पनि छन् । टिकट पाएर पनि अन्तिममा आएर उनको टिकट खोसेर एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिव रहेका योगेन्द्र शाही माओवादीमा प्रवेश गरेपछि उक्त टिकट शाहीलाई थमाएको छ ।
त्यस्तै जाजरकोटमा गठबन्धन विरुद्ध एसका जिल्ला अध्यक्ष कमान खड्काले उम्मेदारी दिएका छन् । जाजरकोटमा एसले कुनै सिट भाग परेको थिएन । एसका जिल्ला सचिव सहित ३४ जनाले हिजो मात्र नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।
गठबन्धन भित्र भएका रुष्ट टिमको सहयोग लिन सके कर्णालीम स्थानीय तहको नतिजामा तेस्रो भएको एमाले आफनो स्थान उकास्न सकिने भन्दै मेहनत गरिरहेको छ ।










