२५ वर्षपछि राराको गहिराइ नापिँदै

मुगु ः कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्ने गरी झन्डै २५ वर्षपछि सर्वेक्षण थालिएको छ । २०५४ मा पहिलोपल्ट राराको क्षेत्रफल र गहिराइ नापिएको थियो । राराको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता तथा खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्भेक्षण सुरु गरिएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
‘क्षेत्रफलसँगै तालको पानीको पनि विभिन्न तरिकाले परीक्षण गर्न लागिएको छ,’ निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले भने, ‘जसले राराको नयाँ तथ्यांक बाहिर ल्याउनेछ ।’
जल तथा मौसम विज्ञान विभागको सहयोगमा कार्डरइटु सर्भिसरजेड जेभीले भदौ दोस्रो सातादेखि सर्वेक्षणको काम सुरु गरेको हो । सर्भेक्षणका लागि विभागबाट २ जना र कम्पनीबाट ८ गरी १० जनाको टोली खटिएको छ । तालको भूभाग र क्षेत्रफल मापनका लागि टोपोग्राफिक र गहिराइ नाप्ने यन्त्र प्रयोग भइरहेको जेभीका इन्जिनियर राम श्रेष्ठले बताए । उनका अनुसार रारामा प्रयोग गरिएको यो प्रविधि कर्णालीमै नयाँ हो । उनले ढिलोमा १ महिनाभित्र सर्भेक्षण पूरा गरिसकेपछि प्रतिवेदन जल तथा मौसम विज्ञान विभागलाई बुझाउने जानकारी दिए ।
२०५४ मा गरिएको सर्वेक्षणअनुसार रारा तालको गहिराई १ सय ६७ मिटर, लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर छ । राराताल १०/८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको संरक्षण अधिकृत दाहालले बताइए । समुद्र सतहदेखि २ हजार ९ सय २९ मिटर उचाइमा अवस्थित रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मुगुको छायानाथरारा नगरपालिकासहित सोरु, खत्याड गाउँपालिका र जुम्लाको कनकासुन्दरी गाउँपालिकको भूभाग पर्छ ।
भदौ लागेसँगै रारा आउने पर्यटक बढिरहेको दाहालले बताए । उनका अनुसार दैनिक ५० जनासम्म पर्यटक रारा घुम्न आइरहेका छन् । उनले भदौमा १० जना विदेशी पर्यटक पनि रारा आएको जानकारी दिए । ‘भदौदेखि मंसिरसम्मको समय रारा घुम्न आउने उपयुक्त मौसम हो,’ उनले भने, ‘दसैं बिदामा थप पर्यटक बढ्ने अपेक्षा छ ।’ उनले कोरोना महामारीका कारण झन्डै ३ वर्षसम्म थला परेको पर्यटन व्यवसाय बिस्तारै तंग्रिन थालेको बताए । उनका अनुसार पर्यटक बढ्न थालेपछि होटल व्यवसायी, घोडा व्यवसायी, ढुंगाचालक र भरियाहरू व्यस्त बन्न थालेका छन् । रारा क्षेत्रमा पर्यटकलाई आसपासका गाउँमा घुमाउन झन्डै १ सय ५० घोडा तयारी अवस्थामा राखिएको स्थानीय गोर्ख रोकायाले बताए ।










